आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गुनासो

रविसँग थवाङका सहिद परिवारको गुनासो– नेताहरू राजधानीमा हराउनु भयो, रोल्पा आउने फुर्सद छैन

आइतबार, ०७ असोज २०८०, ०९ : ३५
आइतबार, ०७ असोज २०८०

काठमाडौं । माओवादी सशस्त्र विद्रोहको आधार क्षेत्र रोल्पाको थवाङ पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सहिद परिवारले माओवादी नेतृत्वप्रति गुनासो राखेका छन् । पार्टीको दस्तावेज, नीति र विचार निर्माणका लागि जनताको आवाज सुन्न रवि संविधान दिवसको दिन पारेर असोज ३ गते थवाङ पुगेका थिए । उनीसँग सहिद तेजमान घर्ती ‘दीर्घ’की छोरी राखी घर्तीले पूर्व अर्थमन्त्रीसमेत रहेका रोल्पाबाट निर्वाचित सांसद वर्षमान पुनप्रतिको गुनासो पोखिन् ।  

‘उहाँहरू राजधानीमा हराउनु भयो, रोल्पा आउने फुर्सद छैन’, रविलाई उनले भनिन्, ‘एमसीसीमा प्रस्ट हुनुहोस् । देश बेचिनबाट जोगाउनुहोस् ।’

२००७ सालमा रोल्पाको थवाङमा जन्मिएका दीर्घ माओेवादीका अत्यन्तै इमानदार नेता मानिन्थे । २०२८ सालबाट सक्रिय वामपन्थी राजनीतिमा होमिएका उनी तत्कालीन माओवादीमा केन्द्रीय समिति सदस्य थिए । बाङ्गेतालबाट सेनाको पक्राउमा परेका दीर्घ २०५६ असोज २५ गते मारिएका थिए । माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा थवाङबाट मात्रै ३३ जना सहिद भएका छन् । रोल्पा र रूकुमबाट सुरू भएको जनविद्रोह देशभर फैलिएको थियो ।

राज्यका विशिष्ट पदाधिकारी, संवैधानिक निकायका पदाधिकारी, कुटनैतिक नियोगका अधिकारी, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख नेताहरूको उपस्थितिमा तामझाससहित सैनिकमञ्च टुँडिखेलमा आठौँ संविधान दिवस मनाइरहँदा रवि भने माओवादी विद्रोहको ‘इपिसेन्टर’ रोल्पा पुग्नुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् ।

पछिल्लो कालखण्डमा रोल्पा विद्रोहको आधारभूमिमात्र नभइ देशकै धेरै नेता जन्माउने जिल्ला भएको छ रोल्पा । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा–२ बाट भारी मतले विजयी भएका थिए । उनी तीन पटक प्रधानमन्त्री भए ।

माओवादी जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ रोल्पाकै हुन् । उनी ७ वर्ष उपराष्ट्रपति भए । रोल्पाकै अर्का नेता कृष्णबहादुर महरा माओवादीबाट धेरै पटक मन्त्री बन्ने नेतामध्ये एक हुन् । उनी सभामुखसमेत भए भने हाल पार्टीका उपाध्यक्ष छन् ।

लिवाङ, थवाङ र होलेरीमा तीन बसेका रविले सहिद तथा बेपत्ता परिवारहरूसँग भलाकुसरी गरेका थिए । स्थानीयवासीले रोल्पाबाट पटकपटक जितेर गएका जनप्रतिनिधिले जनताका सामान्य समस्या समाधान गर्नसमेत ध्यान नदिएकोमा गुनासो पोखे ।

पार्टी उपमहासचिव वर्षमान पुन सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनी पनि अर्थमन्त्रीसहित पटकपटक मन्त्री बन्ने नेतामा पर्छन् । रोल्पाबाटै प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्य ओनसरी घर्ती देशकै पहिलो महिला सभामुख बन्न सफल भइन् ।

यस्तै, कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री बन्न सफल भए । जयपुरी घर्ती, झक्कु सुवेदी लगायत दर्जनौँ नेता रोल्पाबाटै प्रतिनिधित्व गर्दछन् । तर सहिद परिवारले व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको तस्तै भएको गुनासो रविसँग गरेका हुन् ।

लिवाङ, थवाङ र होलेरीमा तीन बसेका रविले सहिद तथा बेपत्ता परिवारहरूसँग भलाकुसरी गरेका थिए । स्थानीयवासीले रोल्पाबाट पटकपटक जितेर गएका जनप्रतिनिधिले जनताका सामान्य समस्या समाधान गर्नसमेत ध्यान नदिएकोमा गुनासो पोखे ।

rabi lamichhane

अहिलेसम्म जनतासँग प्रत्यक्ष भेटघाट गर्न रविमात्र आएकोसमेत उनीहरुले भन्न भ्याए । देश र जनताका लागि केही गर्न उनीहरुले रविलाई संशयपूर्ण शुभकामना दिए ।

प्रधानमन्त्री प्रचण्ड, बाबुरामसहितका माओवादीका उच्च नेताहरूलाई २०५८ सालमा तत्कालीन शाही सेनाले घेराबन्दी गरी होलेरीमा आक्रमण गर्दा रोल्पाली जनताले मानव ढाल बनाएर बचाएका थिए । तिनै नेता सत्तामा पुगेपछि बेवास्ता गरिएकामा सहिद, बेपत्ता तथा अपाङ्गता भएका परिवाहरूले चरम निराशा र असन्तुष्टि पोखेको रविको बुझाइ छ ।

‘हामीले जिताएर पठाएका नेताहरू पटकपटक मन्त्री प्रधानमन्त्री भए । तर रोल्पालाई फर्केर हेरेनन् । जनयुद्धमा बचाएका नेताहरू राजधानी पुगेपछि राम्रो खबर सुनेका छैनौँ’, जनताका गुनासा सुनाउँदै रविले भने, ‘अहिलेलाई जनजीविकाको सवालमा जनतालाई पानी, बिजुली, स्वास्थ्य चौकी, सडक, कृषि बजारीकरण, समयमा  मल, बिउबिजन पाउने व्यवस्था, रोजगारी, गुणस्तरीय शिक्षा र उद्यमशीलता गरेर खाने व्यवस्थाको  ज्ञारेन्टी खोजेको मैले बुँझेँ ।’

रोल्पालाई राजधानी बनाउँछौँ भनेका थिए तर राजधानीमा गएर हराए भन्ने व्यापक गुनासो रोल्पावासीको रहेको रविले बताए । आफू राजधानी आएपछि रोल्पाका जनताका समस्याबारे सदनमा कुरा उठाउने रविले बताए ।

तर पूर्वमन्त्री एवं माओवादी केन्द्रकी नेता जयपुरी घर्तीले रविले भनेका कुरामा केही सत्यता भए पनि रोल्पामा कामै नभएको भन्ने कुरा अस्वीकार गरिन् ।

‘सहिद, घाइते र अपाङ्गता भएका परिवारका आफ्नै पीडा छन् । कतिलाई उचाल्ने काम भएको छ । कामै नभएको भन्न मिल्दैन । म त्यहाँको निवर्तमान सांसद हुँ । मेरै पहलमा पनि सहिद मार्ग बनाउन २ अर्बभन्दा बढी रकम निकासा भइसकेको छ,’ उनले भनिन् ।

यद्यपि ठेकेदारको लापरवाहीले काम समयमा सप्पन्न हुन नसकेको घर्तीले बताइन् । ‘व्यक्तिगत रुपमा भेटघाट भइरहेको छ । एक जना व्यक्तिले मात्र चाहेर केही हुँदैन,’ उनले भनिन्, ‘त्यसमा राज्य नै लाग्नुपर्छ ।’

वर्षमान पुन लामो समय बिरामी भएकाले जिल्ला जान नपाएको जिकिर गर्दै उनले अब रोल्पाका जनताका गुनासो सुन्न छिटै जाने विश्वास व्यक्त गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप