आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

आफ्नै दलभित्रको असन्तुष्टि साम्य पार्न ‘मन्त्रीको तक्मा’ !

सोमबार, ०८ असोज २०८०, १९ : १५
सोमबार, ०८ असोज २०८०

विराटनगर । सर्वोच्चको परमादेशबाट कोशी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीले सोमवार मन्त्रीमण्डल विस्तार गरेका छन् । मात्र १२ दिनपछि अर्थात् असोज २० गतेभित्र विश्वासको मत लिनुपर्ने समय नजिक आइरहेको बेला उनले किन मन्त्री नियुक्त गरे ? के उनले विश्वासको मत लिने आधार बन्यो ? यो प्रश्न चर्चाको विषय बनेको छ । 

कार्की नेतृत्वको सरकारले विश्वासको मत लिने आधार अहिलेसम्म नदेखिएको एमालेकै कतिपय नेताहरु बताउँछन् । ‘अहिले नै विश्वासको मत लिनसक्ने आधार बनेको भन्न मिल्दैन,’ एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘तर, आशा छ हामी विश्वासको मत लिन्छौँ । अहिले मन्त्री नियुक्तिको विषय भनेको स्वभाविक विषय हो ।’ विश्वासको मत लिने आशा भएकै कारण मन्त्रीहरु नियुक्ति भएको भण्डारी बताउँछन् । 

तर, कतिपय एमाले नेताहरु संविधानको धारा १६८ (५) मा पुगेर कसरी बहुमत जुटाउने र एमालेले कसलाई अघि सार्ने भन्ने विषयमा एमालेभित्रै नयाँ बहस सुरु भएको छ । एमालेका एक प्रदेश सांसदले भने, ‘माओवादीले मत दिन्छ जस्तो लाग्दैन । त्यसो हुँदा उपधारा (५) मा जान्छ । त्यहाँ पुगेपछि जसले मिलाउन सक्छ उही मुख्यमन्त्री बन्छ । कसको नेतृत्वमा सरकार बन्छ, त्यो अहिले भन्न सकिन्न । तर, मध्यावधिमा भने जाँदैन ।’

ती नेताले हिक्मतकुमार कार्की नै उपधारा (५) मा पुगेर पनि मुख्यमन्त्री नबन्ने दाबी गरे । ‘एमालेबाट पनि नयाँ नेतृत्व निर्माण हुन सक्छ । उपधारा (५) मा पुगेपछि भने हिक्मतजीको सम्भावना भने घट्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा एमालेकै अर्को भने आउन सक्छ । माओवादी, काँग्रेसको पनि आउन सक्छ, नेकपा एसको पनि आउन सक्छ ।’

एमालेभित्र तीव्र असन्तुष्टि

अहिले एमाले नेतृत्वको सरकार रहँदा संसदीय दलभित्र तीव्र असन्तुष्टि रहेको एमाले स्रोत नै दाबी गर्छ । ‘एकलौटी ढंगले अगाडि बढ्ने, सल्लाह नगर्ने, सिनियर नेताहरुको कुरा नसुन्ने प्रवृत्ति मुख्यमन्त्रीमा देखिएको छ,’ एमालेका एक नेताले भने, ‘अहिले बाले नभनेसम्म दलको नेता नै परिवर्तनको खेल त नहोला तर असन्तुष्टि तीव्र छ । उपधारा (५) मा पुगेपछि त्यो देखिनेछ ।’

आफ्नै दलभित्र देखिएको विवाद साम्य बनाउन पनि कार्कीले असन्तुष्ट पक्षलाई मन्त्रीको तक्मा दिएको उनले बताए । ‘यो त फेरि पनि आफू मुख्यमन्त्रीको उम्मेदवार बन्ने बाटो बन्द नगर्नका लागि मन्त्रीको तक्मा दिइएको हो,’ ती नेताले भने । 

कार्की नेतृत्वको सरकार हुँदा प्रदेशको नाम कोशी नामकरण भयो । जसका कारण अहिले प्रदेशमा प्रमुख सुरक्षा चुनौती नै पहिचानवादीको आन्दोलन बन्दै गएको सुरक्षा अधिकारीहरु विश्लेषण गर्छन् । त्यसलाई मत्थर बनाउन पनि एमालेले जनजाति अनुहारलाई मुख्यमन्त्री बनाउनुपर्ने आवाज पार्टीभित्रै शुसुप्त ढंगले उठ्न थालेको बताइन्छ । जसको नेतृत्व तिलकुमार मेयाङ्बो लगायतले गरेको स्रोत बताउँछ । 

९ सदस्यीय मन्त्रीमण्डल

कार्की नेतृत्वको सरकारको आकार ९ सदस्यीय पुगेको छ । ९ मन्त्रालय रहेको प्रदेशमा तीन राज्यमन्त्रीसहित ९ सदस्यीय मन्त्रीमण्डल बनेको हो । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफ्नै जिम्मामा राखेका छन् । 

यस्त,ै तिलकुमार मेयाङ्बोलाई स्वास्थ्यमन्त्रीको जिम्मा दिएका छन् । मन्त्री मेयाङ्बो यसअघि खानेपानी, सिँचाइ तथा उर्जामन्त्री थिए । ताप्लेजुङ निर्वाचन क्षेत्र १ (१)बाट प्रत्यक्ष निर्वाचित मेयाङ्बो एमालेमा पाका, पुराना र सम्मानित नेताको रुपमा चिनिन्छन् । 

यस्तै, आज नियुक्त भएका बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाई ऊर्जा मन्त्री भएका छन् । उनी यसअघि पनि कार्की नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री बनेका थिए । पहिलो प्रदेशसभामा एमालेको प्रमुख सचेतक भइसकेका भण्डारी सोलुखुम्बुबाट निर्वाचित सांसद हुन् । 

उता, लिलाबल्लभ अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा पाएका छन् । उनी मोरङ २ (२) बाट निर्वाचित सांसद हुन् । मन्त्री अधिकारी यसअघि भीम आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारीमा थिए । 

यस्तै पर्यटन, वन तथा वातावरण मन्त्री बनेका पाँचकर्ण राई खोटाङबाट निर्वाचित सांसद हुन् । प्रदेशसभामै पहिलो कार्यकाल र दोस्रो कार्यकालमा पनि सबैभन्दा धेरै मतान्तरले विजयी भएर आएका एकराज कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाएका छन् । 

समानुपातिक सांसद सिर्जना राईले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् । यस्तै, सुनसरी २ (२)बाट निर्वाचित सांसद रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् । 

धनकुटा निर्वाचन क्षेत्र १ (१) बाट पहिलो र दोस्रो प्रदेशसभा निर्वाचनमै विजयी भएका निरन राई भने आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री भएका छन् । कोशी नामकरण गर्ने बेलामा समर्थक बसेको भन्दै पहिचानवादीहरुले उनको तीव्र आलोचना गर्ने गरेका छन् ।

कसको कति मत ?

कोशी प्रदेशको वर्तमान सरकारले विश्वासको मत लिने समय आगामी असोज २० गतेसम्म छ । विश्वासको मत लिने समय नजिकिँदै गर्दा एमालेले आफूबाट विभाजित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग छलफल गरिरहेको छ । 

प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टी (जसपा)को १ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमत ल्याउनका लागि ४७ सांसद चाहिन्छ । 

एमाले नेतृत्वको वर्तमान सरकारलाई उसको पार्टीबाहेक अहिलेसम्म कसैले पनि समर्थन गरेको छैन । यसअघि कार्की नेतृत्वको सरकारलाई राप्रपाले साथ दिँदै आएको थियो । 

सबैभन्दा ठूलो दलको नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश दिएपछि कार्की भदौ २२ देखि मुख्यमन्त्रीमा बहाल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप