आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बझाङ भूक्म्प

सुस्त भूकम्पले भविष्यमा आउने ठुलो भूकम्पको पूर्वानुमान गर्छ ?

बुधबार, १७ असोज २०८०, १३ : १३
बुधबार, १७ असोज २०८०

सामान्यतः पृथ्वीमा कुनै ठुलो भूकम्प गएपछि केही मिनेटसम्म यसको कम्पन रहिरहन्छ र यसले शक्तिशाली भूकम्पीय तरङ्ग प्रसारण गरिरहन्छ, जसलाई ‘आफ्टर सक’ अथवा मुख्य भूकम्पपछिका साना भूकम्प भन्ने गरिन्छ । 

मुख्य भूकम्पपछि यस्ता साना मझौला खालका भूकम्प जानु सामान्य मानिन्छ तर लगभग आजभन्दा २३ वर्ष पहिले वैज्ञानिकले ठुला भूकम्प गइसकेपछि एकदमै सुस्त गतिका भूकम्प (स्लो अर्थक्वेक)का घटना पत्ता लगाएका थिए । यस्ता सुस्त गतिका भूकम्प जमिनमुनिको सतह एकदमै धिमा गतिमा चिरिँदा वा फाट्दा जाने गर्छन् र यसको समयावधि केही दिनदेखि केही महिनासम्मको रहन्छ । 

यस्ता सुस्त भूकम्प जानका लागि निकै ठुलो टेक्टोनिक घर्षण आवश्यक पर्छ, तिनीहरूको कम्पन हामीले महसुस गर्न भने सक्दैनौँ । सुस्त भूकम्पले निकट भविष्यमा आउन सक्ने ठुला भूकम्पलाई संकेत गर्न सक्ने हुनाले तिनीहरूको निरन्तर निगरानी र व्यवहारको विश्लेषणबाट अन्य ठुला विनाशकारी भूकम्प तथा सुनामीको सही पूर्वानुमान लगाउन सकिन्छ ।

सुस्त भूकम्पलाई बुझ्न र अध्ययन गर्नका लागि तिनीहरू समयसँगै कसरी परिवर्तन हुन्छन् भनेर जान्न आवश्यक छ । यसका लागि शोधकर्ताले वर्गीकरण (स्केलिङ)को नियम प्रयोग गर्छन्, जसअन्तर्गत दुई मात्रा (परिमाण) बीचको अन्तर्सम्बन्धलाई गुणात्मक रूपमा परिभाषित गरिन्छ । 

सन् २००७ मा, अनुसन्धानकर्ताले भूकम्पको म्याग्निच्युड र समयावधिसँग सम्बन्धित भूकम्प वर्गीकरणको नियम प्रस्ताव गरे, जसले सुस्त र द्रूत (छिटो) भूकम्पलाई छुट्ट्याउन मद्दत गथ्र्यो, जुन आफैँमा विवादास्पद रह्यो ।

भूकम्प वर्गीकरणको नियम अनुसार, सुस्त भूकम्पका लागि यसको परिमाण (साइस्मिक मोमेन्ट) बढ्दै जाँदा भूकम्प गइरहने अवधि समानुपातिक रूपमा बढ्छ । द्रूत भूकम्पको हकमा भूकम्पको परिमाण र यसको समयावधिको सम्बन्ध रेखीय (समानान्तर) रूपमा नभई घनीय (इसोमेट्रिक) रूपमा समानुपातिक हुन्छ भनिएको छ, जसको सोझो अर्थ द्रूत भूकम्पको समयावधि एकदमै छोटो हुन्छ, तर यसको परिमाण एकदमै छिटोसँग बढ्छ भन्ने हुन्छ । यस भूकम्प वर्गीकरणको नियममाथि थुप्रै अनुसन्धानकर्ताबाट आलोचना हुन थाल्यो किनकि यस नियमले सुस्त भूकम्प र द्रूत भूकम्पका बीचमा पर्ने अन्य भूकम्पहरू, जुन यस नियमभित्र पर्दैनथे, त्यस्ता भूकम्प आउन सक्ने सम्भाव्यता के कति थियो भनेर भन्दैनथ्यो । त्यसैले यसको वैधानिकतामाथि पनि प्रश्न उठ्न थालेको थियो । 

पश्चिम नेपालमा अहिलेसम्म ठुलो मात्रामा भूकम्प नजानुमा केही रहस्य अवश्य छ । यो रहस्य पत्ता लगाउन त्यहाँ गइरहेका साना–साना सुस्त भूकम्पको प्रकृति र आयामको अनुसन्धान हुनुपर्छ ।

टोकियो विश्वविद्यालयका भूगर्भविद् सातोसी इडे र स्ट्यानफोर्ड विश्वविद्यालयका ग्रेगरी बेरोजाले उक्त भूकम्प वर्गीकरणको नियमलाई थप तथ्यका आधारमा बलियो बनाउँदै लगे र यसको अन्तर्सम्बन्धलाई पुनव्र्र्याख्या गर्दै र विवादलाई सम्बोधन गरे ।

नयाँ भूकम्प पत्ता लगाउने प्रविधिको विकास भएसँगै र १६ वर्षमा निरन्तर रेकर्ड गरिएको तथ्याङ्कको गहन अध्ययनपछि इडे र बेरोजाले यो निष्कर्ष निकाले — पहिलेको नियममा धेरै गलत तथ्याङ्क गणना भएका र्थि र त्यस्ता तथ्याङ्कका आधारमा सिर्जित नियम आफैँमा असंगत हुन् । भूकम्पलाई सुस्त वा द्रूत गर्न त्यसको गति सीमाले निर्धारण गर्ने र अन्य भौतिक प्रक्रियाले पनि सुस्त र द्रूत भूकम्पमा फरक पार्न सक्ने उनीहरूको सुझाव थियो । 

सुस्त भूकम्पमा फरक ‘फ्रिक्वेन्सी ब्यान्ड’ भएका घटना समावेश हुने भएकाले तिनीहरू द्रूत भूकम्पभन्दा धेरै विविध हुने गर्छन् । तिनीहरूलाई विभिन्न नाम दिइएको थियो, जस्तो ः कम फ्रिक्वेन्सी भएका भूकम्पहरू, टेक्टोनिक कम्पनहरू, धेरै कम–फ्रिक्वेन्सीका भूकम्पहरू र ढिलो चिरा पर्ने घटनाहरू । त्यसैले एकै प्रकारको सुस्त भूकम्पहरूको अवलोकन गर्ने अनुसन्धानकर्ताले अन्य फरक प्रकारका भूकम्पलाई अप्रासंगिक ठाने । ‘हाम्रो अध्ययनले पुष्टि ग¥यो कि यी सबै घटना पारस्परिक रूपमा अन्तर्सम्बन्धित छन्, वा विभिन्न संकेत वा तरङ्ग पैदा गर्ने कुनै एकल घटना मात्र मान्न सकिन्छ,’ इडे भन्छन् ।

सुस्त भूकम्पहरू यति सूक्ष्म र दुर्गम हुन्छन् कि तिनलाई पत्ता लगाउनु र मापन गर्नु एकदमै कठिन र चुनौतीपूर्ण हुन्छ । सुस्त भूकम्प मापन गर्दा धेरै त्रुटि हुने हँुदा केही ठुला परिमाणका सुस्त भूकम्प मात्र मापन गरिन्छ, जसका लागि इडे र बेरोजाले सुस्त भूकम्पको गतिको माथिल्लो सीमा निर्धारण गरे । त्यसको आधारमा उनीहरूले २००७ को भूकम्प वर्गीकरणको नियमलाई अधिकतम सीमाका साथ पुनः परिभाषित गरे । उनीहरूले एक सेकेन्डभन्दा कम र एक वर्षभन्दा बढीको फराकिलो समय सीमामा विभिन्न भूकम्पको प्रमाणसहित वर्गीकरण गरेर भूकम्प वर्गीकरणको नियममा उब्जेका सम्पूर्ण प्रश्नको विवादलाई मथ्थर गरिदिए । 

पछिल्लो समयमा उपलब्ध तथ्याङ्क र विभिन्न सैद्धान्तिक नमुनाका आधारमा इडे र बेरोजा दुई फरक (सुस्त र छिटो) भूकम्पबीचको फरक छुट्ट्याउन सफल भए । दबाबको फैलावट प्रक्रियाले गर्दा सुस्त भूकम्पलाई नियन्त्रण गर्दछ भने भूकम्पीय तरंग प्रसारले छिटो भूकम्पलाई निर्धारण गर्दछ । यही भिन्नताका कारण लामो समयसम्म सुस्त भूकम्पहरू जाँदा पनि यस्ता भूकम्पको म्याग्निच्युड द्रूत भूकम्पजत्तिकै ठूलो भने हुन सक्दैन ।

सुस्त भूकम्पको अध्ययन अनुगमनका आधारमा भविष्यमा कस्तो प्रकारको पूर्वानुमानको जानकारी प्रदान गर्न सकिन्छ भन्नेमा विज्ञहरू अझै पनि शतप्रतिशत यकिन छैनन् । सुस्त भूकम्पले भविष्यमा आउन सक्ने सम्भावित ठुला भूकम्पका बारेमा केही न केही पूर्वसूचना अवश्य बोकेका हुन्छन् । यसको अध्ययनले उपर्युक्त संख्यात्मक मोडलहरू निर्माण गर्न, भूकम्पको भविष्यवाणी गर्न र प्रतिरोधी उपाय लिनका लागि आधार हुने उनीहरूको निष्कर्ष थियो ।

हाम्रो देश नेपाल पनि उच्च भूकम्पीय जोखिममा रहेको कुरा त सबैलाई अवगत नै छ । समय समयमा हामीले ठुला भूकम्पको सामना गर्न परिरहेकै छ । विभिन्न अध्ययनले पनि पश्चिम नेपालमा ठुलो भूकम्प नगएको ५०० वर्षभन्दा बढी भइसकेको (जसलाई साइस्मिक ग्याप पनि भनिन्छ) र निकट भविष्यमा २०७२ सालको गोरखा भूकम्पभन्दा पनि ठुलो भूकम्प जाने खतरा औँल्याउँदै आएका छन् । इन्डियन प्लेट र युरोसियन प्लेटको टकरावबाट बनेको नेपालको भूबनावटमा समय समयमा साना–ठुला भूकम्प जानु सामान्य र भूगर्भको भाषामा आवश्यक पनि मानिन्छ । यस्तो परिस्थितिमा भूकम्प कहिले जान्छ भनेर पर्खिबस्ने अनि अध्ययन अनुसन्धानमा लगानी गर्नुको साटो राहत वितरण र उद्धारमा पैसा सक्ने मनस्थितिले ठुलो मानवीय क्षति पुर्याउने कुरामा दुई मत छैन । 

पश्चिम नेपालमा अहिलेसम्म ठुलो मात्रामा भूकम्प नजानुमा केही रहस्य अवश्य छ । यो रहस्य पत्ता लगाउन त्यहाँ गइरहेका साना–साना सुस्त भूकम्पको प्रकृति र आयामको अनुसन्धान हुनुपर्छ । अध्ययन, अनुसन्धानमा आज गरेको सानो लगानीले भविष्यमा आइपर्ने भवितव्यलाई रोक्न एक महत्त्वपूर्ण साध्य हुने कुरामा भने कसैको दुईमत नै छैन ।

(लेखक देवकोटा त्रिभुवन विश्वविद्यालय, भूगर्भशास्त्र केन्द्रीय विभागमा स्नाकोत्तर गर्दै छन् । यो लेख ‘साइन्स डेल्ली’मा प्रकाशित लेखका आधारमा तयार गरिएको हो ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप देवकोटा
प्रदीप देवकोटा
लेखकबाट थप