आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले अधिवेशन

कर्णालीमा एमाले अधिवेशन : अध्यक्षका लागि कालिकोटबाट नै तीन जनाको उम्मेदवारी

यामलाल कँडेल र गोरख बोगटी–विनोदकुमार शाहको टिमबीच प्रतिष्ठाको लडाइँ
शनिबार, १३ असोज २०८०, ०८ : ००
शनिबार, १३ असोज २०८०

सुर्खेत । कर्णालीका नेकपा एमाले नेतृत्वको लागि आज दिउँसो १२ बजेदेखि मतदान हुँदै छ । अध्यक्षका लागि भने निर्वाचन रोचक देखिने भएको छ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये तीन जना कालिकोट जिल्लाका मात्रै छन् । 

एउटै जिल्लाका तीन जना उम्मेदवार चुनावी मैदानमा आएपछि गोरख बोगटी–विनोदकुमार शाह गुटका मीनबहादुर शाहीलाई असर पर्ने नेताहरू बताउँछन् ।

 

मीनबहादुर शाहीविरुद्ध उनकै जिल्लाका पुराना नेता प्रेमबहादुर सिंह र प्रकाश रोकाया मैदानमा छन् । यी दुई नेता भने कुनै गुटबाट छैनन्। 

एमाले केन्द्रीय सदस्य समेत रहेका सिंह पुराना कम्युनिस्ट नेता हुन् । पूर्व सङ्घीय मन्त्रीसमेत रहेका उनको नेतृत्वका कुने बेला कालिकोट एमालेको लालकिल्ला बनेको थियो । ०५६ मा साबिक कर्णालीतर्फ एमालेले पाँच सिट जितेको थियो । उनी सङ्घीय कानुन, न्याय, तथा संसदीय व्यवस्था मन्त्री भइसकेका व्यक्तिका रूपमा परिचित छन् । 

मीनबहादुर शाही भने प्रदेश कमिटी सदस्य हुन् । उनी योजना आयोगका पूर्व सदस्य थिए । बौद्धिक नेताको छवि बनाए पनि उनी गैरसरकारी संस्थामा बढी सक्रिय नेताका रूपमा चिनिन्छन् । 

प्रकाश रोकाय प्रदेश कमिटी सदस्य हुन् । उनी कुनै बेला माओवादीमा पनि थिए । 

कालिकोटका सिंह महावै गाउँपालिकाका हुन् भने शाही रास्कोटका हुन् । रोकाय पचालझरना गाउँपालिकाका हुन् । तीन पटक मन्त्री भइसकेका सिंहको उम्मेदवारीले बोगटी–शाह टिमका शाहीलाई स्वतः असर पर्ने कालिकोटकै एक नेता बताउँछन् । 

रोकायाले कुनै गुट–उपगुट र लोभ प्रलोभमा नपरी, कसैको धाक धम्कीलाई समेत प्रवाह नगरी, अन्य बाधा व्यवधान र अड्चनलाई  निस्तेज पार्दै कुनै प्रकारका भ्रम र झुट्टा आश्वासनमा नपरी स्वतन्त्र रूपमा विवेकी बनी आफूलाई मतदान गरिदिन आग्रह गरेका छन् । 

‘मीनबहादुर शाहीको पक्षमा आफ्नै जिल्लामा पनि एकमत हुन सकेन, उनको विरुद्धमा उनकै जिल्लामा दुई जना उम्मेदवार बने,’ एक नेता भन्छन् । यसले गर्दा गोरख बोगटी–विनोदकुमार शाह गुटका मीनबहादुर शाहीलाई अफ्ठेरो पर्न सक्ने आकलन गरिएको छ । ‘आफ्नै जिल्लामा सर्वसम्मत नभएपछि यसको ‘इफेक्ट’ परिहाल्छ नि,’ कालिकोटकै एक नेता भन्छन्,‘सकेसम्म जिल्लामा एकमत हुनुपथ्र्यो ।’ 

अध्यक्षका लागि यामलाल कँडेलको टिमबाट गुलावजंग शाह मैदानमा छन् भने पूर्व सभामुख राजबहादुर शाही पनि मैदानमा छन् । शाही अहिले कुनै गुटमा छैनन् । एमालेमा लामो समय योगदान गरेका शाही प्रदेशमा सन्त छवि भएको नेताका रूपमा चिनिन्छन् । 

बोगटी–शाह टिमका शाही भन्दा पूर्व सभामुख शाहीले भोट बढी तान्न सक्ने धेरै नेताहरूको आकलन छ । उनी दैलेखको ठाटीकाँध निवासी हुन् ।

एमाले स्रोतका अनुसार कालिकोटका मीनबहादुर शाहीलाई महासचिव शङ्कर पोखरेलले ‘ग्राउन्ड’बाट तपाईको राम्रो सुझाव आएन गुलावजीको टिममा मिलेर जानुस् भनेर सुझाव दिएका थिए । तर, शाहीले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीको जोडबलमा निर्वाचन लड्ने तयारी गरेको ती नेताको दाबी छ । 

एमाले अध्यक्ष ओली र महासचिव शङ्कर पोखरेलको निर्देशन पालना नभएको कर्णालीमा नेतृत्वका लागि हुने निर्वाचन रोचक बन्ने देखिएको छ । नेतृत्वका लागि बोगटी–शाह र कँडेल टिमबीच प्रतिष्ठाको लडाइँ जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप