आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

एकताको पत्राचारले थप चिसियो प्रचण्ड–बाबुराम सम्बन्ध

बाबुरामलाई कमजोर बनाएर पार्टी विभाजन गर्न खोजेको आरोप झेल्दै प्रचण्ड
सोमबार, १५ असोज २०८०, २२ : ३१
सोमबार, १५ असोज २०८०

काठमाडौँ । पार्टी गठन भएको १४ महिनामै डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)  विभाजन उन्मुख भएको छ । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पूर्वसहमतिबाट भट्टराई पछि हटेपछि नेसपा विभाजनको डिलमा पुगेको हो ।

गत वर्ष असार ३० गते जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईसहित ९ जना कार्यकारिणी समिति सदस्यलाई निष्कासन गरेपश्चात भट्टराईले साउनको पहिलो साता नयाँ दल (नेसपा) खोलेका थिए ।

साउन २१ गते बसेको नेसपाको केन्द्रीय समितिको पहिलो बैठकले भट्टराई र महिन्द्रराय यादवलाई अध्यक्ष चयन गरेको थियो । सोही बैठकले १८९ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो ।

यस्तै, गंगानारायण श्रेष्ठ (सहध्यक्ष), हिसिला यमी (उपाध्यक्ष),  भक्तबहादुर शाह (उपाध्यक्ष), दुर्गा सोव (उपाध्यक्ष) र रमेश प्रसाद यादव (महासचिव) नियुक्त भएका थिए ।

माओवादीसँग एकताको विषयमा भट्टराई र यादवबिच तीब्र मतभेद

तर माओवादी केन्द्रसँग पार्टी एकता गर्ने/नगर्ने विषयमा नेसपाका अध्यक्षद्वय भट्टराई र यादव पक्षबिच अन्तरविरोध बढेपछि भट्टराईले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । मंगलबारसम्म जारी रहने बैठकले पार्टी एकताको विषय टुङ्गो लगाउने एक नेताले बताए ।

‘पछिल्लो समय माओवादीसँग पार्टी एकताको विषयलाई लिएर अन्तरविरोध बढेको छ । यस विषयमा अब बैठकले टुङ्गो लगाउँछ । समाजवादी पार्टी बनाउने विषयमा हाम्रो दलमा कुनै विवाद छैन । तर एकताको मोडालिटी, मार्गदर्शक सिद्धान्तको विषयमा मतभेद छ । यी सबै विषयमा गम्भीर छलफल हुन्छ’, ती सदस्यले भने । 

मंसिर ४ मा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्तनामा गरी नेसपाका नेता महिन्द्रराय यादवसहितका नेता गोलाकारभित्र हँसिया हथौडा चिह्न लिएर चुनावमा उठेका थिए । निर्वाचनमा यादव सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । यस्तै, गंगानारायण श्रेष्ठ सिन्धुली– २(२)बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भए । काठमाडौँ–७ बाट बाबुराम भट्टराईकी छोरी मानुषी पराजित भइन् ।

साविक चितवन–३ असुरक्षित देखिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा–२ रोजेका थिए । प्रचण्डको इच्छालाई समर्थन गर्दै भट्टराईले लगातार जित्दै आएको उक्त क्षेत्र त्याग गरे । उनलाई जिताउनका लागि निर्वाचनमा भट्टराई आफैँ गाउँगाउँ पुगेका थिए । विजयी भए लगत्तै प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भए । तर जितेपछि प्रचण्डबाट धोका भएको भट्टराई पक्षका नेताहरूको आरोप छ ।

‘एउटै समाजवादी केन्द्र बनाउने विषयमा निर्वाचनअघि सहमति भएको हो । हाम्रा अध्यक्षज्यूले लगातार जित्दै आएको निर्वाचन क्षेत्र छोडेर प्रचण्डलाई धेरै त्याग गर्नुभयो । तर निर्वाचन जितेपश्चात उहाँले ठूलो धोका दिनुभयो’, केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठले भने, ‘यतिमात्र नभइ उहाँले पार्टी विभाजन गर्ने, बाबुरामलाई अपमान गर्ने योजनाका साथ षड्यन्त्रपूर्वक ढङ्गबाट अर्का अध्यक्षलाई एकताको पत्र पठाउनुभयो । यसले एकतालाई थप जटिल बनाएको छ ।’

भदौ २५ गते बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले नेसपासँग पार्टी एकताका लागि आफ्नो पार्टीको नाममा कोष्ठभित्र रहेको ‘माओवादी केन्द्र’ हटाउने सम्बन्धमा महाधिवेशनमा छलफल गर्न सकिने निर्णय गरेअनुसार सोही व्यहोराको पत्र भदौ ३० गते कार्यकारी अध्यक्ष बाबुरामलाई बाइपास गरी दोस्रा अध्यक्ष यादवलाई पठाएको थियो । माओवादीको पत्राचारबाट थप चिढिएका भट्टराई पक्षधर नेताहरू माओवादीसँग पार्टी एकता नगर्ने पक्षमा उभिएका छन् ।

भट्टराई भारत भ्रमणमा रहेको बेला पारेर पार्टी विभाजन गर्न प्रचण्डले षड्यन्त्र गरेको नेताहरूको आरोप छ । माओवादीले पत्राचार गरेकै दिन भट्टराई ७ दिने भारत भ्रमणमा निस्किएका थिए । उनी भारतबाट फर्किए लगत्तै बैठक बस्ने भनिए पनि अर्का अध्यक्ष यादव चीन भ्रमणमा निस्किएकाले बैठक बस्न ढिलो भएको सचिवालयका एक सदस्यले बताए । माओवादीसँग कुनै हालतमा एकता नगर्ने गरी भट्टराई पक्षका नेताहरूले लबिङ गरिरहेको स्रोतको दाबी छ ।

‘समाजवादी धारका अन्य पार्टीसँग पार्टी एकता गर्न सकिने तर कुनै हालतमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुहुँदैन भन्दै भट्टराई पक्षधर नेताहरूले लबिङ गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसार केन्द्रीय समितिमा भट्टराई पक्ष नेताहरू अल्पमतमा छन् ।

यता माओवादीसँग एकताको पूर्वसहमतिबाट दायाँबायाँ गर्न नहुने भन्दै यादव पक्षधर नेताहरूले भट्टराईमाथि निरन्तर दबाब बढाइरहेका छन् । खासगरी माओवादीबाट चुनाव जितेका अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठले एकताका लागि दबाब दिएको एक नेताले बताए । उनका अनुसार सकेसम्म भट्टराईसहित सिङ्गो पार्टी एकतामा सहभागी हुने, यदि भट्टराईले नमाने बहुमत सदस्य मिलेर माओवादीसँग एकतामा सहभागी हुने तयारी गरेका छन् ।

‘हाम्रो प्रयास डाक्टर साबसहित सिङ्गो पार्टी एकता प्रक्रियामा जोडिने हुन्छ । यस विषयमा पार्टीभित्र घनीभूत रूपमा छलफल हुन्छ । उहाँले मान्नु भएन भने बहुमत सदस्यहरू एकताको पक्षमा उभिन्छन्’, ती नेताले भने ।

यसअघि अध्यक्ष यादवले पनि एकताका लागि पूर्वसहमति तोड्न नहुने रातोपाटीसँग बताएका थिए । उनले माओवादीसँग एकता गर्न निर्वाचन अघि नै सहमति भएको स्मरण गराउँदै अहिले आएर एकता गर्दिन भन्दा राजनीतिक बेइमानी हुने बताएका थिए ।

भट्टराईलाई एक्ल्याउने माओवादीको रणनीति

माओवादी जनयुद्धदेखि अन्तरसंघर्ष र सहकार्य गर्दै आएका प्रचण्ड–बाबुरामबिच फेरि सम्बन्ध चिसिएको छ । खासगरी समाजवादी मोर्चा गठनमा प्रचण्डबाट धोका पाएको भट्टराईको गुनासो छ । एकतालाई बल पु¥याउने भन्दा पनि भत्काउनेतर्फ भट्टराई उद्यत रहेको प्रचण्डको बुझाइ छ ।

गत वर्ष असोज २३ गते गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गर्दैगर्दा बाबुरामसँगको एकताले विशेष महत्त्व राख्ने अभिव्यक्ति दिएका प्रचण्डले एक वर्षपछि उनलाई एक्ल्याउने रणनीति बनाएका छन् । माओवादीका एक उच्च नेताका अनुसार पछिल्लो समय भट्टराई एकता गर्न तयार नभएपछि जानीबुझीकनै यादवलाई पत्राचार गरिएको हो । नेसपामा बहुमत सदस्य माओवादीसँग एकता गर्ने पक्षमा रहेको पनि ती नेताले दाबी गरे ।

‘भट्टराई पक्ष एकतामा नजोडिए पनि त्यहाँभित्रका बहुमत सदस्य आउने हाम्रो दाबी छ । नेसपासँग पार्टी एकता गर्ने विषयमा मंगलबार बैठकमा छलफल हुन्छ । सकभर एउटै समाजवादी केन्द्र बनाउने विषयमा बाबुरामजी पनि आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ । यद्यपि उहाँ आउनुभएन भने बहुमतसँग पार्टी एकता हुन्छ । त्यसका लागि छलफल जारी छ’, माओवादीका एक उच्च नेताले भने ।

बाबुरामलाई कमजोर बनाएर पार्टी एकता हुँदैन

तर उपाध्यक्ष दुर्गा सोवले प्रचण्डबाट भएको अपमानजनक पत्राचार सच्याएर समाजवादी केन्द्र बनाउन तयार भए एकता प्रक्रिया अगाडि बढ्न सक्ने बताइन् । माओवादीबाट भएको पत्राचार बाबुरामलाई कमजोर बनाउने र अन्तरविरोध चर्काउने खालको भएकाले सच्याउनु पर्ने उनको जिकिर छ ।

‘माओवादी केन्द्रबाट आएको पार्टी एकतासम्बन्धी पत्राचार बाबुरामलाई एक्ल्याउने, कमजोर पार्ने र अन्तरविरोध बढाउने खालको छ । पार्टीको कार्यकारी अध्यक्ष विदेश गएको अवस्थामा अर्का अध्यक्षलाई सम्बोधन गरी पत्राचार हुनु गम्भीर विषय हो । यसबारे बैठकमा गम्भीर छलफल हुन्छ । माओवादीले सो पत्राचार नसच्याएसम्म पार्टी एकता सम्भव छैन’, उनले भनिन् ।

पार्टी एकता गर्ने विषयमा निर्वाचनअघि नै सहमति भए पनि खोलो तरेर लौरो बिर्सिने काम प्रचण्डले गरेको सोवको आरोप छ । समाजवादीको योजनाकार बाबुराम भएको तर मोर्चामा उनलाई नै पाखा लगाउने काम भएको उनको बुझाइ छ ।

‘प्रचण्डका लागि अध्यक्षज्यूले आफूले जित्दै आएको निर्वाचन क्षेत्र त्याग गर्नुभयो, उहाँकै योजनामा समाजवादी धारको विकास भयो’, उनले भनिन्, ‘तर मोर्चामा उहाँलाई नै षड्यन्त्रमुलक तरिकाले पाखा लगाउने काम भयो । त्यसैले उहाँको मन भाँचिएको छ ।’

उनले पार्टी एकताको विषयमा कोही पनि विरोधी नभए पनि अध्यक्षलाई बाइपास गरेर अपमानजनक तरिकाले पत्र पठाउनुले गम्भीर बनाएको बताइन् । बाबुरामबाट चुनौती देखिएकाले प्रचण्ड आफैँले एकता गर्न नचाहेको उनको आरोप  छ ।

नेसपासहितका पूर्वमाओवादी घटकसँग पार्टी एकताका लागि माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली बनाएको थियो । यस्तै नेसपाले सहअध्यक्ष श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको थियो । पछिल्लो समय दुवै पक्षको वार्ता टोलीसँग कुनै सम्वाद नभएको सोवले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप