आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले अधिवेशन

एमाले बागमती अधिवेशन : नेतृत्वका लागि दौडधुप तीव्र, सर्वसम्मत गराउने प्रयासमा बालकोट

आइतबार, ०७ असोज २०८०, ०७ : ३५
आइतबार, ०७ असोज २०८०

मकवानपुर ।  आगामी असोज ८ र ९ गते नेकपा एमाले बागमती प्रदेशको अधिवेशन हुँदै छ । उक्त अधिवेशनको तयारी तीव्र पारिएको छ भने नेतृत्व हत्याउने दौडमा आकाङ्क्षीहरू सक्रिय बनिरहेका छन् ।

काठमाडौँको भृकुटी मण्डपमा हुने एमालेको प्रथम प्रदेश अधिवेशनबाट एमाले बागमती प्रदेशको नयाँ कमिटी निर्माण हुनेछ । एमाले बागमती प्रदेशका उपसचिव एवम् नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाका अनुसार सर्व सहमतिबाट नेतृत्व चयन हुने सम्भावना बलियो  रहेको छ ।

अधिवेशनबाट १ अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिवसहित २४० सदस्यीय कमिटी चयन गर्ने उनले बताए । उक्त कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहने उनको भनाई छ । जनजाति, पिछडिएको वर्ग, दलितहरूको सहभागितामा कमिटीलाई समावेशी बनाइने उनले बताए ।

यसअघि एमालेले प्रदेश कमिटी ४४७ सदस्यीय रहेकोमा यसपटक भने ५ जना पदाधिकारीसहित २४० सदस्यीय कमिटी कायम गरिएको उनले बताए ।

अध्यक्ष पदका लागि दौडधुप तीव्र

अधिवेशन नजिकिएसँगै अध्यक्ष पदका प्रत्याशीहरू तीव्र दौडधुपमा रहेका छन् । कार्यकारी पद भएकाले पार्टीको केन्द्रीय सदस्यदेखि वर्तमान अध्यक्ष लगायतले अध्यक्ष पदका लागि आकांक्षा व्यक्त गरेका छन् । अध्यक्ष बन्नका लागि आकाङ्क्षीहरू पार्टी केन्द्रसँगको भेटघाटमा तीव्र दौडधुपमा गरिरहेका छन् ।

एमाले बागमती प्रदेश अध्यक्ष पदका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, रचना खड्का, कैलाश प्रसाद ढुङ्गेल, एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे र सानुकुमार श्रेष्ठ लगायतले आकांक्षा व्यक्त गरेका छन् । उनीहरू अध्यक्ष पद हत्याउन शीर्ष नेताहरूसँगको लबिङमा रहेका छन् । प्रदेशको नेतृत्वका लागि उनीहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्ने बालकोट पुग्ने गरेका छन् ।

अधिवेशन नजिकिएसँगै एमालेका शीर्ष नेताहरू पनि प्रदेशको नेतृत्वको विषयमा छलफलमा जुटेका छन् । प्रदेश अध्यक्षको आकाङ्क्षीमा मकवानपुरका दाहाल, रामेछापका ढुङ्गेलसहित नुवाकोटका पाण्डे र काठमाडौँका सानुकुमार श्रेष्ठ र दोलखाकी खड्काको नाम चर्चामा रहेको छ । सङ्घीयता पछि निर्माण भएको एमालेको प्रादेशिक संरचनाको अध्यक्षको जिम्मेवारी पाएका पाण्डे पुनः दोहोरिने सोचमा रहेका छन् । सोही अनुसार उनी शीर्ष नेताहरूसँगको लबिङमा रहेका छन् ।

एमाले लुम्बिनी प्रदेशका निर्वाचनमा गुटगत प्रतिस्पर्धा देखिएको भन्दै बागमतीमा भने निर्वाचन नै हुन नदिने पक्षमा एमाले रहेको छ । सोही अनुसार एमाले अध्यक्ष ओली पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारीमा लागेको बुझिएको छ ।

अध्यक्ष ओलीले रामेछापका ढुङ्गेल वा श्रेष्ठलाई अध्यक्ष बनाउन चाहन्छन् । अध्यक्ष ओलीका निकट मानिएका ढुङ्गेल प्रदेश अध्यक्ष बन्न सक्ने प्रबल सम्भावना रहेको एमालेका एक नेता बताउँछन् । ढुङ्गेल बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत भइसकेका छन् भने पूर्व पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ बागमती प्रदेशका पूर्व सभामुख समेत हुन् ।

यता एमालेको बागमती प्रदेश अध्यक्ष पदको दौडमा रहेका मकवानपुरका दाहाल र दोलखाकी खड्काको भने खासै चर्चा नरहेको ती नेता बताउँछन् । गत मङ्सिरमा भएको आम निर्वाचनमा पराजित भयसँगै राजनीतिक तथा अन्य कार्यक्रममा नदेखिएका दाहाल एकाएक प्रदेश अधिवेशनमा अध्यक्षको आकाङ्क्षी बनेका हुन् । अध्यक्ष पदमा आकांक्षा व्यक्त गरे पनि बालकोटको  साथ नदेखिएपछि उनको खासै चर्चामा हुन सकेको छैन । यद्यपि उनले अध्यक्षको उम्मेदवारी कायम राख्ने मनस्थितिमा छन् । दाहाल पूर्व सांसद तथा प्रतिनिधिसभा अर्थ समितिका पूर्व सभापति समेत हुन् ।

एमाले विभाजन ताका ओली पक्षमा रहेर सहयोग गरेकै कारण ढुङ्गेल र श्रेष्ठमध्ये एकलाई प्रदेश अध्यक्ष दिने तयारी गरिएको छ । प्रतिनिधिसभा विघटन पश्चात् बहुमत सदस्यहरू माधव नेपाल पक्षमा रहेका थिए । सो सयमामा बागमती प्रदेशसभामा राम्रो भूमिका निर्वाह गरेर श्रेष्ठले एमालेलाई थप क्षतिबाट जोगाएका थिए । उनले तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री डारमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउनु पर्ने माग लामो समयसम्म रोक्न भूमिका खेलेका थिए । करिब ८ महिनासम्म सभामुख श्रेष्ठले प्रदेशसभा बैठक टार्दै एमालेको विभाजन क्षति कम गरेका थिए । श्रेष्ठले बागमती प्रदेशसभा बैठक सार्न खेलेको भूमिकाका कारण एमाले विभाजनको असर कम परेको थियो ।

त्यस्तै एमालेमा समस्या परेका बखत ढुङ्गेल अध्यक्ष ओलीको पक्षमा उभिँदै आएका छन् । उनको सहयोगमा तत्कालीन मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार ८ महिनासम्म जोगिएको थियो भने सभामुख श्रेष्ठलाई काम गर्न सहज वातावरण बनेको थियो । उक्त गुन तिर्न पनि एमाले अध्यक्ष ओली श्रेष्ठ र ढुङ्गेल मध्ये एकलाई प्रदेश अध्यक्ष बनाउने पक्षमा छन् ।

१ हजार १३८ प्रतिनिधि छानिए

एमालेको बागमती प्रदेश अधिवेशनका लागि १ हजार १३८ प्रतिनिधि छनोट भएका छन् । असोज ८ र ९ गते हुने अधिवेशनका लागि १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको एमाले बागमती प्रदेश उपसचिव बर्तौलाले बताए ।

उनका अनुसार अधिवेशनका लागि तयारी तीव्र बनाइएको छ । अधिवेशनका लागि तयारीका कामसँगै प्रतिनिधि चयनको काम पनि सम्पन्न भइसेकेको उनले बताए । प्रत्येक पालिकालाई एक निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिएको र उनीहरूबाट प्रदेश कमिटीको नेतृत्व चयन हुने उनले बताए ।  

अधिवेशनका लागि एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका हुनेछन् । जहाँबाट १३२ जना प्रतिनिधि छनोट भइसकेका छन् । अधिवेशनका लागि काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना प्रतिनिधि छनोट भइसकेका छन् । धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । जनसंगठबाट ९५ जना प्रतिनिधि थपिनेछन् भने प्रदेश कमिटीबाट ५ प्रतिशत मनोनीत भएका छन् ।

बागमती प्रदेशमा एमालेका एक लाख नौ हजार सङ्गठित सदस्य रहेका छन् । एमालेले १२५ सङ्गठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था गरेको छ । तर दलितको हकमा ५० सङ्गठित सदस्य बराबर एक जना प्रतिनिधि छानिएका छन् । २२ जनसङ्गठन रहेकामा एक जनसङ्गठनबाट २ र सङ्गठनहरूबाट ३ जना छनोट हुने व्यवस्था गरेको छ । ११ वटा प्रत्येक विभागबाट एक जना प्रतिनिधि छनोट गरिएको छ ।

८० लाख खर्च गरिने

एमाले बागमती प्रदेश अधिवेशनमा ८० लाख रुपैयाँ खर्च हुने उपसचिव बर्तौलाले बताए । अधिवेशन अन्तर्गत मञ्च व्यवस्थापन, आवास, अतिथि सत्कार, साउन्ड सिस्टम, प्रचार प्रसार लगायतका काममा सो रकम खर्च हुने उनले बताए ।

उनका अनुसार अधिवेशनको खर्चको व्यवस्थापन प्रतिनिधि शुल्क, आर्थिक सहायता तथा सहयोग र विभिन्न लाभको पदमा रहेका व्यक्तिहरुबाट संकन गरिने उनले बताए । जसअनुसार प्रति प्रतिनिधि ३ हजार रुपैयाँका दरले प्रतिनिधि शुल्क सङ्कलन गर्ने तयारी भएको उनको भनाई छ ।

प्रतिनिधिहरूलाई आवासको सुविधा नरहेको र आ–आफ्नो व्यवस्था गर्न सूचना गरिएको उनले बताए । अधिवेशनको अन्य खर्चहरू सहयोगबाट सङ्कलन गरिने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप