आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

एमाले बागमती अधिवेशनको उम्मेदवारी दर्ता भोलि, मतदान बिहीबार

मङ्गलबार, ०९ असोज २०८०, १९ : ५७
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता भोलि (बुधबार) हुने भएको छ । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता भोलि र निर्वाचन बिहीबार गर्ने जनाएको हो ।

एमाले नेता शेर बहादुर तामाङका अनुसार निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ । उनका अनुसार बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन, ९ः११ मा उम्मेदवारी दर्ता हुनेछ । यस्तै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । 

 नेता तामाङका अनुसार असोज ११ गते बिहीबार मतदान हुनेछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।  

मंगलबार बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेश गरेका थिए । १३ जिल्ला र जनसंगठन विभागसहितको ७ समूहमा प्रतिवेदनमाथि छलफल भएको थियो । प्रतिवेदनमाथि आनन्दकुमार श्रेष्ठ, बद्री मैनाली, हस्त पंण्डित, कमल पाठक, एकलाल श्रेष्ठ, वेलीमाया घले र रमेश पौडेलले धारणा राखेका थिए । नेताहरुले राखेका धारणाको अध्यक्ष पाण्डेले जवाफ दिएपछि सुझावसहित प्रतिवेदन पारित भएको हो । 

एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गरेर सकिनेछ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप