आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनएसएल खेल्न नेपाल फर्कने विमल घर्तीमगरकाे संकेत

सोमबार, १५ असोज २०८०, १६ : ४७
सोमबार, १५ असोज २०८०

काठमाडौँ । गत शुक्रबार अस्ट्रेलिया प्रस्थान गरेका राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर विमल घर्तीमगरले फुटबल खेल्न पुनः नेपाल फर्कने संकेग गरेका छन् । उनले निकट भविष्यमा हुने नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल आउने संकेत गरेका हुन् । 

नेपाल सुपर लिग आगामी मंसिरमा सुरु हुनेछ । चितवन फुटबल क्लबले विमललाई ‘आइकनिक प्लेयर’ का रुपमा आफ्नो टोलीमा समावेश गरेको छ । विमलले आफूलाई पुनः आफ्नो माटोमा खेल्ने अवसर प्रदान गरेकोमा चीतवन एफसीलाई धन्यवाद दिएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘जिन्दगीमा अनेकौं उतारचढाव आउँछन् !! उमेरको बढ्दो क्रमसँगै जिम्मेवारी र व्यवहारिकपन पनि बढ्ने रहेछ !! त्यसैक्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राणप्यारो देशप्रतिको माया र लगावलाई एकक्षण थाँती राखेर अस्ट्रेलिया आउने निधो गरेँ !! तर पनि मलाई माया गरेर पुनः मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सूवणर् मौका दिनु भएकोमा चितवन एफसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु !! यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय व्यक्तित्व लगायत मेरा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक नमन टक्राउन चाहन्छु !! जय नेपाल जय नेपाली फुटबल !!’

पछिल्लो समय राष्ट्रिय टोलीका थुप्रै फुटबल खेलाडी विदेश पलायन भएका छन् । लामो समय देशका लागि खेलेका फुटबल खेलाडी एकपछि अर्को गर्दै विदेश पलायन हुन थालेपछि त्यसको प्रत्यक्ष असर नेपाली खेलकुदमा परेको छ ।

अधिकांश नेपाली फुटबल खेलाडी अस्ट्रेलिया गएका छन् । यही क्रमलाई पछ्याउँदै विमल पनि गत शुक्रबार अस्ट्रेलिया लागेका थिए । सुरक्षित भविष्यको सपना संगाल्दै अस्ट्रेलिया जाने खेलाडीको सूचीमा विमलको नाम पनि जोडिएको हो । 

केही समयअघि मात्र वैवाहिक बन्धनमा बाँधिएका विमलले अस्ट्रेलिया प्रस्थान गर्नुअघि यस विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पनि बताएका थिएनन् । २५ वर्षीय विमल कम उमेरमै राष्ट्रिय टोलीमा ‘डेब्यू’ गर्ने खेलाडी हुन् । उनले सन् २०१२ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो खेल बंगलादेश विरुद्ध खेलेका थिए । विमलले देशका लागि ३९ खेल खेलेर नौ गोल गरेका छन् । 

विमलले देशका लागि उमेर समूहका विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाएका छन् । हालसम्म करिब ५० जना फुटबल खेलाडी विदेश पलायन भइसकेका छन् । अधिकांश नेपाली फुटबल खेलाडी अस्ट्रेलिया जाने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप