आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

कर्णालीमा एमाले अधिवेशन : मतदान प्रक्रिया आइतबार बिहान ८ बजेदेखि सुरु हुने

किन ढिलाई भइरहेको छ निर्वाचन प्रक्रिया ?
शनिबार, १३ असोज २०८०, १९ : ५५
शनिबार, १३ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको निर्वाचन प्रक्रिया शनिबार नहुने भएको छ । बेलुकी ६ बजेबाट मतदान प्रक्रिया सुरु हुने भनिए पनि व्यवस्थापनको अभावका कारण मतदान प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

बुधबारबाट जारी अधिवेशन लम्बिँदै गएपछि कार्यकर्तामा छटपटी बढिरहेको छ ।  आज बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको अन्तिम नामावली साँझ ५ बजेमात्रै प्रकाशित भएको थियो ।

दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेपनि नामावली प्रकाशनमा ढिलाइ भएपछि मतदानको प्रक्रिया ६ बजेदेखि गर्ने भनिएको थियो । तर, उक्त समयमा पनि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो । निर्वाचन समितिले मतपत्र छपाई लगायतका व्यवस्थापिक बाटोमा तदारुकता नदेखाउँदा निर्वाचन प्रक्रिया लम्बिएको हो ।  

अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका एमाले प्रदेश इञ्चार्ज लेखराज भट्टले अब भोलि आइतबार बिहान ८ बजेबाट मतदान सुरु हुने रातोपाटीलाई जानकारी दिए । निर्वाचन प्रक्रिया किन ढिलाई भइरहेको छ ? भन्ने प्रश्नमा भट्टले भने, ‘व्यवस्थापकीय पाटोमा केही समस्याका कारण ढिलाई भएको हो ।’ 

कर्णालीमा अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

कर्णाली प्रदेशसभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । 

प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमालले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो । प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए । तर नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको हो । 

एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधीकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप