आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

आइतबार, १४ असोज २०८०, २१ : ०७
आइतबार, १४ असोज २०८०

आज २०८० असोज १४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सुन तस्करी प्रकरणको अनुसन्धान गर्न छानबिन आयोग गठन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, जलहरी प्रकरणमा अनियमितताको निष्कर्षसहित तीन जनाविरुद्ध मुद्दा दायर, फेरि कुटिए डाक्टर, दोलखाबाट थप चार किलो सुन बरामद, अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमै राख्न अनुमति, माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जित लगायत छन् ।

१. सुन तस्करी प्रकरणको अनुसन्धान गर्न छानबिन आयोग गठन
सरकारले सुन तस्करीको विषयमा छानबिन गरी सुझाव सहितको प्रतिवेदन बुझाउने गरी ४ सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गृह मन्त्रालयको प्रस्तावमा उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन् ।


२. पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । चौतर्फी आलोचनापछि सरकारले एक दिनमै मूल्यवृद्धि फिर्ता लिने घोषणा गरेको हो ।

३. जलहरी प्रकरणमा अनियमितताको निष्कर्षसहित तीन जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा. प्रदिप ढकालसहित तीन जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा मिलन कुमार थापा र अरुणकुमार श्रेष्ठविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

४. फेरि कुटिए डाक्टर
कार्यक्षेत्रमा असुरक्षा बढेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सकसँग सरकारले विभिन्न सहमति गरे लगत्तै काठमाडौँमा फेरि डाक्टर कुटिएका छन् । राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात भएपछि स्वास्थ्यकर्मीहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । आइतबार काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका हुन् ।

५. दोलखाबाट थप चार किलो सुन बरामद
दोलखाबाट प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१ स्थित लामा बगरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले थप ४ किलो सुन बरामद गरेको दोलखाका डीएसपी दिपक खड्काले रातोपाटीलाई बताए । यसअघि प्रहरीले दुई पटक गरी ७ किलो सुन बरामद गरेको थियो ।

६. नेकपा एमालेको कर्णाली अधिवेशन ः सदस्यमा ४४ जना निर्विरोध
नेकपा एमाले कर्णाली प्रदेशको सदस्यमा ४४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनका लागि तोकिएको कोटाभन्दा धेरै उम्मेदवारी नपरेको र केही उम्मेदवारले  उम्मेदवारी फिर्ता लिएपछि ४४ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

७. एमाले कोशी अधिवेशन : नेतृत्व चयनका लागि मतदान
नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ३५ स्थानबाट मत हाल्ने व्यवस्था मिलाइएको छ । मुख्य निर्वाचन अधिकृत चुडामणि आचार्यका अनुसार १ जनाले १५ मिनेटमा मतदान गरिसक्ने छन् । ५ जना पदाधिकारीसहित २१५ सदस्यीय समितिका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको छ ।

८. अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमै राख्न अनुमति
अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

९. अमेरिका र चीन भ्रमण सफल भएको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अमेरिका र चीन भ्रमण सफल भएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा दुवै देशको भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भएका उच्चस्तरका द्विपक्षीय वार्ताबाट छिमेकीहरुका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको पनि जनाए ।

१०. माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जित
अभिनाश बोहराले ६ विकेट लिएपछि चीनमा जारी एसियाली खेलकुदमा नेपालले मल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा मात्र ७४ रनमा अलआउट हुन पुगको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप