आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’  समाचार

आइतबार, ०७ असोज २०८०, २० : ५१
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । आज २०८० असोज ७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सुन तस्करी प्रकरण : उच्चस्तरीय जाँचबुझ आयोगको क्षेत्राधिकारबारे विवाद कायमै, सहमति गरेर महासंघ फर्किए पनि ८ घटक शिक्षक आन्दोलनलाई निरन्तरता दिँदै, कांग्रेस बैठकमा ‘ॐ’ देखि संघीयता सम्मको चर्चा, अकस्मात बोलाइएपछि संसदीय समितिमा कड्किए गृहमन्त्री, एमाले बागमती प्रदेशको अध्यक्षमा आकांक्षीहरुको दौडधुप, दसैँको मुखमा गाडीभाडा बढाउन व्यवसायीको माग, विवादका कारण नेकपा एकीकृत समाजवादीले अपानि कार्यान्वयनमा रोक लगायो, सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि पनि स्थगित लगायत छन् ।

१. सुन तस्करी प्रकरण : उच्चस्तरीय जाँचबुझ आयोगको क्षेत्राधिकारबारे विवाद कायमै
सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठन गर्ने भनिएको उच्चस्तरीय जाँचबुझ आयोगको क्षेत्राधिकारबारे दलहरुबिच विवाद बढेको छ । आइतबार प्रमुख प्रतिपक्षसहितका दलबिच छलफल भए पनि सहमति जुट्न नसकेको हो ।

२. सहमति गरेर महासंघ फर्किए पनि ८ घटक शिक्षक आन्दोलनलाई निरन्तरता दिँदै
गत शुक्रबार सरकार र नेपाल शिक्षक महासंघबिच ६ बुँदे सहमति भयो । देशभरका शिक्षक कर्मचारीलाई काठमाडौँमा उतारेर आन्दोलन गर्दै आएको महासंघ अन्ततः सरकारसँग सम्झौता गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर घर फर्कियो । तर, त्यही आन्दोलनमा सक्रिय रहेका विभिन्न ८ वटा घटकले भने माइतीघर छाडेका छैनन् । 

३. कांग्रेस बैठकमा ‘ॐ’ देखि संघीयता सम्मको चर्चा
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा ‘ॐ’ देखि संघीयता सम्मको चर्चा भएको छ । बैठकमा आइतबार ३२ केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठक सोमबार पनि बस्ने जनाइएको छ ।

४. अकस्मात बोलाइएपछि संसदीय समितिमा कड्किए गृहमन्त्री
संसदीय समितिको बैठकमा आफूलाई अकस्मात बोलाइएको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ कड्किएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अकस्मात बोलाइएकोमा आक्रोस पोखेका हुन् ।

५. एमाले बागमती प्रदेशको अध्यक्षमा आकांक्षीहरुको दौडधुप
असोज ८ र ९ गते नेकपा एमाले बागमती प्रदेशको अधिवेशन हुँदैछ । एमाले बागमती प्रदेश अध्यक्ष पदका लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, रचना खड्का, कैलाश प्रसाद ढुङ्गेल, एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे र सानुकुमार श्रेष्ठ लगायतले आकांक्षा व्यक्त गरेका छन् । उनीहरु आफ्नो पक्षमा सहमति जुटाउन दौडधुपमा लागेका छन् ।

६. दसैँको मुखमा गाडीभाडा बढाउन व्यवसायीको माग
नेपालीहरूको प्रमुख चाड दसैँ र तिहार नजिकिएसँगै सार्वजनिक यातायातको चहलपहल सुरु भएको छ । दसैँमा उपत्यकाबाट बाहिर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउने योजनासहित यातायात क्षेत्रमा चहलपहल सुरु भएको हो । गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग बैठकमा यातायात व्यवसायीहरुले गाडी भाडा बढाउन माग गरेका छन् ।

७. विवादका कारण नेकपा एकीकृत समाजवादीले अपानि कार्यान्वयनमा रोक लगायो
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) ११ कार्यान्वयन नहुने भएको छ । विवाद बढेपछि शनिबार बसेको सचिवालय बैठकले उक्त अपानि कार्यान्वयन रोक्ने निर्णय गरेको हो ।

८. सन्दीप लामिछानेविरुद्धको मुद्दा फेरि पनि स्थगित
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा फेरि पनि स्थगितमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो ।

९. पूर्वराजा ज्ञानेन्द्रलाई भक्तपुरमा स्वागत
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन् । शाहका संवाद सचिव फणि पाठकका अनुसार पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर पुगेका हुन् । शाह भक्तपुर पुग्दा स्थानीयहरूले नेपालको राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए ।

१०. प्रचण्ड नेतृत्वको सरकारलाई जसरी पनि हटाउनुपर्ने ओलीको जिकिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन् । आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उदघाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप