आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्लिप प्यारालाइसिस के हो र यसका लक्षण के हुन् ?

मङ्गलबार, १६ असोज २०८०, १४ : १५
मङ्गलबार, १६ असोज २०८०

आधा रातमा अचानक निद्रा खुल्छ र कोठाका भित्ताले चारैतिरबाट च्याप्छ कि भनेर आत्तिनुभएको छ ?

वा, कोठाको पर्दा पछाडि, बेड नजिकै कोही उभिएको छ र तपाईंको घाँटी निचोर्ने कोसिस गरिरहेको छ जस्तो लाग्छ ? 

यसबाट तपाईं भाग्ने प्रयास पनि गर्नुहुन्छ तर तपाईंको शरीर चल्दैन । तपाईं डराउनुहुन्छ र चिच्याउन खोज्नुहुन्छ तर आवाज नै निस्किँदैन । यति गर्दागर्दै तपाईंलाई चिडचिड पसिना आउँछ । 

यस्तो अनुभव धेरैले गर्नुभएको होला । नेपालमा धेरै मानिसले यस्तो अवस्थालाई भूत–प्रेतले छल्न आएको भन्ने गर्छन् । 

तर विज्ञानले यो अवस्थालाई धेरै हदसम्म बुझेको छ र वैज्ञानिक आधारमा यसको उत्तर खोज्ने प्रयास गरेको छ ।

चिकित्सा विज्ञानमा यस्तो अवस्थालाई स्लिप प्यारालाइसिस भनिन्छ ।

दिल्लीको बीएलके म्याक्स अस्पतालका न्यूरोलोजिस्ट डाक्टर विनीत बङ्गाले यसबारे विस्तृत रूपमा बुझाउने प्रयास गरेका छन् । उनका अनुसार हाम्रो निद्राको चक्र दुई भागको हुन्छ ः

– र्‌यापिड आई मुभमेन्ट (आरइएम)

– नन र्‌यापिड आई मुभमेन्ट (एनआरइएम) स्लिप । 

हामी आरइएम स्लिपमा हुँदा सपना देख्छौँ । यतिबेला हाम्रो मस्तिष्क कोशिकाहरूले शरीरलाई हल्लिन पाउँदैनौ है भन्ने सङ्केत दिन्छ किनभने यदि शरीर हल्लियो भने हामी हात खुट्टा चलाउन सक्छौँ । 

स्लिप प्यारालाइसिसका बेला मस्तिष्क उठिसकेको हुन्छ तर शरीर पूर्ण रूपमा अझै जागिसकेको हुँदैन । निद्रा खोलिसक्यो तर शरीर नचल्ने भएकोले यसलाई स्लिप प्यारालाइसिस भनिन्छ । 

sleep paralysis1अनुसन्धानले के भन्छ ?

स्लिप प्यारालाइसिसका बेला केही मानिसलाई ‘बोक्सी’, भूत–प्रेत वा आफ्ना मृत्यु भइसकेका आफन्तलाई देखे झैँ लाग्छ । 

कतिपयले आफ्नो शरीरका अङ्गहरू हावामा तैरिरहेको देख्छन् भने कसैलाई आफूजस्तै देखिने व्यक्ति आफ्नो  छेउमा उभिएको जस्तो लाग्छ ।

केही मानिस यसलाई धार्मिक अनुभव हो भन्ने ठान्छन् र सपनामा ‘भगवान्’ देखेको बताउँछन् । 

शोधकर्ताका अनुसार यी भ्रमहरूले प्रारम्भिक आधुनिक युरोपमा बोक्सी बारेको अन्धविश्वासलाई उत्प्रेरित गरेको थियो ।

वैज्ञानिकका अनुसार स्लिप प्यारालाइसिस सम्भवतः त्यति बेलादेखि अस्तित्वमा छ जति बेला देखि मानिसहरू सुतिरहेका छन् । साहित्यिक इतिहासमार्फत यसका थुप्रै रङ्गिन वर्णन पाइन्छ । 

१९ औँ शताब्दीको बेलायती लेखिका मेरी शेलीले पनि आफ्नो प्रसिद्ध उपन्यास फ्रानकेन्स्टाइनमा स्लिप प्यारालाइसिसबारे उल्लेख गरेकी छिन् । तर हालसम्म यस विषयमा निकै कम अनुसन्धान भएको छ ।

sleep paralysis2हार्वर्ड युनिभर्सिटीमा मानिसको निद्रामाथि शोध गरिरहेका बालन्द जलालका अनुसार अहिलेसम्म यसलाई खासै वास्ता गरिएको थिएन तर पछिल्लो १० वर्षमा यो विषयमा मानिसको रुचि बढिरहेको छ । 

जलालले सन् २०२० मा स्लिप प्यारालाइसिसको उपचारका लागि विभिन्न तरिकाको पहिलो क्लिनिकल ट्रायल पूरा गरे । 

सेन्ट मेरी कलेज अफ मेरिल्यान्डमा भिजिटिङ एसोसिएट प्रोफेसर तथा क्लिनिकल मनोवैज्ञानिक ब्रायन शार्पलेसले सन् २०११ मा पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीमा हुँदा यस विषयमा हालसम्मको सबैभन्दा गहन अध्ययन गरेका छन् । 

उनले पाँच दशकका ३५ वटा अध्ययनको आँकडाको विश्लेषण गरे जसमा करिब ३६ हजारभन्दा बढी स्वयंसेवक समावेश थिए । 

उक्त अनुसन्धानमा शार्पलेसले स्लिप प्यारालाइसिस पहिलेको तुलनामा अलि बढी साधारण भएको पाए । उनका अनुसार करिब आठ प्रतिशत वयस्कले कमसे कम एक पटक यस्तो अनुभव गरेका छन् । 

उनले यसमा एउटा किताब पनि लेखेका छन् जसको नाम हो ‘स्लिप प्यारालाइसिस हिस्टोरिकल साइकोलोजिकल एन्ड मेडिकल पर्सपेक्टिभ ।’

sleep paralysis3किन हुन्छ स्लिप प्यारालाइसिस ?

डाक्टरका अनुसार स्लिप प्यारालाइसिसको एउटा ठुलो कारण निद्रा पुरा नहुनु हो । 

सुत्ने तालिका नियमित नहुँदा वा कति पटक तनावका कारण पनि यसको सिकार हुने गरिन्छ । केही डाक्टरका अनुसार उत्तानो परेर सुत्दा पनि तपाईं स्लिप प्यारालाइसिसको सिकार हुन सक्नुहुन्छ । 

डाक्टर बंगाका अनुसार यसको सबैभन्दा साधारण उपचार भनेको स्लिप प्यारालाइसिसबारे मानिसलाई सही जानकारी दिनु हो । यस्तो अनुभव गर्नेलाई यो कुनै गम्भीर रोग होइन र उनीहरूलाई कुनै खतरा पनि छैन भनेर बुझाउनुपर्छ । 

डाक्टरले कसैलाई मेडिटेसन थेरापी गर्न पनि सुझाउँछन् । 

सबैभन्दा महत्त्वपूर्ण भनेको बेडमा जानुभन्दा अघि मानिसलाई कुनै पनि खालको तनावमा नरहन सुझाउनुपर्छ । स्लिप प्यारालाइसिस भइहाल्यो भने पनि उनीहरूलाई शान्त रहन र नडराउन सिकाउनुपर्छ । 

स्लिप प्यारालाइसिस अत्यधिक वृद्धि भयो भने केही मानिसलाई डिप्रेसनसँग जुध्नका लागि दिइने औषधी प्रयोग गर्न सुझाव दिइन्छ । 

युनिभर्सिटी अफ लन्डनका क्रिस्टोफर फ्रेन्चले एक दशकभन्दा बढी समयसम्म विश्वभरिका यस्ता धेरै मानिससँग कुरा गरेका छन् जसलाई स्लिप प्यारालाइसिस भएको छ वा जो हेलुसिनेशनका सिकार भएका छन् । 

उनले ती मानिसको अनुभव रेकर्ड गरे । केही मानिसले सपनामा कालो बिरालो देखे भने कसैले रुखमा टाँस्सिएका मानिस । 

तर धेरै जसो केसहरूमा उनले मानिसहरूका अनुभवहरू आफ्नै संस्कृतिबाट प्रभावित भएको फेला पारे ।

क्यानडाका धेरै मानिसलाई लाग्थ्यो कि उनीहरुले आफ्नो छातीमा ओल्ड ह्याग (सुपरनेचुरल क्रिएचर) देखेका छन् त मेक्सिकोका मानिसले भने मृत्यु भइसकेका व्यक्ति उनीहरूको छातीमा बसिरहेको जस्तो महसुस गर्छन् । 

इटलीका मानिसलाई लाग्थ्यो कि उनीहरुले बोक्सी देखेका छन् त टर्कीका मानिसलाई कुनै भूत–प्रेत देखेको जस्तो भान हुन्थ्यो । 

जलालले आफ्नो अनुसन्धानमा पाए अनुसार इजिप्टका ४४ प्रतिशत मानिस स्लिप प्यारालाइसिसका सिकार थिए भने डेनमार्कका २५ प्रतिशत मानिस ।

जो मानिस कुनै अलौकिक शक्तिमा विश्वास गर्छन्, उनीहरू स्लिप प्यारालाइसिसको बढी सिकार हुने गरेको कुरा जलालले विश्वास गरेका छन् । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप