आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

बुधबार, १० असोज २०८०, ०९ : ३६
बुधबार, १० असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हो ।

टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान यसअघि चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको मंगोलियाले १३.१ ओभरमा अलआउट हुनुअघि ४१ रनमात्र बनाउन सकेको थियो । मंगोलियाका एक ब्याट्सम्यानले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सके । मंगोलियाका दाबासुरेनले सर्वाधिक १० रन बनाए । मंगोलियाले अतिरिक्त रूपमा २३ रन पायो । 

जवाफी ब्याटिङमा ओर्लिएको मंगोलियालाई सस्तोमा समेट्न नेपाली टोलीका बलर अविनाश बोहरा, करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए । सोमपाल कामी,  दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि एक-एक विकेट हात पारे । 

नेपालले मंगोलियालाई जितका लागि विश्व कीर्तिमानी लक्ष्य दिएको थियो । टी—२० ढाँचाको प्रतियोगितामा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो ।

यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । 

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाए । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप