आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसियाली खेलकुद

पौडीमा हिट चरणबाटै बाहिरिए नेपाली खेलाडी डुआना र नासिर

बुधबार, १० असोज २०८०, १२ : ४३
बुधबार, १० असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पाँचौँ दिन बुधबार नेपाली पौडी खेलाडी डुआना लामा हिट चरणबाटै बाहिरिएकी छन् । महिला एक सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा प्रतिस्पर्धा गरेकी डुआना आफ्नो हिटमा सातौँ भइन् । 

हिट ‘एक’ मा सातजना खेलाडी सहभागी थिए । उनले निर्धारित दुरी पार गर्न एक मिनेट २०.१५ सेकेन्ड समय खर्चिएकी थिइन् । उक्त हिटमा पहिलो भएकी आयोजक राष्ट्र चीनकी खेलाडी चाङ याङले निर्धारित दुरी एक मिनेट ०७.६६ सेकेन्डमा पार गरेकी थिइन् । उक्त हिटमा दक्षिण कोरियाली खेलाडी हेजिन किम निर्धारित दुरी एक मिनेट ०८.८२ सेकेन्डमा पुरा गर्दै दोस्रो स्थानमा रहिन् । 

यसअघि जारी एसियाली खेलकुदको महिला दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा पनि उनी हिट चरणबाटै बाहिरिएकी थिइन् । उक्त स्पर्धामा निर्धारित दुरी दुई मिनेट १६.२९ सेकेन्डमा पुरा गर्दै उनी सहभागी आठ खेलाडीमध्ये आठौँ स्थानमा रहेकी थिइन् ।

384239558_974234320329491_4936111686099436845_n

यसैगरी पुरुष दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा सहभागी भएका नेपाली खेलाडी नासिर याहा हुसैन पनि हिट चरणबाट बाहिरिन पुगे । हिट ‘दुई’ मा प्रतिस्पर्धा गरेका उनले निर्धारित दुरी पुरा गर्न दुई मिनेट ००.१४ सेकेन्ड समय खर्चिएका थिए । 

आफ्नो हिटमा उनी सातौँ भए । उक्त हिटमा आठजना खेलाडी सहभागी थिए । माल्दिभ्सका पौडीबाज इब्राहिम मुबल आजम आठौँ स्थानमा रहे । उनले निर्धारित दुरी पार गर्न दुई मिनेट ०८.३३ सेकेन्ड समय खर्चिएका थिए । 

उक्त हिटमा उज्बेकिस्तानका खेलाडी ईगोर पेत्राकोभ पहिलो भए । उनले निर्धारित दुरी एक मिनेट ५२.०० सेकेन्डमा पुरा गरेका थिए । तुर्कमेनिस्तानका खेलाडी मुसा जालाएभ दोस्रो भए । उनले निर्धारित दुरी एक मिनेट ५६.७८ सेकेन्डमा पुरा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप