आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको पर्यटन प्रबर्ध्दनमा अमेरिकी संसद भोजनी

शनिबार, ०६ असोज २०८०, १४ : ३९
शनिबार, ०६ असोज २०८०

-सिबी अधिकारी

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रबर्ध्दनमा चासो देखाएका छन् । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रबर्ध्दन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने प्रण गरे ।  

पहिलो पटक नेपाल भ्रमण आएका भोजनीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि काठमाडौँमा भएको एक अन्तरक्रियामा अमेरिकामै बसेर नेपालको पर्यटन प्रबर्ध्दनका लागि सक्रिय हुने बताए । “मेरो खुसीको सीमा छैन”, भोजनीले भने, “अमेरिकामा रहनुहुने नेपालीहरुको सहयोगले नै आज म यो स्थानमा आइपुगेको छु, त्यसैले मलाई नेपाल र नेपालीप्रति असाध्यै धेरै माया र सद्भाव जहिल्यै रहिरहन्छ ।”

पाकिस्तानी मुलका भोजनी अमेरिकाको टेक्सास राज्यमा मुसलमान समुदायका पहिलो सांसद हुन् । उनी नेपाली समुदायबीच निकै लोकप्रिय रहेका छन् । निर्वाचनका बेला ढाका टोपी र दौरा सुरुवालमा नेपालीहरुमाझ मत मागेको स्मरण गर्दै भोजनीले नेपाल र नेपालीको हितका लागि सदैब सक्रिय भइरहने उल्लेख गरे । उनले भने, “टेक्सासमा नेपाली समुदायको बाहुल्यता छ, निर्वाचनका बेला मैले नेपालीमा कुराकानी गरेर भोटमागेको थिएँ-  मलाई जिताउनुस् म तपाईंहरुको सेवामा समर्पित हुनेछु ।” 

नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम भएको भन्दै उनले पर्यटनको माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताए । “पर्यटन नेपालको अर्थतन्त्र उकास्ने महत्वपूर्ण माध्यम हो । विश्वको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनीजस्ता ऐतिहासिक सम्पदा नेपालको सान र गौरव हुन् यसैबाट नेपालले समृद्धितर्फको यात्रा तय गर्न सक्छ”, सांसद भोजनीले भने ।

सन् २००३ मा टेक्सासको एक ग्यास स्टेशनमा काम गर्ने भोजनीको जीवन संघर्ष र सफलता निकै प्रेरणादायी छ । काम गर्दै अध्ययनलाई पनि अघि बढाएका भोजनी आज अमेरिकाको प्रतिष्ठित पदमा पुगेका छन् । उनले आगामी दिनमा नेपालको पर्यटन प्रबर्ध्दन, दिगो शान्ति, विकास र नेपाललाई सहयोग गर्न परिवारसहित नेपाल आइरहने वाचा पनि गरे । 

भोजनी टेक्सास राज्यमा नेपाली समुदायबीच घुलमिल रहेका छन् । नेपालीलाई आइपरेका समस्या समाधानमा सधै लागि पर्छन् । वरिष्ठ अधिवक्तासमेत रहेका भोजनीले नेपाल डे पारित गरेर त्यहाँका नेपालीप्रति अगाथ प्रेम दर्शाएका छन् । टेक्सासमा दशैँ, तिहार र तीज पर्वमा बिदाको मान्यता दिलाउन पनि उनले अहम् भूमिका खेलेका थिए । अमेरिकामा रहने नेपालीहरुका नागरिकतालगायत समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको उनले सुनाए ।

भोजनीले स–साना कामदेखि अधिवक्ता हुँदै सफल व्यावसायिक आइकन र टेक्सास राज्यको प्रतिनिधि बन्नेसम्मको आफ्नो संघर्षका कथाहरू पनि सुनाए । 

पर्यटन गीत
सो अवसरमा मिशन इन्टरटेनमेन्टद्वारा निर्मित नयाँ नेपाली पर्यटनसम्बन्धी बाल गीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ सार्वजनिक गरिएको थियो । उक्त गीतमा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको आकर्षक प्रस्तुत गरिएको छ । गीतले युवा पुस्तालाई पर्यटन विकासमा सक्रिय हुन शिक्षा र सन्देश दिएको छ । उक्त भिडियो गीतमा डा. भोला रिजालले शब्द रचना, बीपी वाग्लको संगीत र भद्र ओली, सरगमश्री भट्टराई र विदित अधिकारीले स्वर रहेको छ । 

पर्यटन गीत लोकार्पण एवं अन्तरक्रियामा सहभागी नेपाली सांगीतीक क्षेत्रका चर्चित सष्टाहरुले अमेरिकी सांसदले नेपालप्रति देखाएको मोहलाई नेपालीले लाभ लिनसक्नुपर्ने बताए । गीतले नेपालका विभिन्न ठाउँ घुम्न प्रेरित गर्छ । भिडियोमा एनिमेसनको अवधारणा विश्वव्यापी रूपमा स्वीकार गरिएको नवीनतम प्रविधिलाई स्वीकार गर्नु र बच्चाहरूलाई सिक्ने नयाँ तरिकाहरू अनुभव गर्न प्रोत्साहित गर्नु भएको संगीतकार बीपी वाग्लेले बताए ।

साहित्यका एवं चिकित्सक डा.भोला रिजालले नेपाली समुदायमा घुलमिल भएका मिलनसार सांसद भोजनीले नेपालको पर्यटन प्रबर्ध्दनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नयाँ गीतले नेपालको पर्यटन प्रबर्ध्दनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । वरिष्ठ संगीतकार तथा म्युजिक रोयल्टी कलेक्शन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले भोजनीसँग टेक्सासमा मात्रै नभई अमेरिका र विश्वका अन्य धेरै ठाउँमा पनि मिलेर काम गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप