आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

एसियाली खेलकुदमा भारतले जित्यो महिला क्रिकेटको उपाधि

सोमबार, ०८ असोज २०८०, १५ : १५
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा महिला क्रिकेटको उपाधि भारतले जितेको छ । भारतले सोमबार सम्पन्न फाइनल खेलमा श्रीलंकालाई १९ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । 

टस जिती पहिलो ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो । 

भारतको जितमा ओपनर स्मृति मन्धानाले ४६ रनको योगदान गरिन् । उनले ४५ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काइन् । जेमिमाह रोड्रिग्वेजले पनि भारतका लागि ४२ रनको योगदान गरिन् । उनले ४० बलको सामना गरी पाँच चौका हिर्काइन् । 

जवाफी ब्याटिङ गरेको श्रीलंकाका लागि हसिनी परेराले सर्वाधिक २५ रन बनाइन् । निलाक्षी डा सिल्भाले २३ रन जोडिन् । श्रीलंकाका लागि ओसादी रनसिङ्घेले १९ र कप्तान चामरी आथापाथुले १२ रन बनाएका थिए । 

यसअघि एसियाली खेलकुदको महिला क्रिकेटमा बंगलादेश तेस्रो भएको थियो । तेस्रो स्थानका लागि सोमबार नै खेलिएको खेलमा बंगलादेशले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा नौ विकेट गुमाएर ६४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले १८.२ ओभरमा पाँच विकेट गुमाउँदै विजय लक्ष्य पुरा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप