आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँशिनाथ उपाध्याय हरिप्रिया वाङ्मय प्रतिष्ठानद्वारा नेपाली र संस्कृत साहित्यका श्रष्टा सम्मानित

शनिबार, ०६ असोज २०८०, २१ : २०
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । नेपाली र संस्कृत साहित्यका श्रष्टाहरु प्रा.डा. पूर्णचन्द्र ढुङ्गेल, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.प्रभा भट्टराई सम्मानित भएका छन् ।  शनिबार काठमाडौको धापासीमा एक भव्य कार्यक्रमका बीच पं काँशिनाथ उपाध्याय हरिप्रिया वाङ्मय प्रतिष्ठान धरानले उनीहरुलाई सम्मान गरेको हो ।

सो कार्यक्रममा सिन्धुली जिल्लामा रहेको कुशेश्वर संस्कत विद्यालयलाई पनि सम्मान गरिएको छ । यसैगरी सो प्रतिष्ठानले पिण्डेश्वर विद्यापिठ धरानमा अध्ययनरत दुईजना मेधावी विद्यार्थीहरुलाई पनि पुरस्कृत गर्ने जनाएको छ । 

२०६७ सालमा स्थापित सो वाङ्मय प्रतिष्ठानले प्रत्येक वर्ष आयोजना गर्दै आएको आजको कार्यक्रम १२ औं वार्षिक श्रृङखला हो । कार्यक्रममा प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलद्वारा रचना गरिएको ‘जीवन तरङ्ग’ काव्यको लोकार्पण पनि गरिएको थियो । यसअघिका कार्यक्रमका ११ वटा श्रृङखला पूर्वाञ्चलको धरान र विराटनरमा सम्पन्न हुँदै आएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोख्रेलले संस्कृत भाषा तथा साहित्य नेपाली तथा पूर्वीय सभ्यताको मूल जग रहेको र यसमाथि हाल विभिन्न क्षेत्रबाट भइरहेका आक्रमणहरुले हाम्रो पहिचान ध्वस्त पार्दै जान थालेकाले यसको जगेर्ना गर्नु जरुरी भएको विचार व्यक्त गरे ।

यस्तो जगेर्ना गर्नका लागि पं काँशिनाथ उपाध्याय हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानले महत्वपूर्ण योगदान पुर्याउँदै आएको विचार पनि प्रा.डा. पोख्रेलले व्यक्त गरे । प्रतिष्ठानका सचिव प्रा.गङ्गाधर कट्टेलद्वारा सञ्चालित सो कार्यक्रममा डा.तुलसीप्रसाद भट्टराई, प्रा.डा.गोविन्दराज भट्टराई, वरिष्ठ पत्रकार एवं भाषाविद् शरच्चन्द्र वस्ती लगायत विभिन्न विशिष्ट वक्ताहरुले मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानको योगदानको सराहना गरेका छन् ।

कार्यक्रम वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रा.नारायणप्रसाद शर्मा कट्टेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।  पं काँशिनाथ उपाध्याय कट्टेल धनकुटा जिल्लाको ताङखुवामा जन्मिएर वाराणशीबाट संस्कृतको उत्तरमध्यमासम्मको शिक्षा हासिल गरेका एक विशिष्ट व्यक्ति थिए ।

आफ्नो जन्मस्थान धनकुटाको ताङखुवादेखि धरान झापा जिल्लाको दमकलाई समेत आफ्नो कर्मथलो बनाउन पुगेका उनले सामाजिक धार्मिक र शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको पाइन्छ ।  दमकमा पशुपति संस्कृत विद्यालयको स्थापना उनकै सक्रियतामा भएको हो । संस्कृत शिक्षाप्रतिको उनको मोहले आफ्ना चारभाइ छोराहरुलाई संस्कृतमा शास्त्री (स्नातक) गराएर अगाडिको अध्ययन गर्न स्वतन्त्र छाडिदिएका थिए । 

स्नातकोत्तर गरेर चारै भाइ छोराहरु विश्वविद्यालयहरुमा प्राध्यापन गरेर अहिले सेवा निवृत्त भइसकेका छन् । यो संस्था आफ्ना पिता–माताको नाममा छोराछोरीहरु र परिवारका अन्य सदस्यहरुको संयोजनमा स्थापना भएको हो ।  संस्थाले प्रारम्भमा पिण्डेश्वर विद्यापिठ धरानमा अध्ययन गर्ने छात्रहरु दुईजनालाई प्रोत्साहन पुरस्कार प्रदान गरेर वार्षिकउत्सव मनाउन प्रारम्भ गरेको थियो । २०६८ सालदेखि एकजना विशिष्ट विद्वानलाई समेत सम्मानसहित पुरस्कार समर्पण गर्ने निर्णय गरेको थियो ।

२०७० सालदेखि दुईजना विशिष्ट विद्वानहरुलाई वाङ्मय पुरस्कारसहित सम्मान गर्ने निर्णय गरिएको छ । यसरी नै संस्थाले काशिनाथ कट्टेलका सहोदर भाइ कमलापति र बुहारी डम्मरकुमारीको नाममा स्थापित पुरस्कार संस्कृत गुरुकुललाई प्रदान गर्दै आएको छ । त्यसैगरि हरिप्रिया प्रतिभा पुरस्कार एकजना छन्दमा काव्य सिर्जना गर्ने कवयत्रीलाई प्रदान गर्ने गरिएको छ ।

संस्थाबाट वार्षिकउत्सवसम्ममा १४ जना विशिष्ट व्यक्तित्वहरु सम्मानित भइसकेका छन् । सम्मानित व्यक्तित्वहरुलाई नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मानित गर्ने गरिएको छ । प्रतिष्ठानले हालसम्म ६ वटा कृतिहरुहरुको प्रकाशन पनि गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप