आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानको ओइरो

बुधबार, १० असोज २०८०, ०९ : ४९
बुधबार, १० असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विश्व कीर्तिमानी जित हासिल गरेको छ । नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको हो । 

यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो । 

टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । त्यो पनि विश्व कीर्तिमान थियो । यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको मंगोलियाले १३.१ ओभरमा अलआउट हुनुअघि ४१ रनमात्र बनाउन सकेको थियो । मंगोलियाका एक ब्याट्सम्यानले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सके । मंगोलियाका दाबासुरेनले सर्वाधिक १० रन बनाए । मंगोलियाले अतिरिक्त रूपमा २३ रन पायो । 

जवाफी ब्याटिङमा ओर्लिएको मंगोलियालाई सस्तोमा समेट्न नेपाली टोलीका बलर अविनाश बोहरा, करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए । सोमपाल कामी,  दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि एक-एक विकेट हात पारे । 

अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्घ नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाए । 

उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काएका थिए । उनले सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका थिए । ्बायाँहाते ब्याट्सम्यान कुशलले टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहासमै सर्वाधिक छिटो शतक बनाएका हुन् । उनले केवल ३४ बलमा शतक पुरा गरेका हुन् । 

यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका वर्तमान कप्तान शर्माले केवल ३५ बलमा शतक बनाएका थिए । शर्माका अतिरिक्त दक्षिण अफ्रिकाका डेभिड मिल्लरले पनि ३५ बलमा अर्धशतक बनाएका थिए । कुशलले उनीहरूकै कीर्तिमान तोडेका हुन् । 

यसैगरी दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका थिए । ऐरीले केवल नौ बलमा अर्धशतक बनाएका थिए । उनले अविजित ५२ रन बनाएका थिए । उनले १० बलाको सामना गरी आठ छक्का पनि प्रहार गरेका थिए ।

यसअघि, भारतका ब्याट्सम्यान युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए । ऐरीले युवराज सिंहको त्यही कीर्तिमान तोडेका थिए । नेपालका लागि अर्का ब्याट्सम्यान रोहित पौडेलले पनि ६१ रन बनाए । उनले केवल २७ बलको सामना गरी ६ छक्का र दुई चौका हिर्काए । उनी नेपाली टोलीका कप्तान पनि हुन् ।

अब नेपालले अक्टोबरमा माल्दिभ्सविरुद्ध दोस्रो खेल खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप