आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

बिहीबार, ११ असोज २०८०, २२ : ३५
बिहीबार, ११ असोज २०८०

आज मिति २०८० साल असोज महिनाको ११ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गर्न चाहान्छौँ ।

एमालेमा मतदान हुन ढिलाइ
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका उम्मेदवार केशर बुढाथोकीले उम्मेदवारी फिर्ता गरेका छन् । बुढाथोकीसँगै अध्यक्षमा उम्मेदवारी दर्ता गरेर फिर्ता लिनेमा तीन जना भएका छन् ।
अब अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालको मात्र प्रतिस्पर्धा हुने भएको छ ।

इन्द्रजात्रा
इन्द्रजात्राको दिन जीवित देवी कुमारीका साथै जीवित देवताको रुपमा पुजिने गणेश र भैरव आज बिहीबारदेखि सहर परिक्रमा गर्न निस्किएका छन् । काठमाडौँको तल्लो र माथिल्लो टोल घुम्नको लागि आजदेखि कुमारी, गणेश र भैरव रथमा सवार भएका हुन् ।

रामचन्द्रको राजनीति
‘दलीय राजनीतिमा लाग्दिनँ । विकास र सुशासनका लागि सदैव सक्रिय रहन्छु ।’ असोज ६ मा राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको दमौलीमा सभाहल उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्ति हो यो । राष्ट्रपति भएपछि पहिलो पटक गृह जिल्ला तनहुँ पुगेका पौडेल आफ्नो सो अभिव्यक्तिमा केही मिनेट पनि टिक्न सकेनन् ।

सोही कार्यक्रममा उनले गत वैशाख १० को उपचुनावमा ‘घण्टी’को आँधीबेहरीमा पनि कांग्रेस नछाड्नेलाई धन्यवाद दिए । राष्ट्रपति भएपनि पौडेल कांग्रेससँगको करिब ६ दशकको राजनीतिक यात्राबाट बाहिर निस्कन नसकेको उनको सो अभिव्यक्तिले प्रस्ट हुन्छ ।

गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि कांग्रेसको सबै जिम्मेवारीबाट अलग भए पनि पौडेलमा पार्टीप्रतिको मोह भङ्ग भएको छैन । बरु उनी कांग्रेसको आन्तरिक राजनीतिमा सुसुप्त ढंगले प्रवेश गर्न खाजेको कांग्रेसवृत्तमा चर्चा छ ।

मणिपालमा सहमति
बिगत चार दिनदेखि आन्दोलनका कारण सेवा प्रभावित भएको पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरु र मृतकका आफन्तहरुबीच बिहीबार ६ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् भने बन्द गरिएका अस्पतालका सेवा सुचारु भएका छन् ।  

विधेयक दर्ता
कानुन निर्माणअघि विधेयकको मस्यौदा निर्माणका क्रममा सरोकारवाला पक्ष र सर्वसाधारणको समेत सुझाव लिनुपर्ने व्यवस्था भएको विधेयक संसदमा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा दर्ता गरेको ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ मा कानुनको मस्यौदा निर्माणका क्रममा विषयबस्तुसँग सरोकार राख्ने पक्ष र सर्वसाधारणको सुझावसमेत लिनुपर्ने प्रावधान राखिएको छ ।

जसपामा सकस
जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने भएको छ । पार्टीको केन्द्रीय कमिटी, कार्यकारिणी समिति, राजनीतिक समिति, संघीष परिषद्लगायतका संगठन छन् । तर हालसम्म जसपाले केन्द्रीय समितिमा पदाधिकारी चयन गर्न सकेको छैन ।

बाबुरामको कटाक्ष
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण र भएको उपलब्धिप्रति असन्तुष्टि जनाएका छन् । 

डा भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् –‘देश आन्तरिक रूपमा तीव्र संरचनात्मक आर्थिक सङ्कट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको वेला दूरदर्शी नेतृत्वले सङ्कटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको  प्रशंसामा रमाएर बस्ने ।’

र, यो पनि
शिक्षकहरूले टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। असोज २ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका राहत, बाल विकास, पेन्सन वञ्चित, विद्यालय कर्मचारीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्।

काठमाडौँको महाराजगन्जमा नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी पत्नी शर्मिला बुधवार साँझ गोली लागेको अवस्थामा भेटिइन् । महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको अपरेसन भैसकेको छ ।

जनमत पार्टीले कुनै पनि दलसँग एकता र गठबन्धन नगर्ने प्रष्ट पारेको छ ।
बिहीबार पत्रकारसँगको छलफलमा जनमतका प्रवक्ता डा। शरदसिंह यादवले अन्य दलसँग राजनीतिक सम्बन्ध राख्ने तर पार्टी एकता र गठबन्धन नगर्ने प्रष्ट पारेका हुन् ।

प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको छ । सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको दोलखाका डिएसपी दीपक खड्काले रातोपाटीलाई बताए ।

प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गरे ।
नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिने सिलसिलामा असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन–२०८० सार्वजनिककरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कोशी मन्त्रिपरिषद्को बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास नगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि नेपाल सरकारको पूर्व स्वीकृति लिन  सिफारिस गर्ने निर्णय पनि भएको छ ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप