आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

बिहीबार, ११ असोज २०८०, २३ : ४०
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने भएको छ । पार्टीको केन्द्रीय कमिटी, कार्यकारिणी समिति, राजनीतिक समिति, संघीष परिषद्लगायतका संगठन छन् । तर हालसम्म जसपाले केन्द्रीय समितिमा पदाधिकारी चयन गर्न सकेको छैन ।

पदाधिकारी चयन गर्ने काम महाधिवेशनबाटै हुने जसपाका प्रवक्ता मनिष सुमनले बताए । उनले भने, ‘छठलगत्तै पार्टीको महाधिवेशन गर्ने तयारी छ, अब पदाधिकारी चयन गर्ने कार्य त्यही महाधिवेशनबाट हुनेछ ।’

महाधिवेशनले एक जना अध्यक्ष, एक जना सहअध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव, सात जना सचिव र एक जना कोषाध्यक्ष चयन गर्ने पार्टीको विधानमा उल्लेख छ ।

हालसम्म अध्यक्ष, संघीय परिषद् अध्यक्ष र एक जना वरिष्ठ नेतामात्र पदाधिकारीका रुपमा छन् । कार्यकारिणी समिति गठन भइसकेको छ । त्यसमा संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षसहित केन्द्रीय समितिबाट निर्वाचित ११ जना सदस्य रहने प्रावधान छ ।

तर अहिलेको केन्द्रीय कार्यकारिणी समितिमा संघीय परिषद्का अध्यक्ष, पार्टी अध्यक्ष तथा वरिष्ठ नेतासहित बाँकी सबै जना केन्द्रीय सदस्य छन् ।

पदाधिकारी चयनका लागि पार्टीमा आन्तरिक छलफल नभएको होइन, तर त्यसका लागि आकांक्षी धेरै देखिएका कारण विवाद हुने डरले पदाधिकारी चयन गर्न नसकिरहेको जसपाका एक कार्यकारिणी सदस्यले बताए । ‘सर्वसम्मतबाट पदाधिकारी चयन गर्ने सम्भावना कम छ,’ उनले भने, ‘महाधिवेशनबाट नै चयन गर्नेगरी पार्टीभित्र छलफल भइरहेको छ ।’

प्रत्येक पाँच वर्षभित्र महाधिवेशन गर्ने विधानमा उल्लेख छ । मधेशी जनअधिकार फोरम नेपाल पार्टी बनेपछि एक पटकमात्र महाधिवेशन भएको छ । मधेशी जनअधिकार फोरम यो बिचमा विभिन्न दलसँग एकीकरण गर्दै पछिल्लो समय जसपा नेपालका रुपमा सक्रिय छ । पार्टी एकीकरणपछि पटकपटक महाधिवेशनको मिति तय भए पनि कहिल्यै महाधिवेशन भएन ।

यस पटक चैतभित्र जसरी पनि महाधिवेशन गरिसक्नुपर्ने बताइएको छ । महाधिवेशनको मिति भने तोकिएको छैन । प्रवक्ता सुमनले भने, ‘केन्द्रीय समितिको बैठकले चाँडै नै मिति तोक्ला, तर छठपछि महाधिवेशन गर्ने पार्टीभित्र अनौपचारिक छलफल भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप