आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश एमाले अधिवेशन

प्रतिनिधि छनोट सकियो, नेतृत्वको लागि अध्यक्ष ओलीको मुख ताक्दै

ओलीले अहिलेसम्म कसैलाई ‘ग्रीन सिग्नल’ दिएनन्
सोमबार, ०८ असोज २०८०, ०९ : १८
सोमबार, ०८ असोज २०८०

विराटनगर . नेकपा एमालेको कोशी प्रदेश अधिवेशनको प्रतिनिधि छनौट १४ जिल्लामै सम्पन्न भएको छ । जिल्ला, जनसंगठन र मनोनीत गरेर १ हजार ४७ जना प्रतिनिधि चयन भएका छन् । प्रतिनिधि चयन भइसक्दा प्रदेश अध्यक्षको आकाङ्क्षी भने माथिको आदेश कुरेर बसेका छन् । 

अध्यक्षका लागि हालसम्म मोरङबाट विनोद ढकाल, घनश्याम खतिवडा, सङ्खुवासभाबाट तुलसी न्यौपाने र धनकुटाका टिकाराम चेम्जोङ आकाङ्क्षी छन् । 

खतिवडाले पार्टीले दिने निर्णय आफूलाई मान्य हुने बताए । ‘मैले. ४७ वर्षदेखि पार्टीले भन्दै आएको कुरालाई मानेको छु, प्रदेश अध्यक्षको सन्दर्भमा पनि म उपर्युक्त पात्र हुँ भनेर भनेको छु,’ खतिवडाले भने, ‘त्यसमा पनि पार्टीले सहमतिका लागि सहकार्यका लागि, पार्टी एकताका लागि तँ अहिलेलाई बस् भन्छ भने मान्न पनि तयार छु ।’ 

खतिवडाले आफूले पार्टीको नेतृत्व तहमा पनि प्रदेश अध्यक्षको विषयमा कुरा गरेको जानकारी दिए । ‘मैले यस विषयमा नेतृत्वसँग प्रस्ट भनेको छु,’ उनले भने, ‘अहिलेसम्म यस्तो गर्नु, उस्तो गर्नु केही भनेको अवस्था छैन ।’

एमाले स्रोतका अनुसार शनिबार मोरङका नेता विनोद ढकालले अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलसँग भेट गरेका छन् । दुई घण्टा लामो भेटमा अध्यक्ष ओलीले ढकाललाई प्रस्ट ढंगले अगाडि बढ्नु भनेनन् । 

‘लामो छलफलपछि अन्तिममा अध्यक्षज्यूले मैले तपाईँको कुरा बुझेँ भनेर छलफललाई बिट मारेको जानकारीमा आएको छ,’ स्रोतले भन्यो, ‘विनोद कमरेडले पनि आफू चुनाव जित्ने हिसाब सुनाउनु भएको छ ।’

यद्यपि ढकालले ओलीलाई कन्भिन्स गर्ने कोसिस गरेको बताइएको छ । ‘अहिलेको सन्दर्भमा अध्यक्षलाई नरिझाएसम्म केही हुनेवाला छैन । उहाँले सिट्ठी फुक्ने मात्रै हो, तल सबैले मान्छन्,’ स्रोत भन्छ, ‘यहाँ ओली बाले भनेको अवस्थामा भानुभक्त ढकाल, हिक्मत कार्की, शेरधन राई सबैले एउटैलाई सहयोग गर्ने हो ।’ 

भेटमा ढकालले ओलीसमक्ष आफूलाई पटक पटक अन्याय भएको विषय राखेका थिए । जवाफमा ओलीले ‘अब न्याय हुन्छ’ भनेको स्रोत बताउँछ ।

उक्त स्रोतले प्रदेश अध्यक्षमा ढकाल र न्यौपानेबीच प्रतिस्पर्धा हुने दाबी गर्‍यो । प्रदेश अध्यक्षमा झापा, मोरङ र सुनसरीका प्रतिनिधिको मुडमा धेरै भरपर्ने नेताहरू बताउँछन् । जसमा झापा र सुनसरी ढकालका लागि अनुकूल देखिएको छैन । मोरङमा भने ढकाल पक्षकै प्रतिनिधिहरू चयन भएका छन् । 

यद्यपि, अध्यक्ष ओलीले ढकाल र न्यौपानेमध्ये एउटालाई बोकेर अर्कालाई नछोड्ने एक एमाले नेता बताउँछन् । ‘अध्यक्षले कसैलाई बोकेर, कसैलाई फाल्नुहुन्छ जस्तो लाग्दैन,’ ती नेताले भने, ‘अध्यक्ष ओली तटस्थ रहेको खण्डमा ढकालले जित्ने देखिन्छ ।’

हिसाब किताब मोटामोटी आए पनि बाको लाइन प्रस्ट नआउँदा अन्योल देखिएको अर्का नेताले बताए । ‘बाको ग्रीन सिग्नल नआएसम्म प्रस्ट नहुने देखियो,’ उनले भने । यद्यपि विनोद ढकाललाई बाले अगाडि बढ्न स्पष्ट जवाफ नदिएपछि समस्या सिर्जना हुन सक्ने देखिएको उनको भनाई छ । 

पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । हक्की र सहयोगी स्वभावका उनी एमालेभित्रका परिचित व्यक्ति पनि हुन् । विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका मात्रै नभई पार्टी बाहिरकालाई पनि सहयोग गर्ने स्वभावका छन् । प्रदेशको राजधानी विराटनगरमा रहेर एमालेलाई जोगाउन ढकालले खेलेको भूमिका प्रशंसनीय रहेको कतिपय बताउँछन् । 

यस्तै, उत्तरी मोरङ लेटाङ निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् । ढकालको तुलनामा उनी कमजोर छन् । एमालेमा लामो समय माधवकुमार नेपाल पक्षमा लागेका उनी पछिल्लो समय भने ओली क्याम्पमै थिए । 

उता, हाल अध्यक्ष रहेका तुलसी प्रसाद न्यौपाने सङ्खुवासभा निवासी हुन् । पहिलो प्रदेशसभाको कार्यकालमा सङ्खुवासभाबाट निर्वाचित उनी पनि सुरुमा माधव नेपाल निकट थिए । तर, पार्टी विभाजनको समयमा माधव कुमार नेपालको साथ छोड्दै न्यौपाने पनि एमालेमै रहेका छन् । उनी केही समय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत बनेका थिए । 

यस्तै, एमालेको कोशी प्रदेश उपाध्यक्ष रहेका टिकाराम चेम्जोङ पूर्व सांसद पनि हुन् । उनी लामो समयदेखि ओली समूहमै रहँदै आएका नेता हुन् । 

कहाँका कति प्रतिनिधि ?

एमालेले असोज १२ र १३ गते विराटनगरमा प्रदेश अधिवेशनको मिति तय गरेको छ । जसका लागि ताप्लेजुङबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, सङ्खुवासभाबाट ३९, तेह्रथुमबाट ४३, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६, मोरङबाट १७८, सोलुखुम्बुबाट १६, ओखलढुंगाबाट ४२, खोटाङबाट ५६, उदयपुरबाट ३६ जना प्रतिनिधि छन् । 

त्यस्तै, जनसङ्गठनबाट ५६ र मनोनीत ५० जना प्रतिनिधि छनौट हुने पाठकले बताए । जसमध्ये. भूगोलबाट ९६२ जना रहनेछन् । युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनौट हुँदा ३३४ जना भने महिला प्रतिनिधि छनौट भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप