आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

कर्णालीमा केपी ओलीको ‘सिग्नल’ ले काम गरेन, को हुन् अध्यक्षमा निर्वाचित शाह  ?

सोमबार, १५ असोज २०८०, २१ : ३५
सोमबार, १५ असोज २०८०

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरीत एमाले कर्णाली प्रदेशको अध्यक्षमा स्थायी कमिटी सदस्य यामलाल कँडेल गुटका गुलाबजङ्ग शाह निर्वाचित भएका छन् । शाह महासचिव शंकर पोखरेलका विश्वास पात्रका रुपमा चिनिन्छन् ।

पोखरेलले नै कुनै बेला सल्यानका प्रकाश ज्वालालाई कमजोर पार्न शाहलाई नै अग्रसर गराएका थिए । त्यही बेलादेखि शाहले पोखरेललाई नै आफ्नो नेता मान्दै आएको शाह निकट नेताहरु बताउँछन् ।

सोमबार सम्पन्न मतगणनाअनुुसार शाह आफ्ना प्रतिद्धन्द्धी मीनबहादुर शाहीलाई १६२ मतान्तरले पराजित गर्दै प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनमा जम्मा ६१६ मतमध्ये ६०९ मत खसेको थियो ।

त्यसमा ५८० मत सदर रहेको थियो भने २४ मत बदर भएको थियो  । जसमध्ये शाहको पक्षमा ३७९ मत आएको छ । यस्तै शाहीको पक्षमा २०७ मत आयो ।

अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत मात्र पाए । तीन जना उम्मेदवार भएपनि कर्णालीमा खास दुई पक्ष्ीाय प्रतिस्पर्धा थियो । गुलाबजङ्ग शाह प्रदेशमा स्थायी कमिटी सदस्य यामलाल कँडेलको गुटबाट अध्यक्षका उमेदवार थिए भने गोरख बोगटी–विनोदकुमार शाहको टिमबाट कालिकोटका शाही उम्मेदवार थिए ।

नेतृत्वका लागि सल्यानका शाह र कालिकोटका शाहीबीचको प्रतिस्पर्धालाई नेताहरुले प्रतिष्ठाको विषय बनाएका थिए । अध्यक्ष ओलीले शाहीलाई नै अगाडि ल्याउने हरदम प्रयास गरेका थिए । तर, ओलीको प्रयास विफल भयो भने यामलाल कँडेलले प्रतिष्ठाको लडाइँ जितेका छन् ।

कर्णालीमा यामलाल कँडेल बलियो नेता हुँदाहुँदै केपी ओलीले कँडेललाई जहिल्यै असहयोग गर्दै आएका थिए । कँडेलले केपी ओलीकै चाहना विपरीत कर्णालीमा शाहलाई जिताएर आफ्नो वर्चश्व कायमै रहेको जवाफ पार्टी केन्द्रलाई दिएका छन् ।  

महासचिव पोखरेलले बिहीबार सर्वसम्मतको प्रयास गर्दा शाहीलाई ‘ग्राउण्ड’बाट तपार्इँको राम्रो सुझाव आएन गुलाबजीको टिममा मिलेर जानुुस् भनेर सुझाव दिएका थिए । तर, उनले टिमका नेता बोगटीको जोडबलमा निर्वाचन लडने तयारी गरेका थिए । यद्यपि उनी पराजित भए । यस्तै अन्य पदमा पनि यामलाल कँडेलको टिमले जितेको छ । उपाध्यक्षमा कँडेल टिमका टेकराज पछाई, सचिवमा धुर्वकुमार शाही, उपसचिवमा  रमेश कुमार शाही, रबिन्द्र राज शर्मा निर्वाचित भएका छन् । 

अध्यक्षमा निर्वाचित शाह को हुन् ? 
गुलाबजङ्ग शाह कर्णालीको एमालेभित्र हक्की र निर्णय लिन सक्ने नेताका रुपमा चिनिन्छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा वि.सं.२०२२ सालमा जन्मिएका शाहको राजनीतिक यात्रा आफैमा संघर्षमय छ । ०४० सालमा अनेरास्ववियु पाँचौमा आवद्ध भएर राजनीतिक यात्रा थालनी गरेका थिए, शाहले ।

त्यसयता उनी राजनीतिमा निरन्तर सक्रिय छन् । कर्णालीको एमालेभित्र प्रभावशाली नेताको छवि बनाएका शाहले ०४७ सालमा नेपाल कर्मचारी संगठन बाँकेको जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका थिए । ०५० सालमा सल्यान–काठमाडौँ सम्पर्क मञ्चमा आबद्ध भएका थिए ।

०५३ सालमा युवा संघ नेपालको केन्द्रीय सदस्य बने । विस्तारै राजनीतिमा फराकिलो छवि बनाउँदै अघि बढेका उनी नेकपा माले सल्यानको तेश्रो जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित हुँदै ०५६ सालमा सल्यान–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए ।

०५८ मा नेकपा माले र नेकपा एमालेको समीकरण भयो । त्यसबेला उनले एमालेको सल्यान जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी पाएका थिए ।  ०६६ सालमा सल्यानबाट नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि सदस्यमा निर्वाचित भएका उनी ०७० सालमा नेकपा एमालेबाट संविधानसभा सदस्यका लागि सल्यान क्षेत्र– १ बाट उम्मेदवार बनेका थिए ।

एमालेको नवौँ महाधिवेशनबाट २०७१ सालमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी संगठन निर्माण र पार्टीको काममा सक्रियताका साथ अग्रसर भए । शाह त्यतिखेर एमाले सल्यानका पार्टी इन्चार्ज समेत थिए । ०७४ मा उनी कर्णाली प्रदेशसभाको निर्वाचनमा सल्यान (क) बाट निर्वाचित भए ।

कर्णाली प्रदेशमा तत्कालीन नेकपाभित्रको विवादका बेला पनि शाहको भूमिका महत्वपूर्ण रहेको थियो । उनकै जिल्लाका प्रकाश ज्वाला लगायतका नेताहरु एमाले विरुद्ध उभिँदा शाह यामलाल कँडेलको पक्षमा उभिएका थिए ।

नेकपा हुँदा पनि प्रमुख सचेतक बनेका शाह नेकपा विभाजनपछि भने एमाले संसदीय दलको सचेतकको भूमिका थिए । 

०७८ मा नेकपा एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनले पार्टीको पोलिटब्युरो सदस्यको महत्वपूर्ण जिम्मेवारी पाए । पार्टीका कर्णाली प्रदेश सह–इन्चार्ज समेत रहिसकेका शाह ०७९ को प्रदेशसभा निर्वाचनमा पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप