आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले कर्णाली अधिवेशन

केन्द्रीय नेतृत्वको चेतावनीका बाबजुद कर्णाली एमालेमा गुटबन्दी बढ्दो

म फलानोको टिम, ढिस्कानाको टिम भन्न मिल्दैन : इञ्चार्ज भट्ट
मङ्गलबार, ०९ असोज २०८०, २१ : ३२
मङ्गलबार, ०९ असोज २०८०

सुर्खेत । बुधबारदेखि कर्णालीको राजधानीमा नेकपा एमालेको प्रदेश अधिवेशन हुँदै छ । पहिलो पटक हुने अधिवेशनलाई लिएर एमाले नेता–कार्यकर्ता उत्साहित छन् । नेता, कार्यकर्ता कसको पक्षका को उभिने भन्ने विषयमा बहस गरिरहेका भेटिन्छन् ।

नेताहरुले नै फलानो–फलानो गुटको व्यक्ति भनेर प्रचार गर्न लगाइरहेका छन् । तर, एमालेका कर्णाली इञ्चार्ज लेखराज भट्टलाई भने गुटको राजनीतिको हावाले तनाव भइरहेको छ ।

मंगलबार दिउँसो २ बजे पार्टी कार्यालयमा अधिवेशनको विषयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा भट्ट बाहिर गुटको विषयमा आइरहेको चर्चा परिचर्चाबाट चिन्तित देखिए ।

सकेसम्म कर्णालीमा एमालेभित्र गुटबन्दी छ भन्ने सन्देश नजाओस् भन्ने पक्षमा भट्ट देखिए । केही दिन अघिको पत्रकार सम्मेलनमा पनि भट्टले आन्तरिक प्रतिस्पर्धालाई लिएर गुटबन्दीको राजनीतिका रुपमा चर्चा गर्न नमिल्ने तर्क गरेका थिए ।

मंगलबार पनि उनले सोही कुरालाई जोड दिए । उनले भने, ‘हामी  छलफलका माध्यमबाट सर्वसम्मत जाने र त्यो तरिकाले भएन भने निर्वाचनबाट नेतृत्व चयन गर्ने हो । अहिले पार्टीले भनेको छ– स्वतन्त्र रुपमा सबैले आफ्नो इच्छा जाहेर गर्न सक्छ, नोमिनेशन गर्न सक्छ तर, म फलानोको टिम, ढिस्कानाको टिम भनेर भन्न मिल्दैन ।’

गुटबन्दीलाई पार्टीले अनुमति नदिने भट्टले बताए । गुटबन्दीको चर्चाले पार्टीलाई अर्कोतिर लैजाने उनको भनाइ छ । ‘यस्ता खालका कुराले गुट निर्माण हुने सम्भावना रहन्छ, त्यसले पार्टीलाई एकता हैन, विभाजनतिर लैजान्छ,’ भट्टले भने, ‘यो विषयमा पार्टी गम्भीर छ । लोकतान्त्रिक अभ्यास गर्ने कुरामा दुई मत छैन । हामी गम्भीरतापूर्वक लागिरहेका छौँ ।’

प्रदेश इन्चार्जको हैसियतले आफू सकेसम्म एकता बनाएर लोकतान्त्रिक विधि तथा छलफलद्वारा सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको पनि उनले प्रस्ट पारे ।

११ गते नोमिनेशन भएपछि मात्रै को–के उम्मेदवार भन्ने कुरा थाहा हुने जिकिर गर्दै भट्टले अहिले नै हल्लाको कुरामा भर पर्न नहुने तर्क गरे ।

तर, एमालेका जिम्मेवार नेताहरुले नै सामाजिक सञ्जालमा गुटबन्दीका आधारमा प्यानलसहितको उम्मेदवार छानिने र सोही अनुसार निर्वाचन हुने खुलेआम भनिरहेका छन् ।

एमालेको पार्टी कार्यालय बाहिर रहेका धेरैजसो नेताले पनि पार्टी केन्द्रबाट गुटबन्दीको आधारमा प्यानलवाइज उम्मेदवार बन्न नहुने भन्दै दबाब आइरहेको सुनाए । अध्यक्ष केपी ओलीले गुटका आधारमा उम्मेदवार घोषणा गरे कारबाही गर्ने चेतावनीसमेत दिइरहेको एक नेताले बताए । ती नेताले भने, ‘हेर्नुस्, कर्णालीमा जस्तो गुटबन्दी अन्त देखिएन, यहाँ नेताहरु त भित्र–भित्र पूरै गुटबन्दी गरेको देखिए । नेताहरुका आ–आफ्ना अडानले झगडा भइरहेको देखिन्छ । यो झगडाको अन्त्य अब केन्द्रीय नेतृत्वले गर्नुपर्छ ।’

विशेषगरी अहिलेसम्म कर्णालीमा दुई वटा गुटबिच नेतृत्वका लागि कडा प्रतिस्पर्धा भइरहेको छ । त्यो भनेको स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरख बोगटी । बोगटी टिमको डिजाइनकर्ताको भूमिकामा वर्तमान अध्यक्ष विनोदकुमार शाह देखिएका छन् ।

कतिपय नेता, कार्यकर्ताले कँडेल भर्सेस बोगटी–शाह गुटका रुपमा समेत प्रचार गरिरहेका छन् ।

कँडेलले पनि आफू निकट नेताहरुबिच छलफल चलाइरहेको र बोगटी–शाह गुटमा पनि छलफल भइरहेको नेताहरु बताउँछन् । तर, यहाँ पूर्व सभामुख राजबहादुर शाही अध्यक्षको दाबेदारका रुपमा खडा भइरहेका छन् ।

मंगलबार बेलुकासम्म पनि पार्टी कार्यालयमा त्रि–पक्षीय गुटबन्दीको चर्चा हुने गरेको थियो । पूर्व सभामुख शाहीले कुनै पनि हालतमा आफू ‘ब्याक’ नहुने र बरु निर्वाचनमा जान चाहिरहेको बताएका छन् ।

कँडेलको प्यानलबाट पोलिटब्यूरो सदस्य गुलावजंग शाह अध्यक्षको उम्मेदवारका लागि फाइनल भइसकेको पनि कतिपय नेताले दाबी गरे । सोही टिमबाट अध्यक्षका दाबेदार मानिएका धुर्व शाहीलाई सचिवमा लडाउने कुरा भइरहेको बताइएको छ ।

यता बोगटी–शाह टिमबाट अहिलेसम्म ‘क्लियर पिक्चर’ आउन बाँकी रहेको नेताहरुको भनाइ छ । उक्त टिममा विनोदकुमार शाहले मिनबहादुर शाहीलाई अगाडि सार्ने प्रयास गरिरहेका छन् भने बोगटी लगायतका नेताहरु निर्वाचनका गएको खण्डमा मिनबहादुर शाहीले भोट तान्न सक्दैनन् कि भन्नेतर्फ पनि सोचिरहेको एक नेताले बताए ।

नेताहरुको गुटबन्दीले भने कार्यकर्तालाई अन्योल पैदा गरिरहेको छ । पार्टी कार्यालय बाहिर भेटिएका एक नेताले भने, ‘यहाँ बडो गुटबन्दी रहेछ, कोही कता आऊ भन्छन्, कोही कता भन्छन्, म त हैरान भए !’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप