आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनअपेक्षाअनुसार काम गर्न नसके वर्तमान राजनीतिक व्यवस्थाको औचित्य हुन्न: उपप्रधानमन्त्री श्रेष्ठ

सोमबार, १५ असोज २०८०, १४ : १०
सोमबार, १५ असोज २०८०

मकवानपुर । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसके वर्तमान राजनीतिक व्यवस्थाको औचित्य नरहने बताएका छन् । नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्न नसकेको खण्डमा लामो संघर्ष पछि प्राप्त भएको राजनीतिक व्यवस्था परिवर्तनको औचित्य नहुने उनको भनाइ छ । 

हेटौँडामा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभावित बनाउने प्रयासहरू भइरहेको दाबी गरे । सरकारले सञ्चालन गरेको सुशासनको अभियानविरुद्ध सङ्गठित शक्ति आक्रामक ढङ्गले प्रस्तुत भइरहेको उनको दाबी थियो । 

‘जनताले अपेक्षा गरे अनुसारको काम सरकारले गर्न नसके वर्तमान व्यवस्था परिवर्तनको औचित्य रहँदैन । जनताले सरकारको अनुभूति गर्न पाए मात्र व्यवस्था प्रतिको औचित्य रहन्छ ।’ उनले भने, ‘सरकारले सुरु गरेको सुशासनको अभियानलाई तुहाउन खोजिँदै छ । सुशासन अभियानविरुद्ध सङ्गठित शक्ति आक्रामक ढङ्गले प्रहार भइरहेका छन् । तर, पनि सरकार सुशासनको अभियानमा निरन्तर चलिरहन्छ । भ्रष्टाचार र तस्करी नियन्त्रणको प्रयास निरन्तर रूपमा चलिरहन्छ । यो अभियानमा पूर्ण विराम लाग्नेवालामा छैन ।’

गृह मन्त्रीको निरन्तरता र भ्रष्ट्राचारको निरन्तरता तैं चुप मैँ चुपको यथास्थिति कायम हुन नसक्ने उनले बताए । सरकारले जुनसुकै परिस्थितिमा सुशासन र भ्रष्ट्राचारविरुद्धको अभियानलाई जारी राख्ने उनको भनाई छ ।

उनले सरकारले सुशासन अभियानअन्तर्गत ललिता निवास, मिटर ब्याज, भुटानी शरणार्थी, सुन तस्करीसम्बन्धी भ्रष्टाचारका विभिन्न घटनाको छानबिन गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप