आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकप क्रिकेटको उद्घाटन समारोह नहुने ! भारत—पाकिस्तान खेलअघि भव्य समारोह गर्ने तयारी

मङ्गलबार, १६ असोज २०८०, १५ : ०६
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण भारतमा आयोजना हुँदैछ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरु भारतका विभिन्न सहरका १० वटा रंगशालामा खेलाइने छ । 

तर, यसपटक एकदिवसीय विश्वकपको औपचारिक रूपमा उद्घाटन समारोह भने हुने छैन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले औपचारिक रूपमा विश्वकपको उद्घाटन समारोह नगर्ने निर्णय लिएको समाचारमा जनाइएको छ । 

बीसीसीआईको उक्त निर्णयसँगै एकदिवसीय विश्वकपको ४८ वर्ष लामो इतिहासमा पहिलो पटक औपचारिक रूपमा उद्घाटन समारोह हुनै छैन । सन् १९७५ मा पहिलो विश्वकप आयोजना भएयता हालसम्म १२ वटा संस्करण सम्पन्न भइसकेका छन् । 

उद्घाटन समारोह नै आयोजना नगरी १३औँ संस्करणका खेलहरु अगाडि बढाइने छ । विश्वकपको उद्घाटन खेल साबिक विजेता इङ्ल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच खेलिने छ । उक्त खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आगामी बिहीबार खेलिने छ । 

यसअघि बीसीसीआईले प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि अक्टोबर ४ तारिखमा नरेन्द्र मोदी स्टेडियममै भव्य उद्घाटन समारोह आयोजना गर्ने तयारी गरेको थियो । उद्घाटन समारोहमा बलिउडका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिन कार्यक्रम पनि थियो । 

उद्घाटन कार्यक्रममा बलिउड कलाकारहरु रणवीर सिंह, तमन्ना भाटिया, श्रेया घोसाल, आशा भोस्ले, अरिजित सिंहलगायतलाई प्रस्तुतिका लागि बोलाउने तयारी गरिएको थियो । यसका अतिरिक्त उद्घाटन समारोहमा आतिसबाजी पनि गरिने कार्यक्रम थियो । 

विश्वकपको औपचारिक उद्घाटन समारोहभन्दा पनि बीसीसीआईले अहमादाबादमा हुने भारत र पाकिस्तानबीचको खेलअघि भने विशेष समारोह आयोजना गर्ने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ । भारत र पाकिस्तानबीचको खेल अक्टोबर १४ तारिखमा अहमादाबादमा खेलिने छ ।

यसका अतिरिक्त बीसीसीआईले विश्वकपको समापन समारोह भव्य रूपमा आयोजना गर्ने विषयमा पनि छलफल गरिरहेको समाचारमा जनाइएको छ । तर, समापन समारोहको विषयमा पनि बीसीसीआईले ठोस निर्णय भने लिइसकेको छैन ।

विश्वकपजस्तो ठूलो प्रतियोगिताको उद्घाटन समारोह नै नहुने समाचार बाहिरिएपछि थुप्रै समर्थकले त्यसको विरोध गरेका छन् । समर्थकहरुले बीसीसीआईसँग प्रतियोगिताको भव्य उद्घाटन समारोह हुनुपर्ने माग गरिरहेका छन् । यद्यपि, विश्वकपको उद्घाटन समारोहलाई लिएर बीसीसीआईले भने आधिकारिक रूपमा केही बताएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप