स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी बोर्ड राख्न मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी जानकारीका लागि सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमा हातपात र स्वास्थ्य संस्थामा तोडफोड गर्नेलाई कारबाही हुने व्यवस्थाबारे सूचना बोर्ड मार्फत जानकारी दिन निर्देशन दिएको हो ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेलाई दण्ड सजायको व्यवस्थाबारे जानकारी दिन अस्पताल परिसरमा कम्तीमा ६ देखि ४ फिटको सूचना बोर्ड टाँस्न निर्देशन दिएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने, हातपात गर्नेमाथि यसै कानुन अनुसार कारबाही गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
उपचारमा लापरर्बाही भएको शंका लागेमा सम्बन्धित संस्थाको प्रमुख वा जिल्ला प्रशासन कार्यालय वा नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।
यसैबीच बुधबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले सूचना बोर्ड राखेको छ ।