आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न तीन दिनको समय थप

सोमबार, १५ असोज २०८०, २० : ४७
सोमबार, १५ असोज २०८०

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न तीन दिनको समय थप गरेको छ । सोमबार प्रधानाध्यापकहरूसँग छलफल गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले नियामकको निर्देशन पालना गर्दै आफ्नो कर्तव्यपालनामा लाग्न आग्रह गरे । 

गाउँपालिकाले गरेको निर्णय कार्यान्वयनमा विवाद भएको सन्दर्भमा गाउँपालिकाले प्राधानाध्यापकहरुसँग  छलफल गरेको हो । सो क्रममा प्रधानाध्यापकहरूले केही समय थप्न आग्रह गरेपछि कार्यान्वयनको सबै प्रक्रिया पूरा गर्न तीन दिनको समय थप गर्ने निर्णय भएको अधिकारीले जानकारी दिए । 

उच्च अदालत, पाटनले अन्तरिम आदेश खारेज गरेपछि गत बिहीबार गाउँपालिकाले विद्यालयहरूलाई ५ दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गरिसक्न निर्देशन दिएको थियो । शिक्षकहरूको तलब, चाडपर्व खर्च लगायत सेवा सुविधाको रकम सरुवा कार्यान्वयन गरिसकेपछि मात्रै निकासा हुने भएकाले पनि कार्यान्वयनमा ढिला गर्न नहुने अध्यक्ष अधिकारीले प्रधानाध्यापकहरूलाई बताए । 

गाउँको शैक्षिक गुणस्तर उकास्ने अभियान अन्तर्गत एक वर्षको अध्ययन र अनुगमनपछि गाउँपालिकाले शिक्षकहरूलाई चलायमान बनाउन कम्तीमा पाँच वर्षमा एकपटक सबै शिक्षकको सरुवा गर्नुपर्ने निष्कर्ष सहित परीक्षणका रूपमा एक तिहाइ शिक्षकको काज सरुवा गरेको अधिकारीको भनाइ छ । 

सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संघ संगठनको अगुवाइमा उच्च अदालत पाटनमा रिटमा दायर भएको थियो ।  पहिलो सुनुवाइमा अदालतले अन्तरिम आदेश दिएपनि बुधबार भने खारेज गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप