आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दिल्सानदेखि तेन्दुल्करसम्म

मङ्गलबार, १६ असोज २०८०, ११ : ३४
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका खेलहरू भारतका विभिन्न सहरका १० वटा रङ्गशालामा खेलाइने छन् । 

यस पटक विश्वकपमा १० वटा टोलीले सहभागिता जनाउँदै छन् । विश्वकप अवधिभरमा कुल ४८ वटा खेल खेलाइने छ । विश्वकपको उद्घाटन खेल साबिक विजेता इङ्ल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच हुनेछ ।

१३औँ संस्करणको मिति नजिकिँदै गर्दा हालसम्म एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने १० ब्याट्सम्यानहरूको बारेमा यहाँ उल्लेख गरिएको छ । एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा श्रीलङ्काका तिलकरत्ने दिल्सानदेखि भारतका सचिन तेन्दुल्करसम्म रहेका छन् । 

तिलकरत्ने दिल्सान (श्रीलङ्का) 

तिलकरत्ने दिल्सान श्रीलङ्काली टोलीका पूर्वब्याट्सम्यान हुन् । उनले श्रीलङ्काका लागि सन् २००७ देखि सन् २०१५ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यसबीचमा उनले श्रीलङ्काली टोलीका लागि दुईवटा आईसीसी एकदिवसीय विश्वकप पनि खेलेका थिए । 

Tillakaratne Dilshan

सन् २०११ र सन् २०१५ को एकदिवसीय विश्वकपमा उनी श्रीलङ्काली टोलीका महत्त्वपूर्ण सदस्य थिए । एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा उनी १०औँ स्थानमा छन् । उनले एकदिवसीय विश्वकपमा ५२.९५ को औसतले कुल एक हजार एक सय १२ रन बनाएका छन् ।

दिल्सानले एकदिवसीय विश्वकपमा चार शतक र चारवटा अर्धशतक पनि बनाएका छन् । एकदिवसीय विश्वकपको एउटै खेलमा उनको उत्कृष्ट स्कोर अविजित एक सय ६१ रन हो । उनले सन् २०१५ को विश्वकपमा बङ्गलादेशविरुद्ध उक्त रन बनाएका थिए । 

एकदिवसीय विश्वकपको इतिहासमा कुनै पनि श्रीलङ्काली ब्याट्सम्यानले एकै पालीमा बनाएको यो सर्वाधिक रन पनि हो । सन् २०११ को विश्वकपमा उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा थिए । उनले त्यो विश्वकपमा नौ खेल खेल्दै कुल पाँच सय रन बनाएका थिए ।

सकिब अल हसन (बङ्गलादेश) 

एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा सकिब अल हसन नवौँ नम्बरमा छन् । सन् २००७ देखि सन् २०१९ को बीचमा उनले बङ्गलादेशका लागि चारवटा एकदिवसीय विश्वकप खेलिसकेका छन् । 

उनी यतिबेला देशका लागि पाँचौँ एकदिवसीय विश्वकप खेल्ने तयारीमा छन् । एकदिवसीय विश्वकपको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा माथिल्लो १० स्थानमा रहेका ब्याट्सम्यानमध्ये सकिब अल हसन मात्र सक्रिय खेलाडी हुन् । 

Shakib Al Hasan

सकिब अल हसन १३औँ विश्वकपमा बङ्गलादेशी टोलीको कप्तानको भूमिकामा छन् । उनले हालसम्म एकदिवसीय विश्वकपमा ४५.८४ को औसतले कुल एक हजार एक सय ४६ रन बनाएका छन् । उनले विश्वकपमा दुई शतक १० वटा अर्धशतक बनाएका छन् । 

उनी सन् २०१९ को एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा तेस्रो स्थानमा रहेका थिए । त्यो विश्वकपमा सकिब अल हसनले आठ खेल खेल्दै कुल ६०६ रन बनाएका थिए । उनले विश्वकपको एउटै खेलमा बनाएको सर्वाधिक स्कोर अविजित एक सय २४ रन हो । 

ज्याक्स कालिस (दक्षिण अफ्रिका)

आफ्नो समयका प्रभावशाली खेलाडी हुन्– ज्याक्स कालिस । उनले दक्षिण अफ्रिकाका लागि सन् १९९६ देखि सन् २०११ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । आईसीसी एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी आठौँ स्थानमा छन् । 

ज्याक्स कालिसले दक्षिण अफ्रिकाका लागि ४५.९२ को औसतमा कुल एक हजार एक सय ४८ रन बनाएका छन् । उनले एकदिवसीय विश्वकपमा एक शतक र नौवटा अर्धशतक पनि हिर्काएका छन् । एकदिवसीय विश्वकपको एउटै खेलमा उनले बनाएको सर्वाधिक स्कोर अविजित एक सय २८ रन हो ।

Jacques Kallis

उनी करिब दुई दशकसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकी टोलीको मध्यक्रमको ब्याट्सम्यानको भूमिकामा देखा पर्थे । उनले दक्षिण अफ्रिकाका लागि पाँचवटा एकदिवसीय विश्वकप खेलेका थिए । उनले अन्तिम पटक सन् २०११ मा एकदिवसीय विश्वकप खेलेका थिए । 

सन् १९९६ को एकदिवसीय विश्वकप खेल्दा ज्याक्स कालिस केवल २० वर्षका थिए । उनले एकदिवसीय विश्वकपमा कुल ३६ खेल खेलेका छन् । सन् २००७ को विश्वकपमा उनले ८०.८३ को औसतले कुल चार सय ८५ रन बनाएका थिए । 

सनथ जयसूर्या (श्रीलङ्का) 

श्रीलङ्काली टोलीका पूर्वखेलाडी हुन्– सनथ जयसूर्या । उनीसहितको टोलीले सन् १९९६ मा श्रीलङ्कालाई एकदिवसीय विश्वकपको उपाधि चुमाएको थियो । त्यसयता श्रीलङ्काले एकदिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन । 

जयसूर्या एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा सातौँ स्थानमा छन् । उनले सन् १९९२ देखि सन् २००७ सम्म श्रीलङ्काका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । त्यस अवधिमा उनले श्रीलङ्काका लागि पाँचवटा विश्वकप खेलेका थिए । 

Sanath Jayasuriya

जयसूर्याले एकदिवसीय विश्वकपमा कुल ३८ वटा खेल खेलेका थिए । उनले एकदिवसीय विश्वकपमा ३४.२६ को औसतले कुल एक हजार एक सय ६५ रन बनाएका छन् । एकदिवसीय विश्वकपमा उनले तीन शतक र ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । 

एकदिवसीय विश्वकपको एउटै खेलमा उनले बनाएको उच्च स्कोर भने एक सय २० रन हो । सन् २००३ को विश्वकपमा उनी श्रीलङ्काली टोलीको कप्तानको भूमिकामा थिए । त्यही विश्वकपमा उनले न्युजिल्यान्डविरुद्ध एक सय २० रन बनाएका हुन् । 

उनको कप्तानीमा सन् २००७ को विश्वकपमा श्रीलङ्काली टोली फाइनलसम्म पुगेको थियो । त्यो विश्वकपमा जयसूर्याले कुल चार सय ६७ रन बनाएका थिए । त्यो विश्वकपमा उनले दुईवटा शतक पनि हिर्काएका थिए । 

क्रिस गेल (वेस्ट इन्डिज) 

दुर्भाग्य, आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करणमा वेस्ट इन्डिज सहभागी छैन । आईसीसी एकदिवसीय विश्वकपको पहिलो र दोस्रो संस्करणको उपाधि विजेता वेस्ट इन्डिजको अनुपस्थितिले धेरै क्रिकेट पारखीलाई निराश पनि बनाएको छ । 

तर एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा वेस्ट इन्डिजका क्रिस गेल छैठौँ स्थानमा आसिन छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आक्रामक ब्याट्सम्यानको छवी बनाएका गेलले सन् २०१९ मा अन्तिम पटक एकदिवसीय विश्वकप खेलेका थिए । 

क्रिस गेलले विश्वकपमा ३५ खेल खेल्दै ३५.९३ को औसतले कुल एक हजार एक सय ८६ रन बनाएका छन् । उनले एकदिवसीय विश्वकपमा दुई शतक र ६ वटा अर्धशतक पनि बनाएका छन् । विश्वकपको एउटै खेलमा उनको उत्कृष्ट स्कोर दुई सय १५ रन हो । 

Chris Gayle

सन् २०१५ को विश्वकपमा जिम्बाबेविरुद्ध उनले एक सय ४७ बलको सामना गरी त्यो रन बनाएका थिए । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा कुनै पनि खेलाडीले एकै पालीमा बनाएको दोस्रो सबैभन्दा बढी रनको कीर्तिमान पनि त्यही हो । 

सर्वाधिक रनको कीर्तिमान भने न्युजिल्यान्डका मार्टिन गप्टिलको नाममा छ । गप्टिलले विश्वकपको एउटै खेलमा अविजित दुई सय ३७ रन बनाएका छन् । गप्टिलले सन् २०१५ को विश्वकपमै क्वार्टरफाइनलमा वेस्ट इन्डिजविरुद्ध एक सय ६३ बलको सामना गरी उक्त रन बनाएका थिए ।

जिम्बाबेविरुद्घको उक्त खेलमा गेल र मार्लोन सामुएल्सले तीन सय ७२ रनको साझेदारी गरेका थिए । एकदिवसीय विश्वकपको इतिहासमा सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान पनि त्यही हो । गेलले एकदिवसीय विश्वकपमा ४९ छक्का र एक सय १६ वटा चौका हिर्काएका छन् । 

एबी डे भिलियर्स (दक्षिण अफ्रिका)

आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन्– दक्षिण अफ्रिकाका एबी डे भिलियर्स । उनले सन् २००७ देखि सन् २०१५ सम्म दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनी दक्षिण अफ्रिकी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरेको थुप्रै सफलताका साक्षी पनि हुन् । 

उनले दक्षिण अफ्रिकाका लागि एकदिवसीय विश्वकपमा २३ खेल खेलेका छन् । विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा उनी पाँचौँ स्थानमा आसिन छन् । उनले विश्वकपमा ६३.५२ को औसतले कुल एक हजार दुई सय सात रन बनाएका छन् । 

AB de Villiers

एकदिवसीय विश्वकपमा उनले चार शतक र ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । सन् २००७, सन् २०११ र सन् २०१५ को विश्वकपमा देशको प्रतिनिधित्व गरे पनि उनले दक्षिण अफ्रिकालाई उपाधि भने दिलाउन सकेनन् । 

सन् २००७ को विश्वकपमा उनले एक सयको स्ट्राइक रेटमा कुल तीन सय ७२ रन बनाएका थिए । सन् २०११ को विश्वकपमा उनले दुईवटा शतक प्रहार गरेका थिए । यसका अतिरिक्त सन् २०१५ को विश्वकपमा उनले कुल चार सय ८२ रन बनाएका थिए । 

त्यो विश्वकपको वेस्ट इन्डिजविरुद्धको खेलमा उनले एक सय ६२ रन बनाएका थिए । वेस्ट इन्डिजविरुद्घको उक्त खेलमा एबी डे भिलियर्स एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै सबैभन्दा कम बलमा एक सय ५० रन प्रहार गर्ने ब्याट्सम्यान पनि बनेका थिए । 

ब्रायन लारा (वेस्ट इन्डिज) 

सर्वकालीन महान् क्रिकेटरहरूको सूचीमा आउँछ ब्रायन लाराको नाम । क्यारेबियन राष्ट्रको क्रिकेटलाई विश्वमा नयाँ चिनारी दिलाउन लाराको भूमिका अविष्मरणीय छ । सन् १९९२ देखि सन् २००७ सम्म क्रिकेट खेलेका लाराले वेस्ट इन्डिजलाई बिर्सि नसक्नुको गुन लगाएका छन् । 

लारा आईसीसी एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरूको सूचीमा चौथो स्थानमा छन् । उनले पाँचवटा विश्वकप खेलेका छन् । सन् १९९२ मा पहिलो पटक एकदिवसीय विश्वकप खेलेका थिए । उनले आफ्नो सक्रिय खेलजीवनमा विश्वकपमा ३४ वटा खेल खेलेका छन् । 

Brian Lara

उनले एकदिवसीय विश्वकपमा ४२.२४ को औसतले कुल एक हजार दुई सय २५ रन बनाएका छन् । एकदिवसीय विश्वकपमा लाराले दुईवटा शतक र सातवटा अर्धशतक पनि प्रहार गरेका छन् । एकदिवसीय विश्वकपको एउटै खेलमा उनको उत्कृष्ट प्रदर्शन एक सय १६ रन हो । 

लाराले सन् १९९६ र सन् २००३ को एकदिवसीय विश्वकपमा एक—एकवटा शतक प्रहार गरेका थिए । उनले आफूले खेलेका प्रत्येक विश्वकपमा कम्तीमा दुई सय रन बनाएका छन् । उनले सन् २००३ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्घ एक सय १६ रन बनाएका थिए । 

कुमार सांगाकारा (श्रीलङ्का) 

आईसीसी एकदिवसीय विश्वकपको सफल ब्याट्सम्यानको सूचीमा पर्छन्, कुमार सांगाकारा । उनी आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । उनले सन् २००३ देखि सन् २०१५ सम्म श्रीलङ्काका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । 

सांगाकाराले एकदिवसीय विश्वकपमा कुल ३७ खेल खेलेका छन् । एकदिवसीय विश्वकपमा उनले ५६.७४ को औसतले कुल एक हजार पाँच सय ३२ रन बनाएका छन् । एकदिवसीय विश्वकपमा उनले पाँच शतक र सातवटा अर्धशतक पनि प्रहार गरेका छन् । 

Kumar Sangakkara

उनी एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा तेस्रो स्थानमा छन् । उनी विश्वकपको इतिहासमा सर्वाधिक सफल विकेटकिपर पनि हुन् । आफूले खेलेका चारवटा एकदिवसीय विश्वकपमा उनले ५४ वटा स्टम्पिङ पनि गरेका छन् । 

सांगाकाराका अतिरिक्त अन्य दुई ब्याट्सम्यानले मात्र एकदिवसीय विश्वकपको इतिहासमा एक हजार पाँच सयभन्दा बढी रन बनाएका छन् । सन् २०१५ को विश्वकप उनका लागि सबैभन्दा सफल रह्यो । त्यो विश्वकपमा उनले १०८.२० को औशतकले कुल पाँच सय ४१ रन बनाएका थिए । उनी यस्तो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी पनि बनेका थिए । 

उनले एकदिवसीय विश्वकपको एकै खेलमा बनाएको उत्कृष्ट स्कोर भने एक सय २४ रन हो । उनले सन् २०११ को विश्वकपमा श्रीलङ्काली टोलीको कप्तानको भूमिका पनि निर्वाह गरेका छन् । त्यो विश्वकपमा उनले ९३ को औसतमा कुल चार सय ६५ रन बनाएका थिए । 

रिकी पोन्टिङ (अस्ट्रेलिया) 

एकदिवसीय विश्वकपको इतिहासमा सर्वाधिक सफल कप्तानको सूचीमा पर्छन्– रिकी पोन्टिङ । उनले कप्तानको भूमिकामा अस्ट्रेलियालाई दुई पटक विश्वकपको उपाधि चुमाएका थिए । पोन्टिङको कप्तानीमा अस्ट्रेलियाले सन् २००३ र सन् २००७ मा विश्वकपको उपाधि उचालेको थियो ।

यसदेखि बाहेक खेलाडीको भूमिकामा पनि उनले अस्ट्रेलियालाई एक पटक विश्वकपको उपाधि जिताएका छन् । उनले सन् १९९६ देखि सन् २०११ मा अस्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनको कप्तानीमा अस्ट्रेलियाले विश्वकपमा खेलेको २९ मध्ये २६ खेलमा जित हात पारेको थियो । 

Ricky Ponting

समग्रमा उनले विश्वकपमा ४६ खेल खेलेका छन् । आफूले खेलेका पाँचवटा विश्वकपमा उनले ४५.८६ को औसतले कुल एक हजार सात सय ४३ रन बनाएका छन् । उनले विश्वकपमा पाँच शतक र ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् ।  

पोन्टिङले सन् २००३ को विश्वकपमा दुईवटा शतक हिर्काएका थिए । एकदिवसीय विश्वकपको एउटै खेलमा उनले बनाएको उच्च स्कोर अविजित एक सय ४० रन हो । उनले सन् २००३ को विश्वकपमा एक सय २१ बलको सामना गरी उक्त रन बनाएका थिए । 

उनका लागि सन् २००७ को विश्वकप सबैभन्दा सफल रह्यो । त्यो विश्वकपको उपाधि पोन्टिङकै कप्तानीमा अस्ट्रेलियाले जितेको थियो । उनले त्यो विश्वकपमा ६७.३७ को औसतले कुल पाँच सय ३९ रन बनाएका थिए । 

सचिन तेन्दुल्कर (भारत)

आईसीसी एकदिवसीय विश्वकपका सर्वाधिक सफल ब्याट्सम्यान हुन्– सचिन तेन्दुल्कर । यी महान् भारतीय ब्याट्सम्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै कीर्तिमान बनाएका छन् । सक्रिय खेलजीवनबाट सन्न्यास लिएको निकै लामो समय बितिसक्दा पनि उनले बनाएका थुप्रै कीर्तिमान कसैले तोड्न सकेको छैन ।

यद्यपि उनले एकदिवसीय विश्वकपको उपाधि भने एक पटक मात्र जित्न सकेका छन् । भारतले सन् २०११ मा घरेलु मैदानमा एकदिवसीय विश्वकपको उपाधि चुम्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनले खेलेको अन्तिम विश्वकप पनि त्यही हो । 

Sachin Tendulkar

तेन्दुल्कर एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन् । उनले विश्वकपमा ५६.९५ को औसतले कुल दुई हजार दुई सय ७८ रन बनाएका छन् । विश्वकपमा उनले ६ वटा शतक र १५ वटा अर्धशतक पनि प्रहार गरेका छन् । 

उनले देशका लागि ६ वटा एकदिवसीय विश्वकप खेलेका थिए । विश्वकपमा उनले कुल ४५ खेल खेलेका छन् । उनले सन् १९९२ मा पहिलो पटक विश्वकप खेलेका थिए । सन् २००३ को विश्वकपमा उनले कुल ६ सय ७३ रन बनाएका थिए । कुनै पनि ब्याट्सम्यानले विश्वकपको एउटै संस्करणमा बनाएको त्यो सर्वाधिक रन थियो । विश्वकपको एउटै खेलमा उनले बनाएको उच्च स्कोर भने एक सय ५२ रन हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप