आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदमा नेपाल : कुन खेलाडीको प्रदर्शन कस्तो ?

आइतबार, ०७ असोज २०८०, २२ : ५७
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगितामा नेपाल पदकविहीन रहेको छ । चीनको हाङझावमा जारी १९ औँ एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरे ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । जितसँगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन् । अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् ।

आइतबारै नेपाली खेलाडीले २ महिला सिंगल्स तथा १ पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे ।

महिला सिंगल्समा अभिलाषा टज्ञटविष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए । दोस्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसँग सोझो सेटमा ६–० र ६–० को ले पछि परिन् । माहिका दक्षिण कोरियाली खेलाडीसँग ०–६ र १–६ ले चुकिन् । पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसँग ६–२ र ६–३ ले चुके ।

सोमबार प्रदीपसँगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्ने छन् । त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् ।

बक्सिङमा नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेका छन् । संगीता भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन्। आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनार भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरेकी हुन् ।

त्यसैगरी पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दिपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंककै आधारमा पराजित भए । राउन्ड अफ ३२ को भिडन्तमा दिपकलाई टुराबेकले युनानिमोस डिसिजन को आधारमा पराजित गरेका हुन् ।

महिला ५४ केजीमा नेपालकी मिनु गुरुङको पनि चुनौती समाप्त भएको छ । १३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी मिनु जापानकी किनोसिता रिंकासँग ५–० ले पराजित भइन् । व्यक्तिगत स्पर्धामा नेपालबाट सबै भन्दा बढी खेलाडी सहभागी खेल बक्सिङ हो । पुरुष ७ र महिला ६ गरी १३ खेलाडी सहभागी छन् ।

यसैगरी सुटिङको महिला १० मिटर एयर राइफलको ६४० पूर्णाङकमा नेपालका शिल्शा भण्डारीले ६१६.९ तथा सुस्मिता नेपालले ६०७.९ अंकको प्रदर्शन गरे । सुटिङमा नेपालबाट २ महिला खेलाडी मात्र सहभागी छन् ।

यसैगरी रग्बी सेभेन्समा नेपालको चुनौती आइतबार समाप्त भएको छ । समूह ‘डि’ मा नेपालसहित युएइ, चीन र अफ्गानिस्तान रहेका थिए । नेपालले समूह चरणको तीनै खेल आइतबारै खेलेको थियो । तीनै खेलमा नेपाल पराजित भयो ।

युएइले नेपाललाई ५५–७ ले पराजित गर्यो । नेपालका लागि विक्रम पुरीले १ कन्भर्सनबाट २ तथा पुजन फेवालीले १ ट्राइबाट ५ स्कोर गरे । त्यस्तै आयोजक चीनले नेपाललाई ६५–० तथा अफ्गानिस्तानले नेपाललाई ४१–० ले हरायो । नेपालबाट पुरुष रग्बी टोली मात्र सहभागी छ ।

यसैगरी उसुमा १३ औँ सागका स्वर्ण विजेता विजय सिन्जाली थाउलोको छाङछ्वानमा समग्रमा सातौं स्थानमा रहे । विजयले ९.७०३ अंक ल्याउँदै १४ खेलाडी सहभागी उक्त स्पर्धामा सातौं भएका हुन् ।

यस विधामा स्वर्ण जितेका चीनका सुन पेयुनले ९.८४० अंक ल्याए । रजत विजेता इन्डोनसियाका मार्भेलो जाभियरले ९.७८६ अंक र कांस्य विजेता मकाउका ची कुवानले ९।७६० ल्याए । सबिता राईले ८.७९६ अंक ल्याउँदा उनी १४ औँ स्थानमा खुम्चिइन् ।

उसुको सान्सौं मा एलिना चौधरी र रोहित चुनारो पराजित भए । महिला ५२ केजी तौलसमूहको क्वार्टरफाइनलमा एलिना इरानकी मानसोर्यान इलाहेसँग पराजत भइन् । रोहित पनि पुरुष ५६ केजी तौलसमूहको क्वार्टरफाइनलमा किर्गीस्तानका एमानबेकोभसँग अभाजबेकसँग २–० ले पराजित भए ।

सान्सौंकै पुरुष ६० केजीमा नेपालका पदम राई लाओसका साइबोन्फेङसँग २–० तथा ६० केजीमा नेपालका मंगलप्रसाद थारु किर्गिस्तानका ओमुरजाकोभ अस्काटसँग क्वाटरफाइनलमा पराजित भएपछि पदक कम्तीमा कांस्य पदक निश्चित गर्नबाट चुके ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप