आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

गठबन्धन दलको चेपुवामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री

मन्त्रालय नफुटाउन कांग्रेसको दबाब, मन्त्री थप्न माओवादीको जोड
बुधबार, १० असोज २०८०, १६ : २६
बुधबार, १० असोज २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी पछिल्लो समय सत्ता गठबन्धन दलहरुको दबाबका कारण चेपुवामा परेका छन् । मन्त्रालय नफुटाउन कांग्रेसले एकातिर दबाब दिइरहँदा अर्कोतिर माओवादी केन्द्रले दीपेन्द्र पुनलाई मन्त्री बनाउन मुख्यमन्त्रीसामु दबाब दिइरहेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको हालै बसेको बैठकले मन्त्रालय विभाजन नगर्न निर्देशन दिएको थियो । यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिं पुनले माओवादीले मन्त्रीको सूचीमा पठाएका सांसद दीपेन्द्र पुनको विषयमा असन्तुष्टि जाहेर गरेका छन् । 

विगतमा सत्तारुढ दलहरुको समझदारी अनुसार मन्त्रालय विभाजन गरेर माओवादीका २ र नेपाली कांग्रेसका ३ मन्त्री थप्ने तयारी भए पनि मन्त्रालय विभाजन नगरी सरकार विस्तार गर्न अप्ठ्यारो भएको छ ।

अर्कातिर स्वतन्त्र रूपमा गठबन्धन दलका विरुद्ध चुनावी मैदानमा गएर पछि माओवादीमा फर्केका दीपेन्द्र पुनको विषयमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । तर मुख्यमन्त्री चौधरीले माओवादीसँग पुनको साटो अर्को सांसदको नाम माग्न पनि सकेका छैनन् ।

3333333

त्यसो त पुनलाई माओवादीले जसरी पनि मन्त्री बनाउनुपर्ने बाध्यता देखिन्छ । किनकि निर्वाचनको बेलामा माओवादीले गठबन्धनबाट टिकट दिलाउन नसकेपछि पुन स्वतन्त्र रूपमा लडेका हुन् । उनलाई फेरि माओवादीले आफ्नो पार्टीमा भित्र्याएको हो । त्यसैले पनि माओवादीले पुन र कृष्णा केसीलाई छिटो मन्त्री बनाउन मुख्यमन्त्रीलाई दबाब दिएको हो ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबिच भएको पूर्वसहमति अनुसार अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर अहिले ३ मन्त्रालयमात्र बाँकी रहेका कारण सरकार विस्तारमा समस्या देखिएको हो ।

हालै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता जोग बहादुर महाराले रातोपाटीलाई बताए । उनले  भने, ‘हाम्रा २ र मुख्यमन्त्रीज्यूको पार्टीका ३ जनालाई मन्त्री बनाउने विषयमा छलफल भएको छ । अब छिटै मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

अहिले लुम्बिनी प्रदेशमा माओवादीका एक जनामात्रै मन्त्री छन् भने नेपाली कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई जना छन् । अन्य मन्त्री साना दलका हुन् ।

साना दलहरू आफ्नो भाग अनुसार मन्त्रालय पाएपछि चुपचाप रहँदा नेपाली कांग्रेस र माओवादीमा भने छिटै सरकारलाई पूर्णता दिन दबाब बढ्दो छ ।

तत्काल मन्त्री नियुक्त गर्नुपर्ने माओवादीको दबाब र मन्त्रालय नफुटाउन आफ्नै दल कांग्रेसको निर्देशनपछि मुख्यमन्त्री चौधरी अप्ठ्यारोमा परेका मुख्यमन्त्रीको सचिवालयका एक सदस्यले रातोपाटीलाई बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले केही दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा रहेको रातोपाटीलाई बताए ।

उनले भने, ‘यहाँ दलहरूसँग छलफल भएको छ । आज मुख्यमन्त्री काठमाडौँ जाँदै हुनुहुन्छ, काठमाडौँमा शीर्ष नेताहरूसँग छलफलपछि मन्त्रिपरिषद विस्तार हुन्छ ।’

वैशाख १४ मा पद सम्हालेका मुख्यमन्त्री चौधरी नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन् । साना दलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास र धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

अन्य तीन वटा मन्त्रालय भने मुख्यमन्त्री चौधरी आफैँले सम्हाल्दै आएका छन् । माओवादी केन्द्रले पुन र केसीको नाम मन्त्रीका रुपमा पठाएको छ भने नेपाली कांग्रेसमा मन्त्री बन्नेको नाम अझै फाइनल भएको छैन ।

दीपेन्द्र पुन मंसिर ४ मा भएको प्रदेशसभा चुनावमा गठबन्धनका उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनका विरुद्ध स्वतन्त्र रूपमा मैदानमा उत्रिएका थिए । गठबन्धनको सहमति विपरीत गएर उम्मेदवारी दिँदै आफूलाई पराजित गरेका कारण नै कांग्रेसका प्रदेश सभापति पुन दीपेन्द्रलाई मन्त्री बनाउन नमिल्ने भन्दै दबाब दिइरहेका छन् । उनले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समेत उक्त विषय उठाएका थिए ।

तर माओवादी संसदीय दलका नेता जोग बहादुर महाराले दीपेन्द्रको विषयमा  कांग्रेसको पार्टी सभापतिले भनेर नहुने रातोपाटीलाई बताए । उनले भने, ‘दीपेन्द्रलाई हामीले सिफारिस गरेका हौँ, उहाँ मन्त्री बन्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप