आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसदीय दलको छलफल

सरोकारावालासँग कांग्रेसले भन्यो-शिक्षासम्बन्धी विधेयक परिमार्जन हुन्छ

मङ्गलबार, ०९ असोज २०८०, १९ : २४
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकबारे सरोकारवालाको गुनासो सुनेको छ । कांग्रेस संसदीय दलले मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघका प्रतिनिधिसँग छलफल गरेको हो । 

छलफलमा कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूको उपस्थिति रहेको थियो । कांग्रेसले छलफलमा नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघका अध्यक्षलाई १५ मिनेट आफ्ना कुरा राख्न समय निर्धारण गरेको थियो ।

राहत शिक्षक संघ, नगरपालिका महासंघ, गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिलाई १० मिनेटको समय तोकिएको थियो । शिक्षक विधेयकसँग सरोकार राख्ने बाँकी संस्थाका अध्यक्षलाई ५ मिनेटमा आफ्ना कुरा राख्न कांग्रेस संसदीय दलले समय दिएको थियो ।  कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार २३ जना वक्ताहरुले आफ्ना धारणा राखेका थिए । झन्डै शिक्षाको क्षेत्रमा काम गरिराखेका २० वटा संस्थाका धारणाहरु सुनेको उनले बताए ।

छलफलमा सरोकारवाला निकायहरुले राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी विधेयक संसदबाट पारित गराउन कांग्रेसलाई आग्रह गरेका थिए । सबै शिक्षकहरुले फेरि आन्दोलन गर्नु नपर्ने गरी विधेयक संशोधन गर्न नेताहरुको ध्यानाकर्षण गराइएको नेपाल शिक्षक राष्ट्रिय महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् ।

‘माइतीघर मण्डलाबाट बाल शिक्षकहरु र राहत शिक्षकहरुलाई विद्यालय पठाउने वातावरण फेरि बनाइदिनुपर्‍यो । त्यहाँ हाम्रा साथीहरुलाई सडकमा सुताउने काम गर्नु भएन । हामीले त्यही भनेका छौँ,’ उनले भनिन् । 

नेपाल राहत शिक्षकका अध्यक्ष  खेमराज अधिकारीले सम्पूर्ण राहत शिक्षकहरूलाई स्थायी व्यवस्थापनका लागि परीक्षा दिने व्यवस्था मिलाउनुपर्ने बताए । उत्तीर्ण हुनेलाई शिक्षकमा नियुक्त गर्नुपर्ने र अनुत्तीर्ण हुनेलाई भरण पोषणसहित घर पठाइनुपर्ने उनको भनाइ थियो । अहिले सामुदायिक विद्यालयमा करिब ४० हजार राहत शिक्षक कार्यरत रहेका भन्दै त्यसमा करिब ३० हजार कांग्रेस मतदाता रहेको उनले बताए ।

उनले भने, 'कांग्रेसलाई मत हाल्ने करिब ३० हजार राहत शिक्षक हुनुहुन्छ । संसद्को सबैभन्दा ठूलो दलले यसमा सोच्नुपर्छ । हाम्रा माग सम्बोधनका लागि गम्भीर भइदिनुहुने छ भन्ने अपेक्षा छ ।'

सरोकारवालासँगको छलफलपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले शिक्षा विधेयक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको बताए । शिक्षकहरुले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी विधेयक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको उनले बताए । 

आफ्नो पार्टीले शिक्षा विधेयकलाई समृद्ध बनाउन बुधबार दिउँसो १ बजे विज्ञहरुसँग पनि छलफल गर्ने कार्यक्रम तय गरिएको लेखकले बताए ।

लेखकले भने, ‘अहिले जुन विद्यालय शिक्षा विधेयक आएको छ । यो महत्त्वपूर्ण विधेयकमध्येको एक हो । त्यसमा हामीले आज सरोकारवालाहरुसँग छलफल गरेका छौँ । भोलि १ बजे हामी विशेषज्ञहरुसँग बसेर छलफल गर्छौं ।'

उक्त विधेयकलाई परिमार्जन गर्ने, समृद्ध बनाउने कुरा नेपाली कांग्रेसको पनि उद्देश्य भएको उनको भनाइ छ । लेखकले पार्टीको तर्फबाट संसदमा यो विधेयक परिमार्जन गराउन आफूहरूको पनि भूमिका रहने बताए । साथै उक्त परिमार्जित विधेयकमा सबैका भावना समाहित गरिने उनको भनाइ थियो ।

सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पनि संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई संसदीय प्रक्रियाभित्रैबाट संशोधन र परिमार्जन गरी सर्वस्वीकार्य बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

साथै संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग विधेयक संशोधन र परिमार्जनमा सहकार्यका लागि कांग्रेसले अपिल पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप