आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैतडीमा भूकम्पबाट दुईजना घाइते

मङ्गलबार, १६ असोज २०८०, २१ : ३७
मङ्गलबार, १६ असोज २०८०

बैतडी ।  भूकम्पबाट बैतडीमा दुईजना घाइते भएका छन् । आज दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परी सिगास गाउँपालिका–२ धौलाडकी ३५ वर्षीया कलशा धामी र डिलाशैनी गाउँपालिका–२ रोपनबगडकी १० वर्षीया नीरा भण्डारी घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार कलशा घर नजिकै खरबारीमा खर काटिरहेका बेला भूकम्पका कारण सुख्खा पहिरोसँगै खसेको ढुङ्गा लागेर घाइते भएकी हुन् । उनको टाउकोमा चोट लागेको छ । कलशाको हाल गाजरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । 

यस्तै विद्यालयबाट घर फर्किरहेका बेला  भूकम्पका कारण सडक माथिबाट खसेको ढुङ्गा लागेर खुट्टामा चोट लागेकी नीराको कोटपेटरा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । यसका साथै जिल्लामा भूकम्पबाट भौतिक संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

भूकम्पबाट सिगास गाउँपालिका– ३, घकुराडीका रघुवीर साउदको घरमा क्षति पुगेको छ । सिगासकै लेकलुपण माविको भवनमा पनि क्षति पुगेको छ । आज दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्र भएर ५ दशमलव ३, ३ बजेर ६ मिनेट चैनपुर आसपास केन्द्र भएर ६ दशमलव ३ र दिउँसो ३ बजेर ४५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप