आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

औद्योगिक प्रशिक्षण तालिम : माग अनुसार आवेदन परेन

स्थानीय तह गुहार्दै बागमती सरकार
बुधबार, १० असोज २०८०, १४ : १४
बुधबार, १० असोज २०८०

मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा लक्षित युवाहरूलाई प्रदान गर्दै आएको औद्योगिक प्रशिक्षण तालिममा माग अनुसारको आवेदन नै परेन । तालिमका लागि युवाको चासो कम भएका कारण ४६० जनाको दर्खास्त आह्वान भएकोमा निर्धारित समयभित्र आवेदन नै परेन ।

प्रदेश सरकारले हेल्मेटास्कको इन्स्योर प्रोजेक्टको प्राविधिक सहयोगमा ५ जिल्लाका ८ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि ४६० जनाको दर्खास्त माग गरेको थियो । ५ वटा विधामा प्रदेशका ८ स्थानीय तहका १३ विद्यालय छनौट गरी उक्त कार्यक्रम सञ्चालनको तयारी गरेको थियो ।

निःशुल्क रूपमा सञ्चालन हुने उक्त कार्यक्रमको परीक्षा तथा मूल्याङ्कनको जिम्मेवारी भने संघीय सरकार मातहतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरलाई दिइएको थियो ।

उक्त कार्यालयले गत भदौ १३ मा १५ दिने सूचना जारी गरी आवेदन माग गरेको थियो । तीन तहको सरकार बिचको समन्वयमा सञ्चालन गर्नुपर्ने उक्त कार्यक्रमको सूचना जारी गरिएको विषयमा स्थानीय तहलाई जानकारी नै गराइएन । असोज २ गते आवेदन दिने अन्तिम मिति तय गरिएको थियो । तर, माग अनुसार आवेदन नपरेपछि असोज ६ गतेका लागि तोकिएको परीक्षा समेत रद्द भयो ।

त्यसपछि १५ दिन म्याद थप गरेर पुनः आवेदन माग गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले अर्को सूचना जारी गरेको छ । मन्त्रालयले असोज २ गतेको मितिमा सूचना जारी गरे पनि असोज ७ गतेमात्र सार्वजनिक गरेको छ ।

स्थानीय तह गुहार्दै बागमती सरकार

माग अनुसार आवेदन नपरेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले भदौ अन्तिम सातामा समन्वयका लागि आग्रह गर्दै तालिम सञ्चालन हुने स्थानीय तहहरूलाई पत्र पठाएको छ । समन्वय नगर्दा कार्यक्रम नै प्रभावित हुने देखिएपछि मन्त्रालयले स्थानीय तहहरूलाई पत्र पठाएको हो ।

सो पत्रका आधारमा केही स्थानीय तहले तालिममा सहभागी हुन आवेदन माग गर्दै सूचना जारी गरेका छन् । प्रि–डिप्लोमा तह अप्रेन्टिसिप कार्यक्रमका लागि आवेदन दिन स्थानीय तहहरूले आग्रह गरेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयको सूचनाको आधारमा इच्छुक व्यक्तिहरूले आवेदन पेस गर्न सम्बन्धित स्थानीय तहले आह्वान गरेका छन् ।

यता कार्यालयद्वारा शैक्षिक सत्र २०८०/०८१ का लागि प्रि–डिप्लोमा तह अप्रेन्टिसिप कार्यक्रमका लागि प्रवेश परीक्षाको आवेदन फाराम भर्ने भन्दै असोज १७ गतेको समय सीमा दिएर आवेदन माग गरेको छ । कार्यालयले तोकिएका शिक्षण संस्थाहरूमा न्यून आवेदन परेकाले पुनः आवेदन फारम भर्न अनुरोध गरेको छ ।

दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाको प्रस्ताव अनुसार कार्यालयले कार्यक्रम तथा परीक्षा सञ्चालनको मिति संशोधनको निर्णय गरेको थियो । सोही अनुसार सो कार्यक्रमका लागि असोज २० मा प्रवेश परीक्षा मिति तय गरिएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी श्रीकृष्ण आचार्यका अनुसार अप्रेन्टिसिप तालिम (२४ महिने) आर्थिक वर्ष २०७९/०८० बाट सञ्चालन गरिएको हो । उक्त वर्षमा प्रदेशका विभिन्न स्थानीय तहका विद्यालयहरूमा २२६ जना प्रशिक्षार्थी सहभागी भएको र उनीहरूको प्रशिक्षण जारी नै रहेको उनले बताए ।

आचार्यका अनुसार चालु आर्थिक वर्षमा सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत पहिलो समय सीमा भित्र माग अनुसारको आवेदन पर्न सकेन । सोही अनुसार असोज १७ सम्म म्याद थप गरिएको उनले बताए ।

प्रचार प्रसारको कमजोरी र रोजगारीका विषयमा युवाहरूमा फरक बुझाइका कारण माग अनुसार आवेदन पर्न नसकेको उनले बताए । पारिवारिक व्यवसाय गर्दै आएका व्यक्तिहरू सो तालिममा बढी सहभागी हुने गरेको उनको भनाइ छ ।

प्रदेशभित्रका विभिन्न १३ वटा शिक्षालयमा सञ्चालन हुने सो तालिमका लागि ४६० जनाको कोटामा म्याद थप भएपछिको अवस्थामा ४०५ जनाको आवेदन परेको उनले बताए ।

५ वर्षमा ९ हजार बढीलाई व्यावसायिक तालिम

बागमती प्रदेश सरकार स्थापनादेखि हालसम्म प्रदेशका ९ हजार जनाले सीपमूलक व्यावसायिक तालिम लिएका छन् । आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० सम्ममा ९ हजार ६६९ जनाले व्यावसायिक तालिम लिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार व्यावसायिक तथा सिप विकास तालिम केन्द्र हेटौँडा र गजुरीबाट आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ९९९ जनाले तालिम लिएका छन् भने आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ७०३ जनाले तालिम लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप