आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आए : ब्रोकर एसोसिएसन

मङ्गलबार, ०९ असोज २०८०, १७ : ०६
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आएको ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरमका अध्यक्ष सागर ढकालले बताएका छन् । मंगलबार राजधानीमा नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग निजी क्षेत्र विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पुँजी बजारप्रति सरकारले गलत नीति अङ्गीकार गरेको आरोप लगाए ।

‘अहिले वित्त नीति र मौद्रिक नीतिले माइक्रो म्यानेजमेन्ट गरेर पुँजी बजारलाई धराशायी बनाउने काम गरेको छ,’ उनले भने, ‘देशमा व्यापार व्यवसाय विकास र विस्तारको लागि छरिएर रहेको पुँजीलाई सङ्कलन गरी सरकार र निजी क्षेत्रको लागि नपुग पुँजी जुटाउन, अर्थतन्त्रलाई थप चलायमान बनाई सरकारको लागि राजस्व सङ्कलनको नयाँ क्षेत्रको रूपमा विकास गर्न, कम्पनीहरूको वास्तविक मूल्य निर्धारण गर्ने क्षेत्र पुँजीबजार हो । तर हामी कहाँ ठिक यसको विपरीत पुँजी बजारलाई धराशायी पार्ने काम भइरहेका छ ।’ 

स्वदेशी तथा विदेशी पुँजी आकर्षित गरी ठूलाठूला पूर्वाधार निर्माणदेखि स–साना स्टार्टअपको सञ्चालनको लागि आवश्यक पुँजीको दीर्घकालीन व्यवस्थापन पुँजी बजारबाट गर्नको लागि सहज हुने हुँदा पुँजी बजारको विकास र विस्तारको विकल्प नरहेको उनको तर्क गरे । 

पछिल्लो विवरण अनुसार हितग्राही खाता (डिम्याट) खोल्नेको सङ्ख्या करिब ५९ लाख, मेरो शेयर प्रयोगकर्ता ५० लाख छन् भने अनलाइनबाट कारोबार गर्नेको सङ्ख्या करिब १९ लाख पुगेको छ । तर सरकारी नीतिकै कारण पुँजी बजार धराशायी भएर ती लगानीकर्ताहरू बिचल्ली परेर घरबारविहीन हुने अवस्था आउन लागेको उनको भनाई थियो । 

‘कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या पुँजीबजारमा आबद्ध भएका छन् भने कुल सूचीकृत कम्पनीको सङ्ख्या २३८ पुगेको छ,’ उनले भने, ‘तर राष्ट्र बैंकले सेयर बजारलाई धराशायी बनाउन अव्यवहारिक नीति अवलम्बन गरेर ४४ खर्ब पुगेको सेयर बजारको पुँजीकरण ३० खर्बमा झरिसकेको छ भने धेरैजसो लगानीकर्ता घरबार विहीन भएका छन् भने कतिपयले यसैका कारण आत्महत्या समेत गरेका छन् ।’ 

संस्थागत लगानीकर्ताको लागि करको दर बढी हुनु, करोडौँ लगानीका कम्पनीहरूलाई ऋण रकममा सीमा तोक्नु, नियमनकारी निकायहरूले संस्थागत लगानीकर्तालाई लागि प्रोत्साहन गर्नुको सट्टा न्यूनतम लगानी अवधि तोक्ने लगायतका कार्यबाट उल्टो निरुत्साहन गर्ने कार्य हुँदै आएको समेत उनले जानकारी दिए । साथै प्राथमिक सेयरमा आवेदन बन्देज हुनु, अग्रिम कर तथा अन्तिम करको दर धेरै रहनु र सोको सम्बन्धित वर्षमा समायोजनको व्यवस्था नहुनुले जस्ता कारणले संस्थागत लगानीकर्ताको हिस्सा सार्क राष्ट्रमै न्यून रहेको अबका दिनमा पुजी बजार विकासका लागि यसलाई प्रोत्साहन गर्नुपर्ने उनले जानकारी दिए । 

आ.व २०७७÷७८ मा करिब १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको कारोबार भई करिब १४ अर्ब रुपैयाँ अग्रिम पुँजीगत लाभकर बापत सरकारी खातामा योगदान दिने पुँजी बजारले राष्ट्र बैंकको सङ्कुचनकारी नीतिकै कारण आ.व २०७८÷७९ भरिमा २ अर्बमा झरेको र यसबाट सरकारले ठुलो हिस्सा राजस्व गुमाएको समेत उनले जानकारी दिए । 

साथै चालू आ.व.को पहिलो दुई महिनामा त्यस्तो राजस्व ५४  करोड मात्र उठेको यसले आगामी दिनमा अझै समस्या सिर्जना गर्ने उनको तर्क थियो ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूको कूल डिपोजिट ५७.४३ खर्ब र कर्जा लगानी ४८.७४ खर्ब रहेको तर शेयर धितो कर्जा ७६ अर्ब अर्थात् कूल कर्जाको १.५६ प्रतिशत देखिन्छ । जब कि सबै भन्दा बढी कर्जा दुरुपयोग भनिरहँदा समेत १ खर्ब ६ अर्ब सेयर धितो कर्जा प्रवाह भएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप