आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लङ्ग–कोभिडको असर : बिरामीहरूको एमआरआई गर्दा देखियो मुख्य अङ्गमा क्षति

आइतबार, ०७ असोज २०८०, १० : ५४
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । अस्पतालमा भर्ना भएर ‘लङ्ग–कोभिड’ (लामो कोभिड) भएका मानिसहरूको मुख्य अङ्गहरूमा क्षति पुगेको पाइएको एक नयाँ अध्ययनले देखाएको छ । त्यस्ता बिरामीहरूको एमआरआई स्क्यान गर्दा उनीहरूको फोक्सो, मस्तिष्क र मिर्गौलामा केही असामान्यता देखिने सम्भावना तीन गुणा बढी रहेको अध्ययनमा पाइएको हो ।

अध्ययनकर्ताहरूले यो कोभिडका बेला बिरामी कति गम्भीर रूपमा प्रभावित भए भन्ने विषयसँग सम्बन्धित रहेको विश्वास व्यक्त गरेका छन् । यो अध्ययनले लङ्ग–कोभिड भएका बिरामीहरूको प्रभावकारी उपचारमा सहयोग पुर्‍याउने आशा गरिएको छ ।

ल्यानसेट रेस्पिरेटरी मेडिसिनमा प्रकाशित यो अध्ययन कोभिडका कारण अस्पताल नै भर्ना हुनुपरेका २ सय ५९ बिरामीमाथि गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएको पाँच महिनापछि उनीहरूको मुख्य अङ्गहरूको एमआरआई स्क्यान गर्दा कोभिड नभएका अन्य ५२ जना मानिसहरूको गर्दा उल्लेख्य भिन्नता पाइएको थियो ।

सबैभन्दा ठुलो प्रभाव बिरामीको फोक्सोमा देखिएको थियो । स्क्यान गर्दा यस्तो असामान्यता देखिने सम्भावना १४ गुणा बढी रहेको पाइएको अध्ययनमा उल्लेख छ । त्यस्तै, मस्तिष्कमा यस्ता असामान्यता देखिने सम्भावना तीन गुणा र मिर्गौलामा यस्तो सम्भावना दुई गुणा रहेको पाइएको थियो ।

यस अध्ययनकी शीर्ष शोधकर्ता रहेकी अक्सफोर्ड विश्वविद्यालयकी डा.बेटी रमन भन्छिन्, ‘लङ्ग कोभिड भएका बिरामीहरूको मुख्य अङ्गमा पनि क्षति पुगेको यसबाट स्पष्ट भएको छ ।’ –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप