चिकित्सक संघ गण्डकीद्वारा विरोधका कार्यक्रमहरू स्थगित
काठमाडौँ । नेपाल चिकित्सक संघ गण्डकी शाखाले सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गरेसँगै हालको लागि सम्पूर्ण विरोधका कार्यक्रमहरू स्थगित भएको संघले जनाएको हो ।
गत असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको सांघातिक आक्रमण तथा अस्पताल तोडफोड भएको घटनाप्रति निन्दा गर्दै ९ गते देखि आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य सेवा बन्द गरिएको थियो । संघले नेपाल सरकार समक्ष विभिन्न मागहरू राखी विरोध कार्यक्रम सञ्चालन गरेको थियो ।
यसै सन्दर्भमा असोज ९ गते जिल्ला प्रशासन कार्यालय कास्कीलाई विभिन्न माग राखिएको मागपत्र तथा १० गते जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीमण्डलको कार्यालय सिंहदरबार काठमाडौँलाई ज्ञापन पत्र बुझाएको थियो ।