आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सबै बाल विकास शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराइने

शुक्रबार, १२ असोज २०८०, १८ : ३९
शुक्रबार, १२ असोज २०८०

 काठमाडौँ । प्रारम्भिक बाल विकास शिक्षकहरुलाई विद्यालय संरचनाभित्र समावेश गर्ने गरी विद्यालय शिक्षा विधेयक संशोधन गरिने भएको छ । शिक्षा मन्त्रालय र आन्दोलनरत बाल विकास शिक्षकहरुबीच भएको सहमति अनुसार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा उक्त कुरा संशोधन गरिने भएको हो । 

‘प्रारम्भिक बाल शिक्षालाई विद्यालय संरचनाभित्र समावेश गर्नुपर्ने र कार्यरतको दरबन्दी कायम गरी रुपान्तरण गर्नुपर्ने,’ भनि संशोधन गरिने सहमति भएको हो । 

प्रारम्भिक बालविकास शिक्षामा कार्यरत सहयोगी सहजकर्तालाई कायम दरबन्दी बमोजिम आन्तरिक प्रतिष्पर्धाबाट स्थायी हुने अवसर दिने गरी संशोधन गरिने छ । त्यसका लागि शत प्रतिशतलाई नै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराइनेगरी संशोधन गरिनेछ । यसअघि नेपाल शिक्षक महासंघसँग गरिएको सहमति अनुसार ७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने भन्ने थियो । भने विधेयकमा ५० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धा र ५० प्रतिशतलाई खुला प्रतिस्पर्धाबाट स्थायी गराउने भन्ने थियो । 

उनीहरुको दर्जा प्राथमिक तहको तृतीय श्रेणीको शिक्षक सरहको तलबमान हुने गरी संशोधन गरिनेछ ।   

प्रारम्भिक बालविकासमा कार्यरत भई विस्थापित हुने सहजकर्तालाई कार्य अवधिको गणना गरी सो आधारमा अवकाश सुविधाको व्यवस्था गर्नुपर्ने भनि विधेयकमा संशोधन गरिनेछ । 

बालविकास तर्फ कार्यरत सहजकर्तालाई बिरामी बिदा तथा संञ्चित बिदाको व्यवस्था गर्नुपर्ने समेत विधेयकमा संशोधन गरिनेछ । 

प्रारम्भिक बालविकास सहजकर्ताको तलब सुविधा नेपाल सरकारबाट उपलब्ध हुने व्यवस्था गर्नुपर्ने गरी विधेयकमा संशोधन गरिनेछ । बालविकास सहजकर्ताहरु पछि स्थायी शिक्षक भएपछि सहजकर्ताको सेवा अवधि गणना गरी निवृत्तभरण तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी विधेयकमा संशोधन गर्ने सहमति भएको हो ।  

हाल देशभर ३६ हजार ५९३ बाल विकास शिक्षकहरु कार्यरत छन् । विधेयकमा उनीहरु सबैलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने गरी संशोधन गर्ने सहमति नेपाल बालविकास शिक्षक संघर्ष समिति र शिक्षा मन्त्रालयबीच भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप