आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संगीत–बहस

राल्फा र राल्फायताका जनगीति अभियान

संकल्प गीति कार्यक्रम, आस्था परिवार हुँदै जनसांस्कृतिक मञ्चसम्म
आइतबार, ०७ असोज २०८०, ०९ : २८
आइतबार, ०७ असोज २०८०

छिटफुट रूपमा जनगीत लेखन र गायन २००७ सालअघि नै सुरु भएको पाइए पनि समाजमा व्याप्त शोषण, अन्याय, विकृति र विसंगतिविरुद्ध समूहगत रूपमा विद्रोहका गीत गाउने श्रेयचाहिँ २०२४ मा स्थापित ‘राल्फा समूह’लाई जान्छ । रामेश, रायन, अरिम र मञ्जुल सम्मिलित राल्फाको सांगीतिक समूहले पञ्चायती तानाशाही व्यवस्था र यसको छत्रछायामा झ्याँगिएको विकृति र विसंगतिविरुद्ध एउटा सशक्त सांगीतिक विद्रोहको सृष्टि गरेको थियो । प्रयोग र विद्रोहको नाममा रचना गरिएका प्रारम्भका कतिपय राल्फाली गीत लहडी र अराजकझैँ लाग्ने भए पनि उत्तराद्र्धका गीत भने अत्यन्त कलात्मक बान्की भएका अनि वैचारिक रूपमा पनि पाका र स्पष्ट लाग्छन् । 

मञ्जुलका अनुसार राल्फाकालमा मूलतः तीन प्रकारका गीत गाइन्थे — बौद्धिक र काव्यात्मक मूल्य भएका गम्भीर गीतहरू, लोकगीतमा आधारित आधुनिक गीतहरू अर्थात् लोकाधुनिक गीतहरू र विशुद्ध लोकगीतहरू । ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू हाम्रा गीतहरू’, ‘कोसीछेउ उभेको सिमल जति नि बाँच्दिनँ म’, ‘कोइ त भने जहाजमा हरर, कोइ त भने पसिना तरर, हाम्रो नेपालमा’, ‘आँधी आयो उडाई के ले र आयो, असम्भव भनेको जम्मै सम्भव भएर आयो’, ‘हिउँले ताछिदिएको छ, मेरो धुपी सल्लालाई’, ‘भोल्गाकी सानी नानी’जस्ता सदावहार जनगीतको सिर्जना यही राल्फा कालमा भएका थिए । यसका साथै जनताको गीत गायन र प्रस्तुतिमा देखिने कतिपय विशेषता जस्तै : रेडियो नेपालको बहिष्कार गरी प्रत्यक्ष गीति कार्यक्रमको माध्यमबाट जनतालाई गीत सुनाउने, गीत गाउनुपूर्व गीतको विषयमा भूमिका बाँध्ने, संगीतमा भारतीय शास्त्रीय संगीतको भन्दा पाश्चात्य संगीत र लोकगीतको मिश्रण, पश्चिमी बाजा गिटारको अत्यधिक प्रयोग र यसलाई मादलको तालमा झमझम कर्ड खेलेर बजाउने छुट्टै शैली पनि राल्फाबाटै विकसित भएको थियो । 

त्यसपछि राल्फाले झैँ चर्चा नपाए पनि देशका विभिन्न स्थानमा जनगीत गाउने अनेक व्यक्ति र समूह देखापर्न थालेका थिए । चर्चित जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) ले २०२५ सालतिरबाट तत्कालीन एक कम्युनिस्ट समूह– पूर्वकोशी प्राान्तीय कमिटीसँग सम्बद्ध भएर जनवादी गीत गाउन थालेका थिए । उनले २०२७ सालतिर काठमाडौंमा अनेरास्ववियुको आयोजनामा कीर्तिपुरको अडिटोरियम हलमा ‘एकल गीति कार्यक्रम’ समेत गरेका थिए । त्यसैगरी ‘नयाँ लहर सांस्कृतिक समूह’द्वारा २०३३ सालमा धरानमा आयोजित एक कार्यक्रममा जेबी टुहुरेले आफ्नो चर्चित गीत ‘आमा दिदी बहिनी हो’ पहिलोपल्ट गाएका थिए । सोहीताका धरानको शिव सिनेमा हलमा आयोजित एक सांस्कृतिक कार्यक्रममा पहिलोपल्ट शम्भु राई र मञ्जुलको भेट भएको थियो । त्यहीँ भेटपछि मञ्जुलले शम्भु राईलाई जनताको गीत गाउन उत्प्रेरित गरेका थिए । यही समयमा ‘मानिस छुत–अछुत हुन्छ, म भन्दै भन्दिनँ’, ‘मर्नैपर्छ एक दिन सबैले हामी पनि मर्छौं’जस्ता मञ्जुलद्वारा रचित थुप्रै चर्चित जनगीतमा शम्भु राईले संगीत भरेका थिए । यसरी जनगीत गायनमा शम्भु राईको प्रवेशपछि पश्चिमा शैलीमा आधारित राल्फाली फ्लेबरका प्रगतिशील गीत–संगीतमा विशुद्ध नेपाली मिठासका लय र स्वर पनि थपिन पुग्यो । 

संकल्प गीति कार्यक्रम 

२०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनको परिणामस्वरूप २०३६ जेठ १० गते ‘सुधारिएको पञ्चायत व्यवस्था वा बहुदलीय व्यवस्था’ रोज्न राजाबाट जनमत संग्रहको घोषणा गरियो । यसले ल्याएको अपेक्षाकृत खुला वातावरणको सदुपयोग गर्दै २०३६ साल असारमा कुन्ता शर्माको सम्पादकत्वमा प्रकाशित हुने ‘संकल्प’ साहित्यिक पत्रिकाका नाममा विराटनगरको हिमालय टाकिजमा ऐतिहासिक ‘संकल्प गीति कार्यक्रम’को आयोजना गरियो । उक्त कार्यक्रममा रामेश, मञ्जुल, अरिम, जेबी टुहुरे र शम्भु राईले संयुक्त रूपमा कार्यक्रम प्रस्तुत गरेका थिए । 

मञ्जुलको विलक्षण उद्घोषण कला, रामेश, जेबी टुहुरे र शम्भु राईको त्रिवेणी स्वर अनि अरिमको विशिष्ट शैलीको बाँसुरी वादनका कारण सो गीति कार्यक्रमले एउटा अभूतपूर्व प्रभाव छाड्न सफल भएको थियो । सोही कार्यक्रममा लाइभ रेकर्ड गरिएको गीति क्यासेट ‘संकल्प गीति क्यासेट’ को माध्यमबाट प्रगतिशील गीतहरू तराई, पहाड र उपत्यकाका कुनाकुनासम्म फैलियो । त्यसपछि देशका विभिन्न भागमा प्रगतिशील गीति कार्यक्रमको एउटा अभियान नै चलेको थियो । तत्कालीन नेकपा (माले)ले केन्द्रीय स्तरबाट सांस्कृतिक अभियानको सञ्चालन र संयोजन गर्न मञ्जुल, रामेश, मोहन श्रेष्ठ र रघु पन्त सम्मिलित एक सांस्कृतिक कमिटीको पनि गठन गरेको थियो । 

विराटनगरको कार्यक्रमपछि काठमाडौंमा रामेश, मञ्जुल, अरिमसहित रामकृष्ण दुवाल, श्याम तमोट, विक्रम सुब्बा, प्रमोद हमाल, माधव प्रधान, उदय श्रेष्ठ, सन्तोष श्रेष्ठ, निलिमा राई, प्रतिमा तुलाधर, सुनिल श्रेष्ठ आदि कलाकार सांस्कृतिक गतिविधिमा संलग्न थिए । उता पूर्वाञ्चलमा धरान–विराटनगरलाई आधार बनाएर जेबी टुहुरे, शम्भु राई, लोचन भट्टराई, चेतनारायण राई, निशान भट्टराई, गणेश उदास, सरु सुब्बा, सीमा पोखरेल आदि कलाकार जनसांगीतिक अभियानमा संलग्न रहे । 

सोही अवधितिर त्यतिखेरको कतिपय अव्यावहारिक आचारसंहिता उल्लंघन गरेको आरोपमा शम्भु राई र लोचन भट्टराई कारबाहीमा परेका थिए । यस किसिमको कारबाहीबाट निरुत्साहित हुन पुगेका लोचन र शम्भुले त्यसबखत ‘जान नहुने’ भनिएको रेडियो नेपालमा गीत गाउन सुरु गरे ।

‘हाम्रो गीत हाम्रो आवाज’ कार्यक्रम 

२०३९ सालमा तत्कालीन नेकपा (माले)भित्र उत्पन्न ‘राजनीतिक स्वतन्त्रता’ वा ‘पार्टी स्वतन्त्रता’ भन्ने विवादमा अल्पमत पक्षमा रहेका संकल्प परिवारका रामेश, मञ्जुल र रामकृष्ण दुवालहरू त्यसपछि निष्क्रियझैँ रहेका थिए । यस्तै अवस्थामा २०४० सालमा पूर्वाञ्चलबाट विजय सुब्बा, चेतनारायण राई, शम्भु राई, सरु सुब्बा, सीमा पोखरेल, माधव प्रधान, खगेन्द्र श्रेष्ठ र विक्रम सुब्बालाई झिकाएर कीर्तिपुरको अडिटोरियम हलमा ‘हाम्रो गीत हाम्रो आवाज’ शीर्षकमा एक केन्द्रीय गीति कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मञ्जुलको उद्घोषणको स्थानमा विक्रम सुब्बालाई उभ्याइएको थियो । जेहोस्, विक्रम सुब्बाको कवितामय उद्घोषणले श्रोतामा एउटा भिन्नै खालको प्रभाव दिएको थियो । त्यस समयका अत्यन्त लोकप्रिय जनकलाकार शम्भु राईले सोही कार्यक्रममा आफ्नो ‘अन्तिम जनताको गीत’ गाएका थिए । 

सोही अवधितिर त्यतिखेरको कतिपय अव्यावहारिक आचारसंहिता उल्लंघन गरेको आरोपमा शम्भु राई र लोचन भट्टराई कारबाहीमा परेका थिए । यस किसिमको कारबाहीबाट निरुत्साहित हुन पुगेका लोचन र शम्भुले त्यसबखत ‘जान नहुने’ भनिएको रेडियो नेपालमा गीत गाउन सुरु गरे । पछि चेतनारायण राई, राजन राई, सीमा पोखरेल लगायत कतिपय नाम चलेका ‘जनताका कलाकार’ पनि रेडियो नेपालमा गीत गाउन गएका थिए । 

‘हाम्रो गीत हाम्रो आवाज’ गीतिकार्यक्रमपछि केन्द्रीय प्राथमिकतासहितको जनगीति कार्यक्रमहरू हुन छाड्यो । त्यसपछि स्थानीय र क्षेत्रगत रूपमा गठन भएका सांस्कृतिक समूहको माध्यमबाटै सांस्कृतिक गतिविधि सञ्चालित हुन थाले । २०४० देखि २०४४ सालसम्मको अवधिमा काठमाडौंका अधिकांश सांस्कृतिक कार्यक्रमहरू अनेरास्ववियुको ‘उपत्यका सांस्कृतिक कमिटी’मार्फत सञ्चालित भएका थिए । २०४४ सालपछि भने तिनै विद्यार्थी फाँटबाट आएका कलाकारलाई लिएर ‘जनसांस्कृतिक परिवार’, ‘कोरस परिवार’ जस्ता अनेकौँ समूहको गठन भएकोे थियो । 

