आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशका उद्योगीहरू भन्छन् : कृषि व्यापार रणनीति आवश्यक

मङ्गलबार, १६ असोज २०८०, २० : १०
मङ्गलबार, १६ असोज २०८०

विराटनगर । कोशी प्रदेशका उद्योगी व्यापारीले कृषि क्षेत्रको समस्या समाधानका लागि कृषि व्यापार रणनीति आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा सोमबार विराटनगरमा आयोजित ‘कोशी प्रदेशको कृषि व्यापार प्रवर्द्धन रणनीतिसम्बन्धी छलफलमा उद्योगीहरुले यस्तो धारणा राखेका हुन् ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद महतोले कृषि क्षेत्रमा धेरै ठूलो समस्या रहेको बताउँदै त्यसका लागि कृषि व्यापार रणनीति आवश्यक रहेको बताए । 

‘रणनीति बनेको खण्डमा प्रदेशको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन पनि सहयोग पुग्छ । किनभने हाम्रो कृषि क्षेत्रको नशाहरु नै बिग्रिएका छन् । एउटा नशाको उपचार गर्‍यो भने अर्कोतिर समस्या आइहाल्छ’ राज्यमन्त्री महतोले भने, ‘अहिले त झन् तराईका जिल्लामा भूमिगत पानीको स्रोत नै सुक्न थालेको छ, उता अर्कोतिर पानी खेर गइरहेको छ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कृषि व्यापारको क्षेत्रलाई अघि बढाउनका लागि राम्रो रणनीति बनाउन आवश्यक भएको बताए । उनले जबसम्म व्यापारयोग्य वस्तु तथा सेवा उपलब्ध हुँदैनन् तबसम्म व्यापार सहजीकरण प्रयासले खासै अर्थ नराख्ने बताए । 

कृषिजन्य वस्तु उत्पादन र उत्पादन मूल्य श्रृङ्खला बढाउने कार्य गर्दै कृषि उपजमा प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्नेमा उनको जोड थियो । 

यसैगरी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषि क्षेत्रलाई इमान्दारिताका साथ अघि बढाउन सबै क्षेत्रको सहयोग रहनुपर्ने बताए । छिमेकी मुलुकबाट आयातमा भइरहेको सहजताका कारण मात्रै विभिन्न क्षेत्रले सुरक्षित महसुस गरेको उनको जिकिर थियो । 

कार्यक्रममा प्रदेश लगानी प्राधिकरण बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.सरोज कोइरालाले कृषिमा लगानी बढाउने गरी सरोकारवाला क्षेत्रहरुले काम गर्नुपर्ने सुझाए । 

उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले व्यापार प्रवर्द्धन रणनीतिमा प्रस्तुत गरिएको विषयहरुलाई तथ्याङ्कको तथ्यगत विश्लेषणबाट यथार्थपरक बनाउनुपर्ने बताए । सहज परियोजनाका परामर्शदाता रामचन्द्र बस्ताकोटीले कोशी प्रदेशमा मूल्य श्रृङ्खलाका लागि बालीहरुको पहिचान गर्नुपर्ने सुझाव दिए । 

कार्यक्रममा कोशी प्रदेशका सम्बन्धित मन्त्रालयका उच्च पदस्थ अधिकृत, कृषि व्यवसायीलगायत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमितिका सदस्यहरुको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप