आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पार्टी रूपान्तरण अभियान

निष्क्रिय नेता तथा कार्यकर्ता फकाउँदै माओवादी : १० देखि २५ प्रतिशत नेताहरू फिल्डमै गएनन्

फिल्डमा नजाने नेतालाई कारबाही गरिने माओवादी महासचिव गुरुङको चेतावनी
सोमबार, ०८ असोज २०८०, ०६ : ३७
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । संसदीय राजनीतिमा निरन्तर धक्का खाँदै आएको नेकपा (माओवादी केन्द्र) यतिबेला जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियान लिएर जनताका घर घर पुगेको छ । २०६३ देखि निरन्तर सत्तामा तर लगातार धक्का खाएपछि क्षमा याचनासहित पार्टी रूपान्तरणको नारा ‘घर घरमा माओवादी जन जनमा माओवादी’ लिएर केन्द्रीय पदाधिकारीदेखि  स्थानीय कार्यकर्तासम्म वडा केन्द्रित कार्यक्रममा व्यस्त छन् । 

तर, प्रारम्भिक अभियानको क्रममा नेता तथा कार्यकर्ता, जनता थोरै मात्र उत्साहित देखिएको नेताहरूले स्वीकारेका छन् । अभियानको क्रममा धेरैको चासो रोजगारी सिर्जना, महँगी र भ्रष्टाचार नियन्त्रण किन भएन ? भन्नेमा छ । 

माओवादी पटक पटक सत्तामा हुँदासमेत स्थानीय समस्या बाटो, बिजुली, खानेपानी, सिँचाई, पुललगायत पूर्वाधार विकाससम्बन्धी विकास निर्माण किन हुन सकेन ? केन्द्रमा भ्रष्टाचारसम्बन्धी अभियान सञ्चालन भए पनि स्थानीय तहमा भएका चरम भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती नियन्त्रणमा सरकारको ध्यान कहिले जान्छ ? जस्ता प्रश्नहरूको नेताहरूले सामना गरिरहेका छन् । 

स्थानीय  नेता तथा कार्यकर्ताले कार्यक्षेत्रमा नेताहरूको उपस्थिति कमजोर भएको, नेता र कार्यकर्ताबिच सम्बन्ध टाढिएको, कार्यकर्ता र जनताबिच सम्बन्ध टुटेको, पार्टी कमिटी लामो समयदेखि सक्रिय नभएको, लेबी तिर्न गाह्रो भएको, सदस्यता नवीकरण समयमा नभएको कार्यकर्ताले गुनासो गरेका छन् । 

त्यस्तै, जनवर्गीय संगठन क्रियाशील नभएको, नेताहरूको जीवनशैली, आचरण बिग्रिएको, शीर्ष नेताहरू गुट बन्दीमा लागेर पार्टी  कमजोर बनाएको जस्ता गुनासाहरू आएको उपमहासचिव गिरिराजमणि पोखरेल स्विकार्छन् । 

‘विशेष गरी राष्ट्रिय रूपमा रोजगारी सिर्जना, महँगी, भ्रष्टाचार नियन्त्रण तथा स्थानीय पूर्वाधार विकासमा धेरैको चासो र चिन्ता रहेको छ । पार्टीगत रूपमा नेताहरूको जीवनशैली बिग्रिएको, पार्टी र कार्यकर्ताबिचको सम्बन्ध, कार्यकर्ता र जनताबिचको सम्बन्ध टाढिएको, पार्टी कमिटी र जनवर्गीय संगठन लामो समयदेखि सक्रिय नभएको जस्ता गुनासा आएका छन्’, उनले भने । 

यद्यपि, भ्रष्टाचारविरुद्ध सरकारले चालेको अभियानबाट स्थानीय जनता, नेता तथा कार्यकर्ताहरू निकै उत्साहित भएको उनको जिकिर छ । सक्रिय पार्टी जीवनमा फर्किने नेता तथा कार्यकर्ताहरू उत्साहजनक रहेको पोखरेलको दाबी छ । 

निष्क्रिय नेता कार्यकर्ता फकाउँदै नेताहरू

पहिलो चरणमा नेतृत्वले विगतमा पार्टीको विभिन्न जिम्मेवारीमा बसेर योगदान गरेका तर अहिले पार्टीको कुनै  जिम्मेवारीमा नबसेका, समितिमा बसेर पनि सक्रिय राजनीतिमा नलागेका, पूर्वमाओवादी घटकमा बसेर काम गरेका नेता तथा कार्यकर्ता फकाउने रणनीति बनाएको छ । 

त्यसका लागि आन्तरिक बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन, प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधहरूको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माणमा विशेष ध्यान दिएको छ । आगामी असोज १५ सम्म सो क्रम जारी रहने पोखरेलले जानकारी दिए । 

दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरूसँग अन्तरक्रिया गर्ने कार्यसूची रहेको छ । यो चरणमा समाजमा विभिन्न क्षेत्रमा रहेका व्यक्तित्व, अन्य पार्टीका नेता तथा कार्यकर्तालाई माओवादीप्रति आकर्षित गर्ने रणनीति माओवादीको छ । 

तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम छन् । सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम तय गरेको छ । 

यो क्रममा पार्टीभित्र नेता तथा कार्यकर्ताको व्यवस्थापन, स्थानीय तहमा रोजगारी सिर्जना हुने गरी उत्पादन क्षेत्रको अध्ययन, युवाहरू आकर्षित हुने खालका कार्यक्रम ल्याउने गरी काम भइरहेको स्थायी कमिटी सदस्य तथा पर्साका इन्चार्ज विश्वनाथ साहले जानकारी दिए । 

‘माओवादीप्रति स्थानीय तहमा नेता, कार्यकर्ता र जनताको आ–आफ्नै गुनासा छन् । हामीले त्यसलाई व्यवस्थापन गर्न विभिन्न योजना बनाइरहेका छौँ । जनस्तरमा स्थानीय तहमा हुने भ्रष्टाचार, अनियमितता, कमिसन र सरकारी कार्यालयबाट हुने ढिलासुस्ती सम्बन्धमा धेरैको गुनासो छ’, उनले भने, ‘नेता तथा कार्यकर्ताहरूले पार्टी कमिटीले काम गर्न नसकेको, शीर्ष नेताहरू गुटबन्दीमा लागेको, पक्षपात र पूर्वाग्रही ढंगले जिम्मेवारी दिएको जस्ता गुनासा छन् । अभियान सकिएपछि नेता तथा कार्यकर्तालाई व्यवस्थापन हुने गरी कार्यक्रम ल्याउँछौँ ।’

यस्तै, अभियानअन्तर्गत पूर्वी रुकुम पुगेकी स्थायी कमिटी सदस्य कमला रोक्काले पहिलो चरणमा संगठन विस्तार, सुदृढीकरण, सदस्यता वितरण, नवीकरण गर्ने, निष्क्रिय नेता तथा कार्यकर्तालाई पार्टी फर्काउने अभियान चलिरहेको बताइन् । 

‘विशेष गरी नेतृत्वको कार्यशैली र जीवनशैलीलाई लिएर गुनासा आएका छन् । ती समस्यालाई हल गर्ने बाटो खोजी रहेका छौँ’, उनले भनिन् । 

यसैगरी, चन्द्रागिरि नगरपालिकामा खटिएका केन्द्रीय सदस्य माधव सापकोटाले धेरैजसो गुनासो राष्ट्रिय समस्या र पार्टी  नेतृत्वसँग जोडिएर आएको जिकिर गरे । अभियानको क्रममा सहिद तथा बेपत्ता परिवार, निष्क्रिय नेता तथा कार्यकर्ता र माओवादी घटकमा रहेका नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा सक्रिय बनाउने गरी छलफल जारी रहेको उनले बताए । त्यसका लागि एक साता समय थप गरिएको छ । 

उता, कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङ मिस्कोले नेता, कार्यकर्ता र जनताबाट गुनासाहरू धेरै आएकाले उनीहरूको माग सम्बोधन हुने गरी नेतृत्व अगाडि बढ्नुपर्ने बताउँछन् । 

अभियानको पहिलो चरणमा हामीले पार्टीको विभिन्न जिम्मेवारीमा बसेर निष्क्रिय रहेका, पार्टी छाडेका, पूर्वमाओवादी घटकमा रहेर काम गरेकाहरूलाई व्यवस्थापन गर्ने गरी शीर्ष नेताहरू आगामी योजना बनाउनुपर्छ’, उनले भने, ‘सरकारले भ्रष्टाचार विरुद्ध चालेको कारबाहीबाट उनीहरू उत्साहित छन् । पार्टी जीवनबाट टाढिएकाहरूसँग हामी निरन्तर छलफल र परामर्शमा छौँ ।’

यसै गरी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले पहिलो चरणमा आन्तरिक प्रशिक्षण, भेला, सदस्यता वितरण, नवीकरण, निष्क्रिय रहेका नेता तथा कार्यकर्तालाई घर फर्काउने काम जारी रहेको बताए । यस क्रममा केही  नेता तथा कार्यकर्ता फर्किएको, केही नयाँ थपिएको र केही आउने क्रम जारी रहेको उनको जिकिर छ । 

‘माओवादी नेतृत्वको सरकार भएकाले धेरैले आशा गरेका छन् । भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमबाट जनता, कार्यकर्ता उत्साहित छन् । यसै क्रममा पार्टीभित्र र बाहिर निष्क्रिय रहेका नेता तथा कार्यकर्तालाई भित्र्याउने काम जारी छ । उनीहरूलाई पार्टीभित्र व्यवस्थापन र उत्पादनसँग जोडेर रोजगारी सिर्जना हुने गरी नेतृत्वले योजना र कार्यक्रम ल्याउनुपर्छ’, उनले भने । 

यस्ता छन् पाँच लक्ष्य 

साउनको तेस्रो साता राजधानीमा बसेको माओवादी केन्द्रीय समितिले जनतासँग प्रत्यक्ष जोडिन अध्यक्ष प्रचण्डको प्रस्तावलाई आधार बनाएर प्रदेश सापेक्ष २१ बुँदे कार्ययोजना पारित गरेको थियो । 

सोही कार्ययोजनाको आधारमा सातै प्रदेशले आ–आफ्नो योजनासाथ अभियान चलाइरहेका छन् । उपमहासचिव पोखरेलले निम्न पाँचवटा लक्ष्यका साथ अभियान उत्साहजनक रूपले अगाडि बढिरहेको जिकिर गरे । 

१.पार्टीलाई व्यवस्थित र परिचालन गर्ने– यसमा सबै कमिटीका बैठक राख्ने । प्रशिक्षण चलाउने, टुटेको कडि जोड्ने । 

२.जनसम्बन्ध– जनताको घर घर जाने, सरकार र पार्टीले गरेका राम्रो कामको प्रचार गर्ने, वृक्षारोपण, सरसफाइ, स्वास्थ्य शिविर, सम्मान कार्यक्रम, अन्तर्क्रिया गर्ने । 

३.उत्पादनको कार्यक्रम– यो गम्भीर र महत्त्वपूर्ण विषय हो । यसका राज्यले नै ठुलो लगानी गर्नुपर्नेमा स्थानीयहरूको माग छ ।  स्थानीय तहमा जे सम्भव छ, त्यही योजना बनाएर जाने माओवादीको योजना छ । 

४.प्रविधिमैत्री पार्टी भएन– प्रत्येक कमिटीमा सूचना र सञ्चारको मेकानिजम बनाउने । तालिम दिने, व्यवस्थित गर्ने, सूचना आदान प्रदान गर्ने ।

५.जीवन शैली परिवर्तन– नेताहरूको जीवन शैली परिवर्तन गर्नुपर्नेमा सबैको गुनासो छ । राष्ट्र र पार्टीका लागि जीवनशैली परिवर्तन आवश्यक रहेको कार्यकर्ताको बुझाइ छ ।  

१० देखि २५ प्रतिशत केन्द्रीय नेता कार्यक्षेत्रमै गएनन्

केन्द्रीय समिति बैठकले तीन महिना तोकिएको कार्यक्षेत्रमा गएर त्यहाँका जनताको गुनासा, समस्या र सुझाव पेस गर्न निर्देशन दिएको थियो । अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफै पनि सात प्रदेशको सात वडा जाने प्रतिबद्धता जनाएका थिए । 

बैठकको निर्देशनअनुसार केन्द्रीय पदाधिकारीदेखि प्रदेश समिति सदस्यसम्म भदौ १६ देखि गृह जिल्ला भन्दा फरक जिल्लाका वडा वडामा गएर काममा व्यस्त छन् । जनताको स्थानीय समस्या समाधानदेखि सरसफाइ, स्वास्थ्य शिविर सञ्चालन तथा जनताको खेतबारीको काममा व्यस्त छन् । उनीहरूको समस्या, गुनासा, सुझाव सम्बन्धित प्रदेशका इन्चार्जलाई रिपोर्टिङ गरिरहेका छन् । 

तर, बैठकको निर्देशनलाई अटेर गर्दै तोकिएको जिल्लामा केही केन्द्रीय र प्रदेशका नेताहरू जिल्ला नगएको पाइएको छ । यसरी जिल्ला नजाने नेताहरूमा कोशी र कर्णालीमा २५ प्रतिशत, लुम्बिनी र सुदूरपश्चिममा १५ प्रतिशत तथा मधेस र गण्डकी प्रदेशमा १० प्रतिशत रहेको नेताहरूले अनुमान गरेका छन् । 

बागमतीमा तोकिएको क्षेत्र नजाने नेताहरू नदेखिए पनि अनुगमन भइरहेको एक नेताले बताए । ती नेताका अनुसार कार्यक्षेत्रमा नजाने नेताहरूको पहिचान गर्ने क्रम जारी रहेको, पहिचान गरिसकेका नेताहरूमाथि कारबाही गर्न प्रदेश कार्यालयले केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ । 

‘पार्टीले तोकिएको कार्यक्षेत्र नजाने नेताहरूको सातै प्रदेशबाट रिपोर्टिङ भइरहेको छ । कतिपयले बिरामी भएकाले जान नसकिएको बताएका छन् । वास्तविकता छानबिन गरी केन्द्रीय कार्यालयमा कडा कारबाहीसहित रिपोर्टिङ गरिएको छ’, ती नेताले भने । 

पार्टीले दिएको जिम्मेवारी बहन नगर्ने नेताहरूमाथि आवश्यक छानबिन गरी अनुशासनको कारबाही हुने महासचिव देव गुरुङले बताए । 

कार्यक्षेत्रमा को गए, गएनन् ? त्यसबारे सातै प्रदेशमा अनुगमन भइरहेको छ । ती सबै विवरण आइसकेपछि छानबिन गरी अनुशासनको कारबाही गरिनेछ’, महासचिव गुरुङले भने । 

माओवादीले ४११  केन्द्रीय सदस्य, १९८ जना वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश पदाधिकारी, प्रदेश सदस्यहरूलाई अन्तरजिल्ला खटाएको छ । १० वटै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरी सम्बन्धित प्रदेशमा पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप