आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

कोशीमा किचलो : ठूला दलका संसदीय दलभित्रै दलका नेताप्रति असन्तुष्टि

दलका नेतालाई मुख्यमन्त्री बन्ने पात्रको विकल्प खोज्न सांसदहरुको दबाब
मङ्गलबार, १६ असोज २०८०, ०८ : ३७
मङ्गलबार, १६ असोज २०८०

विराटनगर । कोशी प्रदेशका तीन ठूला दलको संसदीय दलका नेताप्रति ती दलभित्रकै सांसद र नेताहरुको असन्तुष्टि चुलिएको छ । नेपाली कांग्रेसको विवाद त सतहमा नै आइसकेको छ । दलका नेता उद्धब थापालाई उक्त जिम्मेवारीबाट हटाउनु पर्ने मत संसदीय दलमा र कांग्रेसभित्रै बलियो बन्दै गएको छ ।

गत शुक्रबार बसेको संसदीय दलको बैठकमा अबको सरकार दलका नेता उद्धब थापाकै नेतृत्वमा हुनुपर्छ भनेर निर्णय गर्न खोज्दा हंगामा नै भएको थियो । स्रोतले दिएको जानकारी अनुसार अन्य निर्णय लेख्न सहमत भएपनि दलका नेता थापाकै नेतृत्वमा भनेर नलेख्न चर्को दबाब परेपछि उक्त विषयमा कुनै निर्णय नै हुन सकेन । 

एमालेका तर्फबाट मुख्यमन्त्री रहेका हिक्मत कार्की नेतृत्वको सरकारले २० असोजसम्ममा विश्वासको मत लिइसक्नु पर्छ । सोही विषयलाई मध्यनजर गर्दै आगामी १७ गतेका लागि प्रदेशसभाको चौथो अधिवेशन आह्वान भइसकेको छ । 

कार्कीले उक्त समयावधिमा विश्वासको मत लिन नसके संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको आह्वान हुनेछ । त्यसबेला उद्धब थापालाई नै अगाडि सार्न नहुने काँग्रेसकै सांसद केदार कार्की बताउँछन् । ‘पटक पटक विश्वासको मत लिन नसकेको सबैले देखेकै हो । अब पनि उहाँलाई नै दिनुपर्छ भन्ने हुँदैन,’ उनले भने, ‘उहाँको नेतृत्वमा सरकार गठन गर्ने प्रयास भए प्रदेशसभा विघटन हुने र मध्यावधिमा जान सक्ने सम्भावना बढ्छ ।’

उता, एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका विरुद्धमा पनि भित्रभित्रै चलखेल सुरु भएको छ । यसअघि नै असन्तुष्ट रहेका एमालेका सांसदहरुले प्रदेश अधिवेशनको सम्मुखमा उक्त विवाद झिक्न चाहेका थिएनन् । प्रदेश अधिवेशन समाप्त भएसँगै अब कार्की विरुद्धको आवाज चर्को हुने एक नेता बताउँछन् । 

उक्त कुराको छनक प्रदेश अधिवेशनमै देखिएको छ । कार्कीले प्रदेशमा घनश्याम खतिवडालाई प्रदेश अध्यक्ष बनाउनु पर्छ भनेर अर्का प्रतिस्पर्धी विनोद ढकालविरुद्ध खुलेरै लागेका थिए । मतदान गराउने समयबारे ढकालसँग कार्कीको चर्काचर्की नै परेको स्रोत बताउँछ । 

विवाद बढ्दै गएपछि ढकालले कार्कीलाई ‘तपाईले प्रदेश अधिवेशनमा कसलाई जिताउने, कसलाई हराउने भन्नेतिर लाग्नुभन्दा विश्वासको मत कसरी लिने भन्नेतिर चिन्ता गर्नु’ भनेर बोली बन्द गराएका थिए । 

यसअघि कार्कीले विश्वासको मत लिने समयावधि भन्दा १३ दिन अगाडि चारमन्त्री थप गरेका थिए । कार्कीले अन्तिम समयमा मन्त्रीहरु नियुक्त गर्नु भनेको एमाले अधिवेशन प्रभावित पार्ने र दलभित्र आफ्नो विरुद्धमा बढ्दै गएको असन्तुष्टिको आवाज साम्य पार्नु थियो । मन्त्रीपरिषद्मै सहभागी एक जना एमाले नेताले उक्त कुराको पुष्टि गरे । 

‘एमालेबाट पनि नयाँ नेतृत्व निर्माण हुन सक्छ । उपधारा (५) मा पुगेपछि भने हिक्मतजीको सम्भावना घट्छ । पात्र फेरिनु पर्यो नि त । हिक्मतजीमा समर्थन पाउने भए त अहिले आउँथ्यो नि त भन्ने प्रश्न आउँछ,’ उनले भने, ‘त्यस्तो अवस्थामा एमालेको अर्को पात्र आउन सक्छ । माओवादी, काँग्रेस, एसको पनि आउन सक्छ ।’

यस्तै प्रदेशसभाको तेस्रो ठूलो दल माओवादी केन्द्रमा पनि विवाद नभएको होइन । माओवादी केन्द्रले अहिलेसम्म संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बोलाई चयन गर्नेबाहेक अरु जिम्मेवारी दिन सकेको छैन । 

दलका उपनेता, प्रमुख सचेतक, सचेतकलगायतको पद माओवादी केन्द्रमा खाली छ । विवादकै कारण दलमा जिम्मेवारी बाँडफाँट हुन नसकेको माओवादी नेताहरु बताउँछन् । 

यद्यपि नयाँ सरकार गठनका क्रममा मुख्यमन्त्री आफ्नो पार्टीको भागमा आए दलका नेता इन्द्रबहादुर आङ्बो नै हुनेमा सबै सहमत छन् । माओवादी सांसद दुर्गाप्रसाद चापागाईंले आफ्नो पार्टीले दलमा पदाधिकारी चयन गर्न बाँकी रहेको भन्दै घुमाउरो पाराले असन्तुष्टि जनाए । ‘अहिले सबै निर्णय र दलको प्रतिनिधित्व दलका नेताले नै गर्दै आउनु भएको छ । हामीले दललाई पूर्णता दिन आग्रह गरिरहेका छौं,’ उनले भने । 

माओवादी केन्द्रमा सहमतीय सरकार गठन गर्नुपर्ने धारणा सार्वजनिक ढंगले राख्दै आएका चापागाईं आङ्बोसँग असन्तुष्ट रहेको चर्चा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप