आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

‘रिगल’को आममाफीबारे गगन–विश्वले उठाए बैठकमा प्रश्न

सोमबार, ०८ असोज २०८०, १८ : ११
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्व गगन थापा र विश्वप्रकाश शर्माले बाँकेका योगराज ढकाल ‘रिगल’को आममाफीमाथि प्रश्न उठाएका छन् । कांग्रेस निकट तरुण दलका नेता रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसमा आममाफी दिएका थिए ।

चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका  रिगलको ६० प्रतिशत कैदमिनाह गरी आम माफी दिइएको थियो ।

बैठकमा थापाले भने, ‘राष्ट्रपतिजीले माफी दिएको विषय अहिले चर्चामा छ। सरकारले निर्णय गर्छ, राष्ट्रपतिजीको त औपचारिकता मात्र हो । कुनै बेला पार्टीमा रहेको व्यक्ति अपराधमा जोडिएको छ तर सरकारले आममाफी निर्णय गर्दा त्यसको भारी कांग्रेसमाथि आइपरेको छ।’ 

थापाले पार्टीमा संलग्न कुनै व्यक्ति अपराधमा जोडिए त्यसको भारी सिंगो पार्टीले नबोक्ने बताए । ‘पार्टीमा संलग्न जो–कोही अपराधमा जोडिए त्यसको भारी पार्टीले बोक्नु हुँदैन । अपराध गर्नेले नै भारी बोक्नुपर्छ,’ बैठकमा थापाले भने।  

रिगललाई आममाफी दिइयो आफूलाई केही पनि थाहा नभएको उनको भनाइ थियो । यस्तै महामन्त्री शर्माले सरकारको पछिल्लो एक निर्णयले राष्ट्रपति संस्थालाई आलोचित बनाएको बताए । सरकारले सिफारिस गरेको आममाफी सूचीका कुरा उठाउँदै राष्ट्रपति संस्थाकै आलोचना भएको उनको भनाइ छ ।

‘सरकारको कार्यवाहक प्रधानमन्त्री यहाँ हुनुहुन्छ। कानुन मन्त्री हुनुहुन्छ। अरू मन्त्रीजीहरू पनि हुनुहुन्छ। म के ध्यानाकर्षण गराउन चाहन्छु भने पुराना व्यवस्थाको प्रतिनिधि जाँदै गर्दा निकै हल्लाखल्ला माहौल बनाउन खोजेको प्रयत्न एकातिर र अर्कोतर्फ राष्ट्रपति संस्थालाई आलोचना गर्ने खालका हाम्रा गतिविधि देखिए,’ उनले भने ।

राष्ट्रपति संस्थालाई आलोचनामा आउने कर्म सरकारको पछिल्लो एउटा निर्णयले उनको भनाइ छ । ‘आममाफीको सूची। यसमा सही नै भएको छ भन्ने देखिँदैन,’ उनले भने । सरकारको कामले गर्दा राष्ट्रपति संस्थालाई आलोचित गरेमा मानिसमा रहेको वितृष्णा बढाएर जाने महामन्त्री शर्माले बताए ।

यसतर्फ सरकार र पार्टीले ध्यान दिनुपर्ने शर्माले बताए। महामन्त्रीद्वयको जवाफमा पार्टीका उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान र ऐनले दिएको सुविधाअनुसार नै आममाफी दिइएको दाबी गरे ।

‘कानुनले व्यवस्था गरेको र संविधानले दिएको छुटअनुसार यति वर्ष जेल सजाय भोग्यो भने, जेलरले चालचलन सुधारका कुरासहित सिफारिस गरेमा छुट्ने पनि छन्,’ उनले भने ।

केही घटना प्रकृतिका कारणले मानवीय संवेदनालाई छोएको कुरा सामाजिक सञ्जालबाट सार्वजनिक भएको उनको भनाइ थियो । उनले भने, ‘केही केसमा केही विषयहरू पनि आए । अहिले पाँच–छ सय मुद्दा मिनाहा भएका छन्। त्यो सबै संविधान र ऐनले दिएको सुविधाअनुसार नै भएका छन्।’

सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिने व्यवस्था रहेको उनले बताए । ‘आममाफीका केही विषय छलफलका विषय छन् । व्यक्ति–व्यक्तिमा म गइनँ,’उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप