आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बागमती अधिवेशन

ओलीको ‘ग्रिन सिग्नल’ पछि बागमती एमाले अध्यक्षको प्रतिस्पर्धामा कृष्णभक्तको ‘इन्ट्री’ !

आइतबार, ०७ असोज २०८०, २१ : ५४
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन उद्घाटनको समय नजिकिँदै गर्दा अध्यक्षका आकाङ्क्षीमा पूर्व सांसद कृष्णभक्त पोखरेलको ‘इन्ट्री’ भएको छ ।

यसअघि रामेछापका कैलाश ढुंगेल, काठमाडौँका सानु श्रेष्ठ, मकवानपुरका कृष्णप्रसाद दाहाल र नुवाकोटका केशवराज पाण्डे प्रदेश कमिटी अध्यक्षको आकाङ्क्षीका रूपमा चर्चामा आएका थिए । नुवाकोटका पाण्डे हाल पनि प्रदेश कमिटीका अध्यक्ष हुन् । त्यस्तै श्रेष्ठ प्रदेश सभामुख भैसकेका नेता हुन् भने ढुंगेल प्रदेशको आर्थिक मन्त्री भैसकेका नेता हुन् । सुरुवाती दिनमा दोलखाकी रचना खड्काले पनि अध्यक्षमा आकाङ्क्षा देखाए पनि उनी पछिल्ला दिनमा रिङ आउट भइसकेकी छन् ।

एमाले नेतृत्वले सकभर सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्ने पक्षमा रहेका बेला पोखरेलको एकाएक इन्ट्री भएको हो । अध्यक्षका आकाङ्क्षीमध्येका ढुंगेल र दाहालले सहमतिका लागि आफूहरू बाधक नबन्ने बताएका छन् ।

‘सहमति भए भैहाल्छ नभए चुनावबाट टुङ्गिन्छ’, दाहालले भने, ‘केन्द्रीय सदस्यबाहेकबाट नेतृत्व चयन गरौँ भन्दा पनि मेरो आपत्ति छैन’, दाहालको भनाइ छ ।

आफू अध्यक्षको आकाङ्क्षी रहेको पोखरेलले स्वीकार गरे । ‘अहिले नै भन्दा हतार होला । तर साथीभाइहरूसँग सरसल्लाह गर्दा तपाई प्रदेश कमिटीको अध्यक्षमा उठ्नुस् भन्ने नै धेरैको सुझाव पाएँ, त्यसैले साथीभाइको यो सुझावका आधारमा अघि बढ्न खोज्दैछु’, पोखरेलले रातोपाटीसँग भने ।

यसअघि एमाले नेतृत्वले ढुंगेल, श्रेष्ठ, दाहाल र पाण्डेबीचमा सहमतिको प्रयास गरेको थियो । तर त्यो प्रयास सफल हुने नदेखिएपछि सर्वस्वीकार्य व्यक्तिका रूपमा पोखरेललाई अघि बढ्न नेतृत्वले समेत ‘ग्रिन सिग्नल’ दिएको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बिहान भेटेका पोखरेलले त्यसपछि दिनभर एमाले पार्टी कार्यालय च्यासलमा आफू निकटका नेता, कार्यकर्ता र केन्द्रीय नेताहरूसँग भेटघाट र छलफल गरेका थिए ।

‘कृष्णभक्तजी २ पटक संघीय सांसद, जिल्ला अध्यक्ष र कानुन समितिको सभापति भएर जिम्मेवारी निर्वाह गर्नुभएको तथा कुनै दाग समेत नलागेको नेता हुनुहुन्छ’, अध्यक्ष ओली निकट स्रोतले भन्यो ‘उहाँका नाममा सर्वसम्मतिको प्रयास हुन्छ । यदि सर्वसम्मत भएन र मतदान नै भयो भने पनि उहाँजतिको नेतालाई प्रतिनिधिले साथ दिने नेतृत्वको बुझाई छ ।’

तीन छिमले नेतृत्व

एमाले पोलिटब्युरो सदस्य रामेश्वर फुयाँल बागमती प्रदेशमा तीन छिमले नेतृत्व चयन हुने बताउँछन् । सकभर ५ पदाधिकारी सहमतिमै चयन हुने र त्यो सम्भव नभए प्रतिस्पर्धाको विकल्पमा जाने बताउँछन् ।  

‘नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा पुरा गर्ने योग्यतम नेताहरूको छनोट हुनेछ बागमती प्रदेशको पहिलो अधिवेशनमा’, फुयाँलले भने, ‘त्यसका लागि युवासहित तीन छिमले नेतृत्व चयन हुनेछ । ‘त्यो भनेको उमेरमा परिपक्व, मझौला र युवा’, उनले त्यस्तो नेतृत्व चयनका लागि सहमतिको लागि अन्तिमसम्म प्रयास रहने बताए ।

सोमबार ११ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनमा त्यसअघि काठमाडौँका विभिन्न ६ वटा स्थानबाट र्‍याली निकाल्ने र उक्त र्‍याली भृकुटीमण्डप पुग्नेछ । नौ गते गते बन्द सत्र, १० गते विद्युतीय मतदानको अधिवेशन कार्यतालिका छ । बागमती प्रदेश अधिवेशनका लागि १३ वटा जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भैसकेका छन् भने ५ प्रतिशत मनोनयन गर्दा करिब २५ जना थप प्रतिनिधि थपिनेछन् । प्रत्येक पालिकालाई एक निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिएको एमालेले जनाएको छ ।

अधिवेशनका लागि एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका १३२ जना प्रतिनिधि छनोट भएका छन् । त्यसै गरी काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना तथा धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् । बागमती प्रदेशमा एमालेका एक लाख नौ हजार सङ्गठित सदस्य रहेका छन् । एमालेले १२५ सङ्गठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था मिलाएकोमा  दलितको हकमा ५० सङ्गठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप