आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जानुका गुरागाईँको गजल कृति सार्वजनिक

शनिबार, १३ असोज २०८०, २१ : ४६
शनिबार, १३ असोज २०८०

काठमाडौँ । साहित्य सुधा नेपालको आयोजनामा शनिवार नयाँ बानेश्वरको सनराइज क्याफेको हलमा सम्पन्न भव्य समारोहका बिच जानुका गुरागाईँको गजल सङ्ग्रह ‘परिवेशका सुसेली’ कृतिको लोकार्पण भएको छ । सो अवसरमा प्रमुख अतिथि घनश्याम न्यौपाने ‘परिश्रमी’ले गजलको बारेमा विस्तृत प्रकाश पार्दै छन्द कवितामा कठोर नियम हुन्छ भने गजलमा लचकता हुने बताए । उनले गजललाई गद्य विधाको प्रविधाका रूपमा स्वीकार्नुपर्ने बताए । 

कार्यक्रमका अध्यक्ष गणेश घिमिरे ‘मार्मिक’ले कृतिकारको परिचय दिँदै उनी सानैदेखि तीक्ष्ण र मिहिनेती रहेको र आफ्नी छात्राको यस किसिमको सृजनशीलताले आफूलाई गौरवान्वित बनाएको चर्चा गरे । 

हरिप्रसाद पौडेल ‘स्वर्ण शिखा’ले लोकार्पित कृतिका बारेमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै लोकार्पित कृतिभित्रबाट दुई वटा गजल गायन गरेका थिए भने क्रमशः मिलनकुमार ढुङ्गाना, सविता बराल, पूजन मिश्र र सुशीला धमलाको सुमधुर आवाजमा गुन्जिएका गजलले सबैलाई मन्त्रमुग्ध बनाएका थिए । सर्जकका परिवारका तर्फबाट गजलकार जानुकाका देवर लक्ष्मीप्रसाद निरौलाले सम्बोधन गरेका थिए ।  

साहित्य सुधा नेपालका उपाध्यक्ष गणेश घिमिरे ‘मार्मिक’को अध्यक्षता र योगेन्द्र पौडेलको  कुशल सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी आजीवन सदस्य पवित्रा दाहालको स्वागत मन्तव्य रहेको थियो ।

विशिष्ट अतिथिको रूपमा बोल्दै डा.रामप्रसाद ज्ञवालीले आफ्नो सारगर्भित मन्तव्यका क्रममा नेपालमा गजलले विधागत मान्यता नपाए पनि यो एक सुन्दर र गेयात्मक उपविधाका रूपमा फस्टाएको चर्चा गर्दै जुनसुकै सिर्जनामा विचार र भावनाको सौन्दर्य हुनुपर्ने कुरामा जोड दिँदै सौन्दर्य फुटमा होइन एकतामा हुन्छ भन्दै सर्जकले युग युगान्तरसम्म बाँच्न सक्ने खालको सिर्जना गर्नुपर्ने कुरा बताए । उनले लयको सौन्दर्य र अर्थको गाम्भीर्यले सिर्जनालाई अमर बनाउने बताए । 

उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा डा.प्रदीपकुमार मैनाली र नारायण जोशीले पनि शुभकामना मन्तव्य राखेका थिए ।  लोकार्पित कृतिका कृतिकार गुरागाईँले आफूmलाई साहित्यमा प्रोत्साहित गर्ने आफ्ना पति र सुपुत्रीको साथै गजल लेखनमा डोर्याउने व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्दै सधैँ साहित्य सिर्जनामा लागिरहने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप