आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

तिमीलाई कस्तो दिऊँ शुभकामना ?

शनिबार, १३ असोज २०८०, ११ : ३३
शनिबार, १३ असोज २०८०

तिम्रो शुभ जन्मदिनमा 
म आफैँ बाँचेर पनि जिउँदो छैन
तिमीलाई के उपहार दिऊँ ?
तिमी जन्मेको दिनमा 
म स्वयम् जन्मेर पनि अस्तित्वमै छैन

मन त थियो, 
यो संसार 
लुटाइदिऊँ तिम्रो निम्ति 
जिन्दगी भरका सबै खुसी 
समेटिदिऊँ तिम्रो चरणमा 
पोखिदिऊँ छरपस्ट हुने गरी 
मायाका ती सँगालोहरू 
एक अँजुली यो श्वास पनि
रोकिदिऊँ सधैँको निम्ति

बनूँ तिम्रो छत्रछाया 
नमेटिने रङ्ग सरि 
बगूँ तिम्रो वरिपरि 
कोसौँ कोसको जँघार तरी 
रहूँ तिम्रो समीपैमा
कलेजीको धड्कन बनी 
मन त थियो, 
यो दुनियाँ 
उल्टाइदिऊँ तिम्रो निम्ति

किन्तु, 
यो सब
मेरो वशमा केही छैन
म आफैँ हाँसेर पनि खुसी छैन
अक्सर समेटिएर पनि सग्लो छैन
तिमीलाई कसरी हौसला दिऊँ ?
तिम्रो जन्मदिनमा 
टुटे फुटेको हिम्मत जुटाएर पनि 
मसँग त्यो सामर्थ्य छैन
तिमीलाई कस्तो प्रेरणा दिऊँ ?
तिम्रो भविष्यका दिनहरूको निम्ति
जबकि,
मेरो आफ्नै भविष्य प्रस्टिएको छैन ।

त्यसैले,
केही कष्ट खप्नु पर्नेछ तिमीले 
मेरो उपहार प्राप्त गर्नलाई
फेरि, 
अर्को जन्मदिन कुर्नुपर्नेछ तिमीले 
मेरो शुभकामना ग्रहण गर्नलाई 
ढुक्क बस्नु 
म,
उसैबेला
टक्र्याउनेछु तिमीलाई
एकमुस्ट शुभकामनाको पुष्पगुच्छा ।

मुसिकोट–१, रुकुम पश्चिम  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एनसी ओली
एनसी ओली
लेखकबाट थप