आस्था परिवार

२०३९ सालको राजनीतिक विवादपछि निष्क्रियझैँ रहेका रामेश, मञ्जुलको नेतृत्वमा रहेको ‘संकल्प परिवार’ पुनर्गठित रूपमा ‘आस्था परिवार’ नाम लिएर २०४४ सालमा देखाप¥यो । स्वस्थ, सुन्दर र सार्थक गीत–संगीतको सिर्जना, संकलन र प्रस्तुतिका लागि प्रतिबद्धता जनाउँदै स्थापना गरिएका आस्था परिवारको कलाकार टिमभित्र रामेश, अरिम, ओम श्रेष्ठ, आभास फुयाल, गोविन्द थापा, भरत नेपाली, अविरल राई, भीव नेपाली र सौरभ श्रेष्ठ छन् । सुरुमा मञ्जुल पनि यस टिमभित्र रहेका थिए तर पछि रामेश र मञ्जुलबीचको सम्बन्धमा तनाव उत्पन्न भएपछि उनलाई यस समूहबाट पाखा लगाइयो । 

त्यसयता आस्थाले विभिन्न अवसरमा ‘हाम्रा स्वरहरू’ (२०४६), ‘क्षितिजको अँगालोमा’ (२०४६), ‘एक जुगमा एक दिन एकचोटि आउँछ’ (जनआन्दोलनमा सहिद र घाइते भएकाका लागि आर्थिक सहयोगार्थ, २०४७), ‘सुनको बिहान’ (२०४७), ‘अँध्यारोमा जुनकीरी’ (रामेशको एकल गायन, २०४७) आदि शीर्षकमा सानदार गीतिकार्यक्रम प्रस्तुत गरेको थियो । यसरी नै आस्थाले फ्रान्सिसी सांस्कृतिक केन्द्रसँगको सहकार्यस्वरूप एक वर्ष (२०४८ भाद्रदेखि २०४९ भाद्र) भित्रमा १२ वटा फरक–फरक शीर्षकमा एउटा गीति शृंखला नै प्रस्तुत गरेको थियो । 

यसरी ‘जनताका गीत’हरूको सिर्जना, प्रस्तुति, संकलन, सम्पादन र प्रकाशनमा अनौपचारिक रूपमा मानकीकरणको काम गर्दै आइरहेको ‘संकल्प परिवार’को उत्तराधिकारीका रूपमा स्थापित शीर्ष जनसांगीतिक समूह आस्था परिवारको पनि ५० को दशकभरि उल्लेखनीय गतिविधि नदेखिनुलाई दुःखद सत्यको रूपमा स्विकार्नुपर्छ । 

राष्ट्रिय जनसांस्कृतिक मञ्चको स्थापना 

यसरी विगतमा साना–साना सांस्कृतिक समूहहरूको माध्यमबाट जनसांस्कृतिक गतिविधि सञ्चालन हुँदै आइरहेको परिप्रेक्ष्यमा तत्कालीन नेकपा (माले)ले एकीकृत रूपमा राष्ट्रव्यापी जनसांस्कृतिक आन्दोलनलाई अघि बढाउने उद्देश्यका साथ २०४४ पुस २९ गते ‘राष्ट्रिय जनसांस्कृतिक मञ्च नेपाल’ (राजसा मञ्च)को स्थापना ग¥यो । राजसा मञ्च संकल्प परिवारझैँ एक सांगीतिक समूह मात्र नभएर तत्कालीन नेकपा (माले) वा हालको नेकपा (एमाले) अन्तर्गतका सम्पूर्ण प्रगतिवादी साहित्यकार, चित्रकार र संगीतकर्मीसहित सम्पूर्ण सांस्कृतिककर्मीको एकीकृत संस्थाको रूपमा रहेको छ । वरिष्ठ प्रगतिशील साहित्यकार मोदनाथ प्रश्रितको संस्थापक अध्यक्षतामा स्थापित पछि जनगायक जेबी टुहुरेको नेतृत्वमा रहेको राजसा मञ्च त्यसयता देशव्यापी संगठनात्मक संरचनाको निर्माण गरी ‘देशभक्तिपूर्ण, लोकतान्त्रिक, र प्रगतिशील’ संस्कृतिको प्रवद्र्धनका निम्ति कार्यरत छ । 

( क्रमश:) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सोम राई
सोम राई
लेखकबाट थप