आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कांग्रेस विवाद

कोशी प्रदेश : कांग्रेस संसदीय दलमा हङ्गामा, माइन्युट खोसाखोस

शनिबार, १३ असोज २०८०, १२ : ०४
शनिबार, १३ असोज २०८०

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलमा दलका नेता उद्धव थापा र अन्य पक्षबीच माइन्यूट खोसाखोस भएको खुलेको छ । काँग्रेस संसदीय दलको बैठक शुक्रबार प्रदेशसभा सचिवालयमा बसेको थियो । 

उक्त बैठकले प्रारम्भमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने परिस्थिति निर्माण भएको निष्कर्ष निकालेको थियो । त्यसपछि दलका नेता उद्धव थापाले आगामी बन्ने प्रदेश सरकार कांग्रेस संसदीय दलको नेता (आफ्नै)कै नेतृत्वमा बनाउनु पर्ने निर्णय गर्नुपर्ने बताए । त्यस विषयमा सहभागी केदार कार्कीलगायतका सांसदले आपत्ति जनाए ।

आपत्ति जनाउने सांसदहरूले उद्धव थापाको नेतृत्वमा बनाउने नलेख्न र कांग्रेसको नेतृत्वमा लेख्नुपर्नेमा जोड दिएका थिए । ‘पटक पटक विश्वासको मत लिन नसकेको सबैले देखेकै हो । अब पनि उद्धव थापालाई नै दिनुपर्छ भन्ने हुँदैन,’ बैठकमा सहभागी एक सांसदले भने, ‘तर, उहाँले आफ्नै नाम लेख्नुपर्छ भनेपछि विवाद सिर्जना भयो ।’

विवाद सिर्जना भएपछि नेताहरुबीच तँतँ र ममसम्म गरेका थिए । केदार कार्कीले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने भनेर निर्णय गर्नुपर्ने बताउँदै माइन्युटमा लेख्न दलका प्रमुख सचेतक भूपेन्द्र राईलाई दबाब दिएका थिए । राईले आफूले त्यस्तो नलेख्ने भन्दै कार्कीको प्रस्ताव अस्वीकार गरेको बैठकमा सहभागी एक कांग्रेस सांसदले भने ।

सचेतक राईले त कोशी किनारमा पत्रकारहरूलाई लगेर दलको नेता परिवर्तन गर्ने भन्ने भनेर कार्कीलाई उल्टो प्रश्न गरेका थिए । त्यसपछि कार्की र राईबीच निक्कैबेर विवाद भयो । राईले दलको नेता परिवर्तन गर्ने भए दलको बैठकबाटै गरेर देखाउन कार्कीलाई चुनौति दिएका थिए । त्यसपछि भूपेन्द्र राईसँग सांसद केदार कार्कीको भने हात हालाहालको अवस्था नै सिर्जना भएको एक सांसद बताउँछन् ।

दलको बैठकमा दुई जना सांसदहरू रामकुमार खत्री र लखी कुमारी गणेश भने अनुपस्थित थिए । बैठकमा दलका उपनेता हिमाल कार्की भने मौन बसेका थिए । बैठकमा दलका नेता थापा, प्रमुख सचेतक भूपेन्द्र राई र सांसदहरू शोभा पालुङ्वा तथा खगेश्वरी पौड्यालले भने थापाको नाम लेख्नुपर्नेमा जोड दिएका थिए । अधिकांश सांसदहरूले विरोध गरेका थिए । 

बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । यस्तै उपसभामुख सिर्जना दनुवारलाई सभामुख स्वीकार गर्ने कि नगर्ने भन्ने विषय र अध्यादेशबाट ल्याएको बजेटबारे गठबन्धन दलसँग छलफल गर्ने निर्णय गरेको छ । झापाका सांसदहरू सबैले र उनी पक्षका भनिएका भीम पराजुलीले पनि उद्धव थापाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय नगरेर काँग्रेसको नेतृत्वमा भन्नुपर्नेमा जोड दिएका थिए । 

बैठक बस्नु अगाडि उद्धव थापाले उपनेता हिमाल कार्कीसँग छलफल गरेका थिए । छलफलका क्रममा उपनेता कार्कीले पनि थापालाई विकल्प दिन सुझाएको बताइएको छ । यस्तै थापाकै नेतृत्वको सरकारमा सहभागी भएका ओखलढुङ्गाका सांसद प्रदीपकुमार सुनुवार र मोरङका सांसद अमृत अर्यालले पनि थापाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषय निर्णय नगर्न र काँग्रेसको नेतृत्वमा लेख्नुपर्ने बताएका थिए । 

बैठकमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा काँग्रेसको भूमिकाको विषयमा समेत थप छलफल भएको थियो । काँग्रेस बैठकले भदौ ४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको सन्दर्भमा खेद प्रस्तावसमेत पारित गरेको छ ।

यसैबीच कोशी प्रदेशसभाको चौथो अधिवेशन १७ गतेका लागि आव्हान भएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुखको कार्यालयले असोज १७ गते बुधबार दिउँसो १ बजेको लागि प्रदेशसभाको अधिवेशन आव्हान गरेको हो । यसअघि कोशी प्रदेशसभाको तेस्रो अधिवेशन तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि भदौ ६ बुधबार अन्त्य भएको थियो । मुख्यमन्त्री कार्कीले संविधानको व्यवस्था अनुसार असोज २० गतेभित्रमा विश्वासको मत लिइसक्नु पर्नेछ । कार्की गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप