आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

तीन वर्षपछि नै पहिलो पटक पाँचवटा राष्ट्रले आयोजना गरेको सातौँ विश्वकप

बुधबार, १७ असोज २०८०, १६ : २२
बुधबार, १७ असोज २०८०

काठमाडौँ । विश्वकपको सातौँ संस्करण विशेष थियो । किनभने छैटौँ विश्वकप सम्पन्न भएको तीन वर्षपछि नै सातौँ संस्करण आयोजना भएको थियो । यसका अतिरिक्त विश्वकपको यो संस्करण पाँचवटा राष्ट्रले संयुक्त रूपमा आयोजना गरेका थिए । 

सातौँ विश्वकपको मुख्य आयोजक इङ्ल्यान्ड भए पनि अन्य चार राष्ट्रमा समेत केही खेलहरू खेलाइएको थियो । विश्वकपको सातौँ संस्करण सन् १९९९ मा आयोजना भएको थियो । यो विश्वकपका खेलहरू मे १४ देखि जुन २० तारिखसम्म खेलाइएको थियो । 

यो विश्वकपका खेलहरू इङ्ल्यान्डका अतिरिक्त आयरल्यान्ड, नेदरल्यान्ड, स्कटल्याण्ड र वेल्समा खेलाइएको थियो । यसैगरी यो विश्वकपका खेलहरू इङ्ल्यान्डको १७ वटा रंगशालामा भएका थिए । आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स र वेल्सका एक—एक रंगशालामा पनि केही खेल खेलाइएको थियो । 

विश्वकपको सातौँ संस्करणमा १२ वटा राष्ट्रले भाग लिएका थिए । सहभागी राष्ट्रमा इङ्ल्यान्ड, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज, जिम्बाबे, बंगलादेश, केन्या र स्कटल्यान्ड रहेका थिए । 

यो विश्वकपमा कुल ४२ वटा खेल भएको थियो । प्रतियोगिताका सहभागी टोलीले दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा दक्षिण अफ्रिका, भारत, जिम्बाबे, इङ्ल्यान्ड, श्रीलङ्का र केन्या रहेका थिए ।

यसैगरी प्रतियोगिताको समूह ‘बी’ मा पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र स्कटल्यान्ड परेका थिए । विश्वकपको सातौँ संस्करणमा पहिलो पटक ‘सुपर सिक्स’ को अवधारण अगाडि सारिएको थियो ।

Gilchrist

समूह ‘ए’ बाट दक्षिण अफ्रिका पहिलो, भारत दोस्रो र जिम्बाबे तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा पुगेका थिए । समूह ‘बी’ बाट भने पाकिस्तान पहिलो, अस्ट्रेलिया दोस्रो र न्युजिल्यान्ड तेस्रो हुँदै प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेका थिए ।

त्यसपछि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ बाट आएका प्रत्येक टोलीले समूह ‘बी’ बाट आएका सबै टोलीसँग प्रतिस्पर्धा गरेका थिए । ‘सुपर सिक्स’ चरणपछि अङ्क तालिकाको शीर्ष स्थानमा रहने चारवटा टोली सेमिफाइनलमा पुगेका थिए ।

‘सुपर सिक्स’ चरणमा पाकिस्तान पहिलो, अस्ट्रेलिया दोस्रो, दक्षिण अफ्रिका तेस्रो र न्युजिल्यान्ड चौथो हुँदै सेमिफाइनलमा पुगेका थिए । प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई नौ विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो ।

GettyImages-1223324

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको दोस्रो सेमिफाइनल खेल भने बराबरीमा सकिएको थियो । अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाले पनि ४९.४ ओभरमा अलआउट हुनुअघि दुई सय १३ रनमात्र बनाउन सक्यो ।

त्यसपछि ‘सुपर सिक्स’ चरणको अङ्क तालिकामा दक्षिण अफ्रिकाभन्दा अगाडि रहेकाले अस्ट्रेलिया फाइनलमा पुग्न सफल भएको थियो । प्रतियोगिताको फाइनलमा भने अस्ट्रेलियाले पाकिस्तानलाई आठ विकेटले हराउँदै उपाधि चुमेको थियो । 

फाइनलमा पाकिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै ३९ ओभरमा अलआउट हुनुअघि एक सय ३२ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने २०.१ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । अस्ट्रेलियाले जितेको यो दोस्रो विश्वकप उपाधि थियो ।

फाइनलमा अस्ट्रेलियाका लागि विकेटकिपर ब्याट्सम्यान एडम गिलक्रिस्टले ५४ रनको योगदान गरेका थिए । मार्क वाले पनि अविजित ३७ रन बनाएका थिए । रिकी पोन्टिङ २४ रनमा आउट भएका थिए भने ड्यारेन लेहम्यानले अविजित १३ रन जोडेका थिए । 

285564

बलिङतर्फ अस्ट्रेलियाका लागि शेन वार्नले चार तथा टम मुडी र ग्लेन म्याग्राले दुई—दुई विकेट लिएका थिए । फाइनल खेलमा शेन वार्न म्यान अफ दी म्याच घोषित भएका थिए । म्यान अफ दी सिरिजको पुरस्कार भने  दक्षिण अफ्रिकाका लान्स क्लुजनरले पाएका थिए । 

सातौँ विश्वकपमा भारतका राहुल द्रविड सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पहिलो स्थानमा रहेका थिए । उनले प्रतियोगिता अवधिभरमा कुल चार सय ६१ रन बनाएका थिए । अस्ट्रेलियाका स्टिभ वा तीन सय ९८ रनसहित दोस्रो, भारतका सौरभ गांगुली तीन सय ७९ रनसहित तेस्रो, अस्ट्रेलियाका मार्क वा तीन सय ७५ रनसहित चौथो र पाकिस्तानका सइद अनवर तीन सय ६८ रनसहित पाँचौँ स्थानमा थिए ।

यसैगरी सर्वाधिक विकेट लिने बलरहरूको सूचिमा न्युजिल्यान्डका जियोफ एलोट पहिलो स्थानमा थिए । उनले प्रतियोगिता अवधिभरमा कुल २० विकेट लिएका थिए । २० विकेट नै लिएका अस्ट्रेलियाका शेन वार्न दोस्रो स्थानमा थिए । १८ विकेट लिएका अस्ट्रेलियाका ग्लेन म्याग्रा तेस्रो स्थानमा रहेका थिए । दक्षिण अफ्रिकाका लान्स क्लुजनर र पाकिस्तानका सक्लेन मुस्ताक १७—१७ विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप