आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले अधिवेशन

कर्णालीमा एमाले अधिवेशन : सर्वसम्मत भए गुलावजंग शाह, नभए प्रतिस्पर्धा !

शुक्रबार, १२ असोज २०८०, ०७ : ५४
शुक्रबार, १२ असोज २०८०

सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा बुधबारबाट नेकपा एमालेको अधिवेशन जारी छ । तर, अहिलेसम्म नेतृत्वको लागि न कसैले उम्मेदवारी घोषणा नै गर्न सकिरहेका छन् न सर्वसम्मतको प्रयास नै सफल बनेको छ ।

बुधबार अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मत तरिकाले अधिवेशन सम्पन्न गर्न निर्देशन दिएर फर्किएका थिए । ओलीले भनेका थिए,‘ सकेसम्म सर्वसम्मत गर्नुहोस्, यसले एकताको सन्देश जान्छ, नभए चुनाव लड्नुहोस्, हार्नुहोस्, जित्नुहोस् तर, प्यानल बनाएर चुनाव लड्न पाइँदैन ।’ 

बिहीबार दिनभर पनि महासचिव शङ्कर पोखरेलले बन्दसन्त्रलाई थाती राखेर सहमतिको प्रयास गरे । तर, कुनै पनि हालतमा सर्वसम्मत तरिकाले नेतृत्व चयन हुने नदेखेपछि उनी बन्दसत्रमा सहभागी नै नभएर काठमाडौँ फर्किए । बेलुका पाँच बजेबाट मात्रै बन्दसत्र सुरु भयो । 

यद्यपि, पोखरेलले अझै पनि सर्वसम्मत तरिकाले अगाडि बढ्न निर्देशन दिएर गएको सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए । 

कर्णालीमा कुनै पनि हालतमा सर्वसम्मत तरिकाले नेतृत्व चयन हुने सम्भावना भने नरहेको ती नेताको भनाइ छ । पदाधिकारीमै रहेका नेताहरूले गुटगत राजनीति गरिरहेको बताउँदै ती नेता भन्छन्,‘ अहिले प्रदेश कमिटीको नेतृत्वमै रहेका नेताजीहरु गुटगत तरिकाले आफूनिटक व्यक्तिहरूलाई अगाडि बढाउने, केन्द्रको कुरा नसुन्ने गरिरहनुभएको छ, यसले गर्दा सर्वसम्मत तरिकाले अधिवेशन सम्पन्न हुनेमा हामी विश्वस्त छैनौँ ।’ 

यद्यपि अझै पनि सर्वसम्मत तरिकाले अधिवेशन सम्पन्न हुने केही आधार भने बाँकी छन् । कतिपय नेताहरूले आफू निकट व्यक्तिहरूलाई पार्टी केन्द्रको ‘ग्रिन सिग्नल’ मीनबहादुर शाहीलाई छ भन्ने कुरा बाहिर प्रचार गर्न लगाइरहेको छन् । तर, पार्टी केन्द्रले अहिलेसम्म कुनै पनि व्यक्तिलाई त्यस्तो खालको यसैलाई बनाउनु भन्ने ‘सिग्नल’ दिएको अवस्था छैन । 

प्रदेशका एक जिम्मेवार नेताले रातोपाटीसँग भने,‘व्यक्तिगत रूपमा भेट हुँदा जाऊ तल माहौल बनाऊ भनेर नेताहरूले भन्छन् नै, तपाईँ मात्र हो भनेर भनेको भए यतिका मान्छे जम्मा गरेर अधिवेशन किन गर्नु र, माथिबाट नै लेखेर पठाए भैगो नि १’ 

नेताहरूका अनुसार सर्वसम्मत तरिकाले नेतृत्व चयन गरे सल्यानका गुलावजंग शाह अध्यक्ष चुनिने छन् । तर, सर्वसम्मत तरिकाले नभएको खण्डमा चुनावी प्रतिस्पर्धा हुन्छ । एक नेताले भने,‘ गुलावजंग शाह आफैमा यति लामो राजनीति गरेको व्यक्ति, पोलिटब्युरो तहको नेता, अध्यक्षका लागि तल आउनुभएको छ भने नेतृत्वले उनीबाहेक अरूलाई अध्यक्ष बन् भनेर भन्दैन ।’ 

शाह नै अध्यक्षको दाबेदार भइसकेपछि शाहलाई ‘क्रस’ गरेर उनी भन्दा जुनियरको  नाममा सर्वसम्मत गर्ने कुरा नरहने ती नेताको भनाइ छ । उनका अनुसार भए शाहको नाममा सर्वसम्मत हुने र नभए चुनाव हुन्छ ।

शाह केन्द्रमा शङ्कर पोखरेलका विश्वासिला पात्रका रूपमा चिनिन्छन् भने प्रदेशमा यामलाल कँडेलको टिमका व्यक्ति हुन् । स्रोतका अनुसार शङ्कर पोखरेलको जोड शाहलाई नै देखिन्छ । 

तर, गोरख बोगटी–विनोदकुमार शाहको टिमबाट मीनबहादुर शाही ‘ब्याक’ हुन चाहन्नन् । यदि चुनाव भएको खण्डमा शाहीले सबैतिरको भोट तान्न सक्ने-नसक्नेमा उक्त टिमभित्र नै आशङ्का यत्रतत्र रहेको सोही टिमका एक नेताले रातोपाटीलाई बताए ।

यदि चुनाव भएर प्रतिस्पर्धा भएको खण्डमा शाही भन्दा बरु पूर्व सभामुख राजबहादुर शाहीले नै भोट बढी तान्न सक्ने सम्भावना बढी रहेको ती नेता बताउँछन् । शाही पनि अध्यक्षका दाबेदार हुन् । उनले यसअघि देखिनै छलफल चलाइसकेको थिए । यद्यपि शाही अहिले कुनै गुटमा छैनन् । 

चुनाव भएको खण्डमा कालिकोटकै प्रेमबहादुर सिंह पनि प्रतिस्पर्धामा जाने सम्भावना छ ।  बोगटी–शाह गुटका मीनबहादुर शाही पनि कालिकोटकै हुन् । दुबै नेता चुनावी मैदानमा होमिएको खण्डमा मीनबहादुरले जिल्लाकै मत पाउने÷नपाउने कुरामा सोही गुटभित्र नै अन्यौल छ ।

जारी बन्दसत्र अहिले ८ बजेबाट सुरु हुँदै छ । बिहीबार प्रस्तुत भएको राजनीति, आर्थिक र साङ्गठनिक प्रतिवेदनमा आज छलफल हुने छ भने बिहीबार घोषणा भएको अध्यक्ष मण्डलले चलाउने छ । इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा भएको छ।

अध्यक्ष मण्डलले बन्दसत्र सकिए पनि निर्वाचनको प्रक्रियाका लागि जिम्मेवारी दिन्छ । त्यसपछि उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप