आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने सोचियो, तर काँटी जति पनि पड्किएन : रवि लामिछाने

आइतबार, ०७ असोज २०८०, १४ : ३०
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको टिप्पणी गरेका छन् । 

आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् । लामिछानेले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताए । उनले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने आफूहरूले ठाने पनि सलाईको काँटी जति पनि नपड्किएको टिप्पणी गरे । 

उनले शंकाको घेरामा रहेका व्यक्तिहरू मोबाइल फर्म्याट गरेर प्रहरीकोमा पुगेको भन्दै प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशङ्का व्यक्त गरे । 

उनले भने, ‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान दिइयो, त्यो अनुसन्धानका कुराहरू हेर्दाखेरी भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरुले, मैले त्यतिखेरै भनेको थिएँ कि जब ३ दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? सन्दिग्ध मान्छेहरूलाई भाग्ने समय दिइयो कि ? मोबाइल फर्म्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ । सत्तारुढ दलका नेताहरूको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन । सलाईको काँटी जतिपनि पड्किएन । किनभने जतिपनि नामहरू आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्ने कुरा सार्वजनिक भएको छ । प्रहरी केही गर्न चाहन्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नि मिडिया ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्स गृहमन्त्रीज्यूले प्रहरीलाई दिन नसक्नुभएको हो कि  अथवा पार्टी भित्रको दबाब तपाईँले थेग्न नसक्नुभएको हो ? यो स्पष्ट पार्नुपर्‍यो ।’

 अनुसन्धानले सुन पानी छर्किने काम भएको महसुस भएको उनले बताए । उनले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरूपण पनि आलोचित हुनसक्ने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप