आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : तेक्वान्दोका दुई र ई-स्पोर्टसका एक नेपाली खेलाडी पराजित

आइतबार, ०७ असोज २०८०, १० : ०९
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालका ई—स्पोर्टस खेलाडी आइतबार प्रारम्भिक चरणको आफ्नो पहिलो खेलमै पराजित भएका छन् । नेपाली खेलाडी समिर गुरुङ मकाउका खेलाडीसँग पराजित भएका हुन् । मकाउका खेलाडी तोङ हाम सामले नेपाली खेलाडी समीरलाई २-१ ले पराजित गरे । 

यसैगरी चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालका २ जना तेक्वान्दो खेलाडी पनि पहिलो चरणमै पराजित भएका छन् । नेपालकी स्वस्तीका तामाङ महिला एकल पुम्से स्पर्धाको पहिलो चरणको खेलमै पराजित भएकी हुन् । उनलाई सिंगापुरकी डियाना अक्विध बिन्टे मुहम्मद दियाले हराएकी हुन् ।

यसैगरी पुरुष एकल पुम्से स्पर्धामा नेपाली खेलाडी प्रेमबहादुर लिम्बु भने क्वार्टरफाइनलमा पराजित भएका हुन् । उनी आफ्नो पहिलो खेलमा विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका थिए । पहिलो चरणको खेलमा उनले पाकिस्तानका कादिर अक्दस उल्लाहलाई हराएका थिए । 

प्रतियोगिताको क्वार्टरफाइनल खेलमा भने उनी फिलिपिन्सका खेलाडीसँग पराजित भएका भए । उक्त खेलमा फिलिपिन्सका पेरेज प्याटिङक किङ विजयी भए । पेरेजसँग पराजित भएसँगै नेपाली खेलाडी प्रेम उपाधिबाट वञ्चित बने ।

यसअघि टेबलटेनिसतर्फ पुरुष टिम स्पर्धामा नेपाल पराजित भएको थियो । समूह ‘बी’ अन्तर्गत प्रारम्भिक चरणको खेलमा जापानले नेपाललाई ३-० ले पराजित गरेको थियो । टेबलटेनिसको महिला टिम स्पर्धामा पनि नेपाल पराजित भएको थियो । महिला टिम स्पर्धाको प्रारम्भिक चरणको खेलमा सिंगापुरले नेपाललाई ३-० ले हराएको थियो । 

त्यसअघि नेपालको पुरुष भलिबल टोली पनि उपाधि होडबाट बाहिरिएको थियो । नेपालको महिला फुटबल टोली पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो । समूह ‘डी’ अन्तर्गतको खेलमा भियतनामले नेपाललाई २-० गोलले हराएको थियो । 

नेपालको समूहमा बंगलादेश र जापान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बङ्गलादेशसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप